कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिग उपाधिमा एपीएफको ह्याट्रिक

मुख्य खेलाडी सावित्रा भण्डारीलाई चोटको कारण गुमाए पनि शतप्रतिशत जित कायम राखेको एपीएफ क्लब राष्ट्रिय लिगको उपाधि लगातार तीनपल्ट जित्ने पहिलो टिम बनेको छ ।
राजु घिसिङ

काठमाडौँ — स्टार स्ट्राइकर सावित्रा भण्डारीलाई चोटका कारण गुमाएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शतप्रतिशत जित कायम राख्दै बुधबार विराटनगर महानगरपालिकालाई १–० ले हराएर महिला राष्ट्रिय लिग फुटबलको उपाधि जोगाएको खुसीयाली मनाएको छ ।

लिग उपाधिमा एपीएफको ह्याट्रिक

त्यसअघि एन्फा कम्प्लेक्समा आर्मीलाई पुलिसले १–१ मा रोकेसँगै एपीएफ दुई खेल बाँकी छँदै च्याम्पियन भएको थियो । यससँगै एपीएफ महिला राष्ट्रिय लिग उपाधिमा ह्याट्रिक गर्ने पहिलो टिम बन्यो ।

२०६९ सालमा धनगढीमा सम्पन्न महिलाको पहिलो राष्ट्रिय लिगको अन्तिम खेलमा एपीएफलाई १–० ले हराएर पुलिस च्याम्पियन भएको थियो । त्यो एपीएफ टिमकी डिफेन्डर भगवती थापाले भनिन्, ‘धनगढीमा च्याम्पियन हुन हामीलाई राउन्ड रोबिन लिगको अन्तिम खेलमा बराबरी नतिजा पर्याप्त हुन्थ्यो । तर, सुरुमै पेनाल्टीमा गोल खाएपछि हामीले लगातार आक्रमण गरे पनि पुलिसविरुद्ध गोल फर्काउन सकेनौं । त्यसैले लिग उपाधि गुमाएका थियौं ।’

घुँडाको चोट बोकेकी सावित्रा भण्डारीलाई साथ दिँदै गोलकिपर एन्जिला तुम्बापो । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

राष्ट्रिय टिमका यिनै पूर्वडिफेन्डर मुख्य प्रशिक्षक भएको एपीएफ टिमले यसपालिको लिग जितेको हो । ‘खेलाडी हुँदा लिग जित्न पाइनँ, मुख्य प्रशिक्षक भएपछि जितें,’ थापाले भनिन्, ‘मेरो भाग्य नै रहेछ ।’

हुन पनि हो जनकसिं थारूले टिम सम्हालिरहेको भए पनि लिगको मुख्य प्रशिक्षकका लागि कम्तीमा एएफसी ‘सी’ लाइसेन्स उत्तीर्ण हुनुपर्ने नियम ल्याइएपछि टिममा थापाले मौका पाएकी थिइन् । काम थापाले नै गरिरहेका छन् । पहिलो संस्करणको तीन वर्षपछि २०७२ सालमा आयोजित लिगमा पनि पुलिस च्याम्पियन भएको थियो भने आर्मी दोस्रो र एपीएफ तेस्रो । राष्ट्रिय लिगमा एपीएफ महिला टिमको सबैभन्दा खराब नतिजा त्यही हो । लिगको अर्को संस्करण दुई वर्षपछि २०७४ सालमा भयो, जहाँ एपीएफले पहिलोपल्ट लिगको ट्रफी कब्जा गरेको थियो । सुपर लिगका तीनै खेल जितेर एपीएफ च्याम्पियन भएको थियो ।

अर्को संस्करण उपराष्ट्रपति महिला राष्ट्रिय लिगको नामले २०७५ सालमा भयो, जसको अन्तिम खेलमा सावित्राको ह्याट्रिकसँगै आर्मीलाई ३–१ ले हराएर एपीएफ लगातार दोस्रोपल्ट च्याम्पियन भयो । पहिलोपल्ट आयोजित ‘डबल लिग’ जितेपछि एपीएफले राष्ट्रिय लिग उपाधिमा ह्याट्रिक पूरा गरेको हो । एपीएफले जमुना गुरुङ, अनु लामासहित घरेलु फुटबलका उत्कृष्ट खेलाडीलाई भित्र्याएर २०६२ सालमा महिला टिम बनाएर अर्को वर्षदेखि प्रतियोगिता खेल्न थालेको थियो । त्यसयता नेपाली महिला फुटबलमा एपीएफकै वर्चस्व छ ।

यसपालि आर्मी–पुलिसको खेल बुधबार बराबरीमा सकिँदा एपीएफ टिम प्यारापिटमा थियो र दर्शदीर्घामै रहँदा दुई खेलअगावै च्याम्पियन बन्यो । आर्मीले खेल जितेको भए एपीएफले उपाधि पक्का गर्न विराटनगरविरुद्धको नतिजा कुर्नुपर्थ्यो तर त्यस्तो भएन । अमृता जैसीले १७ औं मिनेटमै पुलिसलाई अग्रता दिलाइन् । रश्मी घिसिङले ५३ औं मिनेटमा गोल गर्दै आर्मीलाई १–१ मा पुर्‍याएर एपीएफको उपाधि प्रतीक्षा लम्ब्याउने प्रयास गरेकी थिइन् । इन्ज्युरी समयमा पाएको पेनाल्टीमा पुलिसकी कप्तान घिमकुमारी गुरुङको प्रहारमा बल आकासिँदै बाहिरिँदा पनि आर्मी ३ अंक जोड्न असफल रह्यो, जसले एपीएफलाई दुई खेलअघि नै च्याम्पियन बनाइदियो ।

तेस्रोपल्ट लिग च्याम्पियन भइसकेपछि पनि एपीएफलाई शतप्रतिशत जित कायम राख्न गाह्रो भयो । त्यो पनि विराटनगरविरुद्ध । पुलिसविरुद्ध सोमबार प्राप्त २–१ को जितमा दायाँ घुँडामा चोट बोकेकी सावित्राको अनुपस्थितिमा एपीएफको आक्रामण फिक्का देखियो । पहिलो चरणमा ७–० ले हराएको विराटनगरविरुद्ध बुधबार गोल गर्न पनि एपीएफले दोस्रो हाफ नै कुर्नुपर्‍यो । सरु लिम्बूको पास उपयोग गर्दै अनिता केसीले ५५ औं मिनेटमा गोल गरेपछि एपीएफले लगातार ११ औं जित निकाल्यो ।

‘सम्बाबिनाको जित खल्लो’

‘लिग त जित्यौं । सन्तुष्टि दिने जित रहेन । पहिला ७–० ले जितेको टिमविरुद्ध अहिले १–० मात्रै भयो,’ एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले भनिन्, ‘हाम्रो टिमको मुख्य खम्बा साम्बा (सावित्रा) नै हो । उनी झट्टै नहुँदा असर पर्‍यो । उनको अभाव खड्कियो । खेलमा उनको जस्तो गति र बलियोपन भएन । मुख्य खेलाडी घाइते भएकाले लिगको जित खल्लो भयो ।’

एसीएल र मिडियल मिनिस्कसको शल्यक्रिया गर्नुपर्ने भएपछि सावित्रा करिब ९ महिना मैदानबाहिरै हुने भएकी छन् । १० खेलमा सात ह्याट्रिकसहित ४३ गोल गरेकी स्ट्राइकरलाई गुमाएको अवस्थाबारे थापाले थपिन्, ‘साम्बा नहुनु टिमका लागि ठूलो घाटा हो । व्यक्तिगत रूपमा घाटा हो । देशका लागि घाटा हो ।’ सावित्रासँग नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ४३ गोल गरेको कीर्तिमानी पनि छ ।

एपीएफले ११ खेलबाट ३३ अंक जोडेको छ । दोस्रो स्थान पक्का गरिसकेको आर्मीले २६ अंक बनाएको छ । यी दुई लिगको अन्तिम खेलमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । ‘हामीलाई शतप्रतिशत खेल जित्ने दबाब छ, त्यसैलाई पूरा गर्ने प्रयास अन्तिम खेलमा गर्नेछौं,’ प्रशिक्षक थापाले भनिन् । उनको टिमले पहिलो चरणमा आर्मी, वालिङ र पुलिसविरुद्ध ३ अंक जोड्न केही मिहिनेत गर्नुपरेको थियो । उसलाई दोस्रो चरणमा पुलिसविरुद्ध २–१ को जित निकाल्न पनि गाह्रो भयो । अरू खेलमा भने एपीएफले गोलको वर्षा गर्न भ्यायो र सहज जित निकाल्दै गएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?