कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

व्यास नगर चौथो अल्ट्रा म्याराथनको उपाधि कालीकोटका महतरालाई

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिकाले शुक्रबार सहिद दिवसको अवसरमा आयोजना गरको चौथो व्यास नगर अल्ट्रा म्याराथन–२०७७ को उपाधि कालीकोटका देवराज महतराले जितेका छन् ।

व्यास नगर चौथो अल्ट्रा म्याराथनको उपाधि कालीकोटका महतरालाई

नेपाली सेनाका महतराले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिद गाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी ३ घण्टा ३ मिनेट ५१ सेकेन्डमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको म्याराथनमा एक सय ८० जना धावकहरुको सहभागिता रहेको थियो । उक्त म्याराथनमा सोलुखुम्बुका सुमन कुलङ द्वितीय र रामेछापका बेदबहादुर सुनुवार तृतीय भएका छन् ।

कुलुङले ३ घण्टा ८ मिनेट १ सेकेन्ड र सुनुवारले ३ घण्टा १० मिनेट ५ सेकेन्डमा उक्त दूरी पार गरेका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमश: ८५ हजार ७७, ६५ हजार ७७, ५५ हजार ७७ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

गत वर्ष म्याराथनको उपाधि कुलुङले जितेका थिए । उनले ४४ किमि दूरी २ घण्टा ५९ मिनेटमा पार गरेका थिए भने प्रतियोगितामा महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।

खेलकुदको माध्यमबाट पर्यटनको विकास गर्ने उद्देश्यकासहित नगरपालिकाले म्याराथनको आयोजना गरेको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

यस्तै, धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकप्वाइन्ट स्थापना गरिएको थियो । व्यास–४ व्यास रेन्ज पोस्ट, व्यास–१० पिजनहिल खहरे, व्यास–७ पाथ्रा मन्दिर, व्यास–७ पातल सत्र सय, व्यास–८ रिस्ती सोतीबेसी, व्यास–८ सुनपोखरी, व्यास–८ गाडापानी र व्यास–८ पुलिमराङमा चेकप्वाइन्ट स्थापना गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

मानहुँबाट सुरु हुने म्याराथन पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफा सडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुलिमराङमा पुगेर टुंगिएको छ ।

प्रकाशित : माघ १६, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×