कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुमनाम पृथुको उच्च फर्म

विनोद पाण्डे

काठमाडौँ — पृथु बाँस्कोटा कि त विवादमा हुन्छन् कि चोटले उनलाई पछ्याइरहेको हुन्छ । त्यसैले उनको खेलले सोचेजस्तो रफ्तार लिन सकेन । उमेर समूहमा निकै सफल यी खेलाडी पछिल्लो समय नेपाली क्रिकेटबाटै हराएजस्तो भइसकेका थिए । 

गुमनाम पृथुको उच्च फर्म

‘गुमनाम’ पृथुले त्रिभुवन विश्वविद्यालय टिमबाट वाग्मती प्रदेश छनोट खेल्दै पुनरागमनको प्रयास गरे । विगतमा काठमाडौं क्षेत्र र नेपाल एपीएफ क्लबबाट खेल्दै आएका उनको यो निर्णय निकै महत्त्वपूर्ण बन्न पुग्यो, जसका कारण उनको प्रर्दशन प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा चर्चाको उत्कर्षमा छ ।

नहोस् पनि कसरी । विभागीय टोलीको वर्चस्व रहेको घरेलु क्रिकेटमा पृथुको जोडदार ब्याटिङपछि वाग्मती प्रदेश लगातार तेस्रो खेलमा जित हात पार्दै सेमिफाइनल नजिक पुगेको छ । पृथुको अविजित ५३ रनमा वाग्मतीले शुक्रबार प्रदेश २ लाई ४ विकेटले पराजित गर्‍यो । पृथुको यो पछिल्लो उत्कृष्ट इनिङ्स हो । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबविरुद्ध अविजित ४८ रन बनाएका पृथुले सुदूरपश्चिमविरुद्ध ८४ रनको इनिङ्स खेलेका थिए ।

पृथुले जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीमा अग्रता लिइसकेका छन् । उनले ३ खेलमा १ सय ८५ रन बनाइसकेका छन् । पुलिसका सुनील धमलाभन्दा सर्वाधिक रन बनाउनेमा उनी ११ रनले अगाडि छन् । वाग्मतीको उपकप्तान रहेका पृथुको औसत पनि १ सय ८५ रहेको छ ।

‘यस प्रतियोगितालाई भनेर मैले तयारी गरेको थिएँ, बालुवाटार ट्रेनिङ सेन्टरमा अभ्यास गरिरहेको थिएँ । काठमाडौं जिल्लाको छनोट भइसकेकाले मैले त्रिभुवन विश्वविद्यालयबाट खेलेको हुँ,’ पृथुले भने, ‘मानसिक तयार भएर बसेको थिएँ, लामो समय क्रिजमा बिताउँछु भन्ने थियो । आफ्नो पुरानो भिडियोहरू हेरेर तयारी गरिरहेको थिएँ कोरोनाका बेला, टेस्ट म्याच पनि हेरिरहेको थिएँ । सायद त्यसैले काम गरेजस्तो लाग्छ ।’

पृथुको यसपटक ब्याटिङ विशेषता उनी लामो शटहरू आत्मविश्वास र टाइमिङका साथ हानिरहेका छन् । पृथु आफूले बेसिक नै हानिरहेको र टाइमिङ मिलाउन खोजिरहेको जनाउँछन् । अहिलेको सफलतामा अर्को कारण यस्तो हुनसक्ने उनी सुनाउँछन् । ‘ब्याटिङमा पहिला बटम ह्यान्ड बढी प्रयोग गर्थें, अहिले टप ह्यान्ड पनि प्रयोग गरिरहेको छु,’ उनले सुनाए ।

वाग्मतीको औपचारिकता

पहिलो तीन खेल जिते पनि वाग्मती सेमिफाइनलमा निश्चित भइसकेको छैन । औपचारिकता अझै बाँकी छ । समूह ‘बी’ मा पुलिस ३ खेलमा २ जित र लुम्बिनी प्रदेश २ खेलमा १ जित हात पार्दै वाग्मतीलाई पछ्याइरहेका छन् । प्रदेश २ र सुदूरपश्चिमले खेलेका दुवै खेल हारेका छन् ।

टस जितेको प्रदेश २ मूलपानी क्रिकेट मैदानमा ४८.२ ओभरमा १ सय ७९ रनमा अलआउट भयो । हरिशंकर शाह ६, रवि सिंह शून्य, विशाल सुस्लिङ ५, हिमांशु दत्त शून्य, कप्तान सुरज कुर्मी १३, महबुब आलम २ रनमा आउट भएपछि २५ औं ओभरमै ६९–६ को स्थितिमा प्रदेश २ पुग्यो । विवेक यादवले ६६ रन बनाउँदै प्रदेश २ को स्थिति सुधारे ।

प्रतियोगितामा लगातार दोस्रो अर्धशतक बनाउनेक्रममा विवेकले ७४ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरे । उनले राहुलप्रताप सिंहसँग सातौं विकेटमा ५३ रन जोडे । राहुलप्रतापले ६२ बलमा १८ रन बनाए । कुमार थापाले २ छक्का प्रहार गर्दै ३१ बलमा २२ रन जोडे ।

काठमाडौंका गौतम केसीले ४ विकेट लिँदै म्यान अफ द म्याच प्रर्दशन गरे । उनले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चे । रामनरेश गिरीले १० ओभरमा ३ मेडन राख्दै ३५ रन खर्चेर २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए ।

जवाफमा वाग्मतीले ओपनर आदिल खानलाई ५ रनमै गुमायो । आकाश थापा र विभत्सु थापाले दोस्रो विकेटमा ५७ रन जोडे । आकाशले ६२ बल खेलेर ४ चौका प्रहार गर्दै ३२ रन बनाए । पारस खड्का टी–१० का लागि अबुधाबी लागेपछि प्रतियोगितामा पहिलो खेल खेल्ने अवसर पाएका विभत्सुले ९३ बल खेलेर ३ चौकासहित ४७ रन बनाए ।

पृथुले अविजित ५३ रन बनाउनेक्रममा ७५ बल सामना गर्दा ४ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डे १५ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे । प्रदेश २ का हरिशंकरले २ तथा विशाल र कुमारले १–१ विकेट लिए ।

प्रदेश १ को सान्त्वना जित

पहिलो ३ खेल हारेको प्रदेश १ ले सान्त्वना जितसाथ प्रतियोगिता टुंग्याएको छ । प्रदेश १ ले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णाली प्रदेशमाथि ५९ रनको विजय नतिजा निकाल्यो । कप्तान सिद्धान्त लोहनीको ६६ रनमा टस जितेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय १५ रन बनायो । सिद्धान्तले ९७ बल खेलेर ९ चौका प्रहार गरे । शुभांकर उराँवले २८ बलमा ३ चौका र २ छक्कासहित ३६, मिनास थापाले २३ बलमा ३ चौकासहित २५, फिर्दोस अन्सारीले १७ र राजन मगरले १० रन बनाए । कर्णालीका कप्तान रवीन्द्र शाहीले ३ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै ३६ रन खर्चे । दिनेश अधिकारी र अनुज चुनाराले २–२ तथा दिवन पुन र राज शाहले १–१ विकेट लिए ।

कर्णाली प्रदेश भने ३५ ओभरमै १ सय ५६ रनमा अलआउट भयो । अफ स्पिनर मिनासले ५ विकेट लिए । म्यान अफ द म्याच उनले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चे । दीपेश कँडेलले ९ ओभरमा ३ मेडन राख्दै २३ रन खर्चेर ३ र मनोज तामाङले २ विकेट लिए । विपिन रावलले ४७ रन बनाए पनि कर्णालीले जित हात पार्न सकेन । विपिनले रवीन्द्रसँग पहिलो विकेटमा १० ओभरभित्र ६३ रन जोडेका थिए । विपिनले ३४ बल खेलेर ८ चौका र २ छक्का प्रहार गरे । रवीन्द्र १८ रनमा आउट भए । निश्चल रावलले ४७ बलमा ३१, दिवन पुनले १४ र दिनेश अधिकारीले ११ रन बनाए ।

प्रकाशित : माघ १०, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?