कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री कप : पुलिस र एपीएफको जित

काठमाडौँ — नेपाल पुलिस क्लबले काठमाडाैंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा अर्को खेलमा एपीएफले गण्डकी प्रदेशलाई हराएको छ ।

प्रधानमन्त्री कप : पुलिस र एपीएफको जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुलिसले दिएको ३ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २ सय ३६ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सौरभ खनालले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हारलाई टार्न सकेनन् । लुम्बिनीका कप्तान कृष्ण कार्कीले नटआउट ४० रन जोडे।

यस्तै देव खनाल अर्धसतक पूरा गर्न एक रनले चुके । सन्दीप रजालीले ४० रन जोड्दा अन्य व्याट्सम्यान १० रन भित्र समेटिए ।बलिङतर्फ पुलिसका राशिद खान र पवन सर्राफले २/२ विकेट लिए । दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र सागर ढकालको नाममा एक/एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ३ सय १० रनको योगफल बनाएको थियो । पुलिसका लागि सुनिल धमलाले शतकीय इनिङ्स खेले । करियरको पहिलो शतक बनाउने क्रममा सुनिलले १ सय ४ रन जोडे । १ सय ४५ बलको समना गरेका धमलाले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले ८५ रनको योगदान गर्दा विस्फोटक ब्याटिङ गरेका पवन सराफले १३ बलमा नटआउट ५० रनको अर्धशतकीय इनिङ्स खेले । पवनले ६ छक्का र १ चौका प्रहार गरेका थिए । पवनको यो घरेलु क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनेको छ । त्यस्तै आरिफ शेखले नटआउट २९ रन जोड्दा अमित श्रेष्ठले २८ रन बनाए । बलिङमा लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एक/एक विकेट आफ्नो नाममा लेखाए । जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस समूह तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित लुम्बिनीको २ खेलमा २ अंक जोडेको छ । लुम्बिनी तेस्रो स्थानमा रहेको छ ।

यस्तै प्रतियोगिताको अर्को खेलमा आशिफ शेखको विस्फोटक ब्याटिङको मद्दतमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशमाथि ६ विकेटको जित निकाल्यो ।

मूलपानी मैदानमा भएको खेलमा एपिएफले १ सय ७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर भेटाउँदा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । एपीएफलाई जिताउन अशिफ शेखले अर्ध सतकीय इनिङ्स खेले । ५६ बलको समना गरेको आशिफले ६ छक्का र ५ चौकाको मद्दतमा ७८ रनको व्यक्तिगत रन बनाउँदा एपीएफले सहज जित निकालेको हो । दुई रन जोड्दा दुई विकेट गुमाएको अवस्थमा आशिफले सम्हालिएको प्रदर्शन गर्दै एपीएफको इनिङ्सलाई उकासेका थिए । सुमित महर्जनले १८ रन जोड्दा अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

एपीएफको ४ विकेट निकाल्न गण्डकी प्रदेशका चन्द्रा पौडेल र विशाल पौडेलले समान २/२ विकेट हात पारे । एक खेलमा मात्र सुखद नतिजा निकालेको गण्डकी प्रदेशको यात्रा प्रतियोगिताबाट समाप्त भएको छ । चार खेल खेल्दा तीन खेल गुमाएको गण्डकीले समूह ‘ए’ तालिकामा दुई अंक मात्र जोड्न सक्यो ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको गण्डकीले ४६ओभरको समाप्तिमा सबै विकेट गुमाएर १ सय ६ रन जोडेको थियो । गण्डकीका लागि ओपनर समिर कँडेलले ३६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले इनिङ्स उकास्ने स्कोर छुन सकेनन् । विष्णु पाण्डे र दिपेश खत्रीले समान १५/१५ रन जोड्दा दिनेश बुढामगरले १२ रनको व्यक्तिगत स्कोर बनाएका थिए । अन्य व्याट्सम्यान भने १० रन भित्र समेटिएका थिए ।

गण्डकीलाई सस्तैमा समेट्न एपिएफका कमल ऐरीले सर्वाधिक ४ विकेट निकाल्दा अभिनाश बोहोर र कप्तान शरद भेषवाकरले समान २/२ विकेट आफ्नो नाममा लेखाए । दुई खेलबाट एपिएफको समूह ‘ए’ तालिकामा ४ अंक भएको छ । तीन खेलबाट तीनै जित निकालेको आर्मी समूह ‘ए’ को शीर्ष स्थानमा छ । आर्मीको ६ अंक रहेको छ ।

प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछ । मूलपानी क्रिकेट मैदानमा प्रदेश–२ र वाग्मती प्रदेश तथा त्रिवि मैदानमा प्रदेश–१ र कर्णाली प्रदेशबीच खेल हुने छ ।

प्रकाशित : माघ ८, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?