कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१७ औं पल्सर स्पोर्ट्स अवार्ड आज

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ औं वर्ष मनाउनेक्रममा आज मंगलबार १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । 

१७ औं पल्सर स्पोर्ट्स अवार्ड आज

मञ्च २०५२ साल भदौ २५ गते स्थापना भएको हो । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण मञ्चले रजत वर्षगाँठको कार्यक्रम गर्न पाएको थिएन । कोरोना कहरकै कारण निर्धारित समयभन्दा पछाडि सार्नुपरेको स्पोर्ट्स अवार्ड आयोजना गरेर रजत वर्ष मनाउन लागेको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले बताए । खेलकुद पत्रकारितालाई व्यावसायिक र संगठित रूपमा अघि बढाउने उद्देश्यले स्थापित मञ्चले धेरै आरोह र अवरोधका बीच पत्रकारितासँगै खेलाडी र खेलकर्मीको प्राप्त उपलब्धिलाई सम्मान गर्दै आएको जनाएको छ ।

स्थापनाकालदेखि नै सुरु अवार्ड भएको २०६० सालपछि भने निरन्तर आयोजना हुँदै आएको छ । १७ औं संस्करण स्पोर्ट्स अवार्ड हुनु नेपाली खेलकुदका लागि ठूलो उपलब्धि भएको पूर्व अध्यक्ष निरञ्जन राजवंशी बताउँछन् । उनी नेतृत्व आएसँगै अवार्ड कार्यक्रमले निरन्तरता पाएको थियो । तर विनाशकारी भूकम्पका कारण वर्ष २०७२ मात्र अवार्ड भएको थिएन ।

विश्वव्यापी फैलिएको कोरोनाका कारण यस वर्ष पनि सहज ढंगले अवार्ड गर्नसक्ने अवस्था थिएन । तर घरेलु भूमिमा आयोजित नेपाली खेलाडीका लागि ठूलो खेलमहोत्सव १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको उपलब्धि संस्थागत गर्न पनि स्पोर्ट्स अवार्ड आयोजना गर्नुको विकल्प नरहेको अध्यक्ष सुवेदी बताउँछन् ।

मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी र अन्य सहप्रायोजकहरूको साथले कठिन अवस्थामा पनि अवार्ड आयोजना गर्न हौसला मिलेको उनले सुनाए । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा कृत्रिम स्टुडियो खडा गरेर भर्चुअल रूपमा अवार्ड हुँदै छ । त्यसको राष्ट्रिय टेलिभिजनहरू एनटीभी प्लस, जनता टेलिभिजन, इमेज च्यानल र एक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछन् भने मिडिया हब, एनएसजेएफको यूटुब र फेसबुक पेजसहित विभिन्न सञ्चारमाध्यमका डिजिटल माध्यमबाट अवार्ड हेर्न सकिने मञ्चले जनाएको छ ।

पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान गरिनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी विभिन्न विधामा दाबेदार भएका छन् । वर्ष खेलाडी पुरुष, महिला, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर पाउने जनाइएको छ ।

प्रकाशित : पुस २८, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?