कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भलिबलमा प्रतिभावान्‌लाई छात्रवृत्ति

भवानी भट्ट

कञ्‍चनपुर — राष्ट्र्रिय खेल भलिबलमा प्रतिभावान् खेलाडीको छनोटका लागि छात्रवृत्ति कार्यक्रम सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले मंगलबार उक्त कार्यक्रमको घोषणा गरेका हुन् ।

भलिबलमा प्रतिभावान्‌लाई छात्रवृत्ति

१८ वर्षभन्दा कम उमेर र उचाइका खेलाडीलाई प्रशिक्षण दिन उक्त कार्यक्रम सुरु गरिएको हो । भलिबल प्रशिक्षणमा सहभागी हुने खेलाडीले मासिक ३ हजार रुपैयाँ पाउने छन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ५४ खेलाडीमध्ये १२ महिला र १२ पुरुष गरी २४ जनालाई उक्त छात्रवृत्ति प्रदान गरिनेछ । उनीहरूलाई महेन्द्रनगरस्थित भलिवल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ ।

‘आगामी दुई वर्षमा राष्ट्रिय टोलीलाई योगदान दिनसक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो,’ भलिकल प्रशिक्षक जगदीश भट्टले भने, ‘उचाइ भएका र प्रतिभा भएका खेलाडी छनोट गरेर प्रशिक्षण दिइन लागेको हो ।’

पहिलो चरणमा ६ महिनासम्म छात्रवृत्ति दिइने छ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको छनोट गरेर यसमा नयाँ पनि थप गरिनेछ । छात्रवृत्ति कार्यक्रम पनि थप हुँदै जानेछ । प्रशिक्षणमा सहभागी भएका खेलाडीलाई महेन्द्रनगर आसपासकै विद्यालयहरूमा निःशुल्क पठनपाठनको व्यवस्थासमेत गरिएको भट्टले बताए ।

प्रतिभावान् खेलाडीलाई छात्रवृत्तिको कार्यक्रम नयाँ भएको परिषद्का सदस्यसचिव सिलवालले बताए । उनले भलिबलमा उत्कृष्ट खेलाडी छनोट गर्न र देशका लागि अब्बल खेलाडी उत्पादन गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए ।

महेन्द्रनगरस्थित कभर्डहलमा नेपालकै व्यवस्थित भलिबल प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । बिच भलिबल प्रशिक्षणका लागि समेत पूर्वाधार तयार पारिएको छ । आवाससहितको प्रशिक्षण केन्द्र निर्माणको कामसमेत अघि बढेको छ । निकट भविष्यमै आवाससहितको प्रशिक्षण दिने कार्यक्रम रहेको प्रशिक्षक भट्टले बताए ।

प्रकाशित : पुस २२, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?