कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

१४ दिनदेखि एउटै कोठामा ७ परिवारको बास

भवानी भट्ट

कञ्चनपुर — जमुना आधारभूत विद्यालयको एउटा कोठामा ७ वटा खाट राखिएका छन् । कोही खाटमा बसेका छन् । कोही भूइँमा । बालबालिका पनि कोही खाटमा त कोही भूइँमा थिए । बाढी घरमा क्षति भएपछि १४ दिनदेखि विद्यालयको एउटा कोठामा ७ परिवारका १७ जना बसिरहेका छन् ।

१४ दिनदेखि एउटै कोठामा ७ परिवारको बास

‘एउटा कोठामा धेरै जना सुत्दा अप्ठेरो हुन्छ, राति गर्मी पनि धेरै हुन्छ,’ पटेराखल्लाका ६५ वर्षीय लालसिंह सुनारले भने, ‘राति बाहिरभित्र गर्न समेत अप्ठेरो हुन्छ, बालबालिका च्यापिने डर पनि हुन्छ ।’

गत असार २४ गते जोगबुडा नदीको बाढी बस्ती पस्दा सुनारको घर भत्कियो । गोठमा रहेका बाख्रा र गाई मरे । धान, गहुँ सबै भिजेर कुहिएको छ । गाईवस्तुका लागि राखेका भुसा र पराल पनि सबै कुहिएको छ । विस्थापित परिवारले विभिन्न संघसंस्थाको सहयोगमा झुल पाएका छन् । तर भित्र झुल लगाउने समेत ठाउँ नहुँदा लामखुट्टेले टोकेर सुत्नै नसकिएको विस्थापितहरु बताउँछन् । बाढीले विस्थापित भएका दोधारा चाँदनी नगरपालिका–३ पटेराखल्लाका १४ परिवार अहिले पनि विद्यालयमै बसिरहेका छन् । असार २४ गते विस्थापित भएकाहरु उनीहरु घर भत्केको र लेदो भरिएका कारण अझै फर्कन सक्ने अवस्था नरहेको बताउँछन् ।

विद्यालयको एउटा कोठामा ७ परिवार, अर्कोमा ४ र तेस्रो कोठमा ३ परिवार बसिरहेका छन् । उनीहरु बस्ने कोठामै खाना बनाउँछन् । त्यहीँ बसेर खान्छन् । कोही दुई परिवार मिलेर खाना बनाउँछन् भने कोही छुट्टाछुट्टै पकाउँछन् ।

सुरुमा सबै विस्थापित एकै ठाउँमा हुँदा सामूहिक रुपमै खाना बन्थ्यो । सबै एकै ठाउँमा पालैपालो खान्थे । अहिले धेरै जना विद्यालयबाट नजिकका आफन्तको घरमा गएका छन् । बाँकी रहेका परिवार पनि एक्लाएक्लै पकाएर खान थालेका छन् । ‘अहिले पनि हिलोले त्यहाँ जान सकिने अवस्था छैन, घर पूरै भत्केको छ,’ विस्थापित मंगल सुनारले भने, ‘पानी नपरे एक/दुई दिनमा हिलो पन्छाएर पाल टाँगेर भए पनि आफ्नै घरमा बस्ने योजनामा छौं ।’ उनका अनुसार अन्य परिवार आफन्तको घरमा गए पनि १४ परिवारका ४४ जना अहिले विद्यालयमै बसिरहेका छन् ।

बाढीले विस्थापित भएको केही दिन वडा कार्यालय र गैरसरकारी संस्थाहरुले खाना खुवाए । तर अहिले खाना खान समेत मुस्किल हुन थालेको छ । संघसंस्थाले सहयोग गरेको चामल भए पनि दाल–तरकारीका लागि समस्या भएको उनीहरु बताउँछन् ।

५५ वर्षीय चक्र शाहीको ७ जनाको परिवार पनि १५ दिनदेखि विद्यालयमै बसिरहेको छ । बाढीले घर मात्रै भत्किएन । २५ बाख्रा पनि मरे । भित्र राखेका अन्नपात सबै भिजेर कुहियो । खेतमा लगाएको धान पनि बाढीले पटान गरेको छ । ‘बस्न त यहाँ ठाउँ पाएका छौं, अब के खाने के लाउने भएको छ,’ शाहीले भने, ‘दाल तरकारी नभएर नुनसँग भात खानुपर्ने अवस्था आएको छ ।’ उनका अनुसार सुरुमा वडा कार्यालय र संघसंस्थाले सहयोग गरे पनि अहिले समस्या हुन थालेको छ । ‘अहिले काम पनि केही पाइदैन, कहाँबाट किनेर खानु ?,’ शाहीले भने, ‘लुगाफाटा सबै बाढीले बगायो, एकसरो लुगामा बसेका छौं ।’ उनका अनुसार पटेराखल्लामा करिब २० विघा जमिनको धान पूरै बाढीले पटान गरेर ढाकेको छ । अब रोपाइँ लगाउन सकिने अवस्था पनि छैन । पटेराखल्लामा २८ परिवारको बसोबास छ । उनीहरु २०४५ अघिसम्म वडा–३ कै पटेराखल्ला भन्दा २ किलोमिटर उत्तरतिर जोगबुडा नदी किनारमै बस्थे । त्यहाँ पनि बाढीले घर खेत सबै बगाएपछि ०४५ मा यहाँ सरेका हुन् । पटेराखल्ला गहिरो ठाउँमा भएका कारण वर्षनी बाढी पस्ने गरेको छ । ‘यहाँ त जहिले पनि बाढी लाग्ने हो, तर अहिलेजस्तो फर्किनै नसक्ने हुँदैनथ्यो,’ देवीसरा सुनारले भनिन्, ‘न भित्रको अन्न रहृयो, न बाहिरको खेतीपाती नै । बस्न त पाल टाँग्थ्यौं तर खाने के ?’

असार चौथो साताको बाढीका कारण कञ्चनपुरमा १४ सय ६५ परिवारका ५ हजार ७ सय ६६ जना विस्थापित भएको प्रहरीको तथ्यांक छ । जसमध्ये १४ परिवार अहिले पनि विद्यालयमै बसिरहेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार असार २४ गते बिहान ८ बजेर ४५ मिनेटमा दोधारा चाँदनी वर्षामापन केन्द्रमा ६ सय २४ मिलिमिटर, बेदकोट नगरपालिका–३ हनुमाननगर वर्षामापन केन्द्रमा ५ सय ७३ दशमलव ६ मिलिमिटिर र बेदकोटकै सुन्दरपुर वर्षामापन केन्द्रमा ५ सय ५५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । विभागले मापन सुरु गरेयताको यो नै उच्च वर्षा हो । जसका कारण जिल्लाको ७१ प्रतिशत भूभाग डुबानमा परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

प्रकाशित : श्रावण ६, २०८१ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×