कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नयाँ घर पाउँदा दङ्ग बासुदेवी

मोहन शाही

डोटी — श्रीमानको मृत्यूपछि ५ सन्तानसहित बेसहारा बनेकी बासुदेवी कामीलाई नवनिर्मित दुई कोठे घर हस्तान्तरण गरिएको छ ।दिपायल सिलगढी नगरपालिकाका-२ का वडाध्यक्ष राजेन्द्र खड्काको नेतृत्वमा संचालन गरिएको अभियानबाट संकलित रकमले निर्माण गरिएको घर बिहीबार एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

नयाँ घर पाउँदा दङ्ग बासुदेवी

दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ खुल्लेकमा दुई लाख ५६ हजार आठ सय १५ रुपैयाँ लगानीमा घर निर्माण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए । वडाध्यक्ष खड्काले ०८१ बैशाख ५ गते सो घरको शिलान्यास गरी निर्माण कार्य अघि बढाएका थिए ।

घर हस्तान्तरण गर्दै वडाध्यक्ष खड्काले बेसहारा भएर विचल्लीमा परेकी बासुदेवीको भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । सोही कार्यक्रममा चन्दादाताहरुको नामावली र रकम समेत सार्वजनिक गरेका थिए । एक लाख २५ हजार घर निर्माण गर्ने मिस्त्रीलाई ज्याला र अन्य रकम निर्माण सामाग्री खरिद गरिएको खड्काले जानकारी दिए ।

अभियानबाट दुई लाख ३८ हजार १९ रुपैयाँ संकलन भएको थियो । अपुग रकम भने वडाध्यक्ष खड्काले स्वयम व्यहोरेका हुन् । बासुदेवीका श्रीमान् ०८० चैत २२ गते भारतको जोधपुरमा मृत्यू भएको थियो भने ०८० पुसमा ससुराको मृत्यू भएको थियो । पाँच सन्तानकी बासुदेवीले भारतमै आफन्तहरुको सहयोगमा दाहसंस्कार गरेर नेपालमै काजक्रिया गरेकी थिइन् ।

घरबार नभएपछि उनी आफ्ना लालाबालासहित आफन्तको घरमा सहारा लिएर बसेकी थिइन् । ‘घरमा खाने अन्न थिएन, सुत्न ओछ्यान थिएन । हाम्रो आग्रहमा वडाध्यक्ष ज्यूले घर निर्माणका लागि अभियान चलाइदिनु भयो’, छिमेकी तुलाराम भूलले भने, ‘अहिले घर हस्तान्तरण गरिएको खबरले हामीलाई पनि खुसी लागेको छ ।’

बासुदेवीले नयाँ घर पाएपछि खुसी व्यक्त गरिन् । 'नयाँ घर पाउँदा खुसी लाग्ने नै भयो । तर छोराछोरीको पढाइ लेखाइ र भविष्य सम्झिएर दुख लाग्छ,' उनले भनिन् । नागरिकताविहीन बासुदेवीको वडाध्यक्ष खड्काकै सक्रियतामा नागरिकता बनाएर वडावाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था समेत मिलाइएको वडाध्यक्ष खड्काले जानकारी दिएका छन् । उनका बालबालिकाको पालन पोषण र शिक्षाका लागि पनि पहल भइरहेको खड्काले बताए ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×