कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विवादले महिना दिनदेखि गाउँ अन्धकारमा

मोहन शाही

डोटी — गाउँपालिका र निर्माण कम्पनीबीचको आन्तरिक विवादले डोटीको आदर्श गाउँपालिका-६ खतेडास्थित सौर्य उर्जा प्लान्ट सञ्चालनमा नआउँदा २ सय ८६ परिवार एक महिनादेखि अन्धकारमा छन् । 

विवादले महिना दिनदेखि गाउँ अन्धकारमा

प्लान्ट बन्द भएपछि विद्युत् उपभोग गर्दै आएका २ सय ८६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् । विद्युत् आपूर्ति बन्द हुँदा २ कुटानी पिसानी मिल, विद्यालय, गिरीचौका स्वास्थ्य चौकी, सिलाई सेन्टर, स्वास्थ्य क्लिनिक र स्थानीय पसलहरूसमेत प्रभावित भएको वडाध्यक्ष लाल बहादुर खडायत बताउँछन् ।

भुक्तानीको विषयलाई लिएर दुई पक्षबीच विवाद आउँदा निर्माण कम्पनीले गत वैशाख २८ गतेदेखि विद्युत् आपूर्ति बन्द गरिदिएको छ । भुक्तानी नभएसम्म आपूर्ति सुचारु नगर्ने अडान निर्माण कम्पनी घाम पावर प्रालिको छ । निर्माण कम्पनी घाम पावर प्रालिका प्रतिनिधि जीवन तोयनाले पटक पटक सम्झौता अनुसार पाउनु पर्ने २४ लाख रुपैयाँ दिन आनाकानी गरेपछि बाध्य भएर विद्युत आपूर्ति बन्द गरेको दाबी गरे ।

तर गाउँपालिकाले भने निर्माण सम्पन्न भइसकेपछि निर्माण कम्पनीले अनुगमन नै नगराइ भुक्तानी मागेको आरोप लगाउँदै आएको छ । विद्युतका पोल मापदण्ड अनुसार नगाडेको, निःशुल्क वितरण गर्नुपर्ने चिमको पैसा उठाइएको तथा गुणस्तरीय काम नगरेको गुनासो पालिकामा आएपछि सो काम सुधार्न सुझाव दिँदा पनि नटेरेपछि अन्तिम निकासा नदिइएको गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले प्रष्ट्याए ।

‘निर्माण कम्पनीको कार्यालयमै कमीकमजोरी सुधारेर भुक्तानी लैजानुस भन्दा उहाँहरु नै सहमत हुनुभएको थियो,' अध्यक्ष खड्काले भने, ‘म काठमाडौंबाट फर्कन पाएको छैन यता अपरेटरले विद्युत् आपूर्ति रोक्यो भन्ने सुने ।’ उनले संयुक्त अनुगमन पछि मात्र भुक्तानी प्रक्रिया अघि बढ्न सक्ने बताए ।

गाउँपालिकाले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौंलाई पत्र लेखी जेठ मसान्तसम्म भुक्तानी दिने प्रतिबद्धता भने गरेको छ । निर्माता कम्पनी घाम पावर प्रालिका प्रतिनिधि तोयना पत्र आइसकेपछि कम्पनी र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच छलफल भएपनि भुक्तानी भएपछि मात्र विद्युत् सुचारु गर्ने बताए ।

आदर्श गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा गाउँपालिकाको वडा नम्बर ६ खतेडामा ८० किलोवाट क्षमताको सौर्य उर्जा प्लान्ट स्थापना भएको थियो । २०७७ सालदेखि सौर्य उर्जा निर्माण प्रक्रिया सुरु भई २०७९ साल चैत्र ६ गते विद्युत् आपूर्ति सुरु भएको थियो ।

प्रकाशित : जेष्ठ २४, २०८१ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×