कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : आत्मनिर्भर कृषि क्षेत्रको विकासमा जोड 

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतझैं थुप्रै आकर्षक नाराहरु उल्लेख छन् ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : आत्मनिर्भर कृषि क्षेत्रको विकासमा जोड 

प्रदेश सरकार कृषकको सहयात्री, कृषि कर्जामा प्रदान गर्दै आएको सहुलियतलाई निरन्तरता दिइने, उत्पादनमा आधारित अनुदान कार्यलाई प्राथमिकता दिइने भनिएको छ ।

कृषिमा आत्मनिर्भर प्रदेश सुदूरपश्चिमको अभियान, कृषि उपजमा आत्मनिर्भरता, आवश्यक कृषि पूर्वाधार निर्माण, बाँझो जग्गामा साझेदारीमा कृषि खेती, युवा वर्गलाई कृषिमा आकर्षण गर्ने, कृषि पर्यटनमा जोड लगायतका कार्यक्रमहरु राखिएका छन् । सरकारले कृषि पशुपालन र वन क्षेत्रको अन्तरसम्बन्धित कार्यक्रमहरु ल्याइने नीति तथा कार्यक्रममा समेटेको छ ।

पूर्वाधार विकासलाई प्राथमिकताका साथ उल्लेख गरिएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले आयोजना छनोट मापदण्ड ०८० को प्रभावकारी कार्यान्वयन गर्ने भनेको छ । बजेट तथा कार्यक्रमलाई सहभागितामूलक बनाइने, सडक सञ्जालमा नजोडिएका बझाङको साइपाल गाउँपालिका, बैतडीको सिगास गाउँपालिका र दार्चुलाको अपीहिमाल गाउँपालिकामा सडकको पहुँच विस्तार गर्न विशेष प्राथमिकताका साथ योजना राखिने बताएको छ ।

यस्तै, उद्योग, पर्यटन तथा वन क्षेत्रको विकासका लागि पनि सरकारले कार्यक्रमहरु घोषणा गरेको छ । 'एक जिल्ला एक उद्योग', दशरथ चन्द सीपमूलक र क्षमता अभिवृद्धि कार्यक्रम, खप्तड बडिमालिका लगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्ने भनिएको छ ।

यस्तै सरकारले यस प्रदेशमा देवाटन पर्यटन विकासको नारा दिएको छ । प्रेमसिंह धामी व्यास विशेष कार्यक्रम, पर्यटन महोत्सव, ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति तथा योजनामा समेटिएको छ ।

यस्तै, सामुदायिक वन प्रदेशको धनको नारा दिएको सरकारले जडिबुटी अनुसन्धान केन्द्र, स्वदेशी काठको उपयोगको प्रोत्साहन, वन्यजन्तु उद्धार केन्द्र स्थापना, वन क्षेत्र अतिक्रमण रोकथाम र अतिक्रमण हटाउने भनेको छ । सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा एउटा नमुना विद्यालय स्थापना, हरेक स्थानीय तहमा एउटा नमुना बालविकास केन्द्र, विज्ञान प्रविधि विश्वविद्यालय स्थापना, पहलमानसिंह स्वाँर साहित्यक तथा साँस्कृतिक सम्मेलन, प्रदेशस्तरीय संग्रहालय स्थापना गर्ने भनेको छ ।

यस्तै, प्रदेशका सबै जिल्लामा बहुउद्देश्यीय रंगशाला, उत्कृष्ट खेलाडीलाई सम्मान, प्रदेश स्वयंसेवक परिचालन, युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले विद्यालयसँग योग र ध्यान, मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण कार्यक्रम, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई थप सुदृढीकरण, एकीकृत स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै मेरो स्वास्थ्य मेरो जिम्मेवारीको नारा दिएको छ । साथै, संघ मातहत सञ्चालित अस्पताल प्रदेश मातहत ल्याउन पहल गर्ने, प्रदेश बालकोष, द्धारिकादेवी ठकुरानी महिला सशक्तिकरण कार्यक्रम पनि नीति तथा योजनामा समेटिएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०८१ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×