कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जीवनभर भारतमै रोजगारी : घर फर्किंदा कुटपिट र लुटपाट

भवानी भट्ट

कञ्चनपुर — थाकेको ज्यान । सुन्निएका खुट्टा । अलिकति हिड्दा पनि श्वासप्रश्वासले गाह्रो हुने । रसुवाको उत्तरगया गाउँपालिकाका ६५ वर्षीय राम प्रसाद आचार्य बुधबार दिउँसो गड्डाचौकी नाकामा यस्तै अवस्थामा भेटिए ।भारतमा ज्याला मजदुरी गरेर कमाएको पैसा लुटियो । लुटेराहरुसँगको तनावमाथि उनीमाथि कुटपिट समेत भयो । उनी श्वासप्रश्वासका बिरामी समेत हुन् ।

जीवनभर भारतमै रोजगारी : घर फर्किंदा कुटपिट र लुटपाट

गत कार्तिकमा तिहारका लागि घर फर्किने बेला सिमला नजिकै चार/पाँच जना युवाले कुटपिट गरेर उनीसँग भएको नगद र लुगाकपडा तथा मोबाइल लुटेर लगे । शरीरमा भएको एकजोर लुगा मात्रै बांकी रहेको उनले बताए । त्यसबेला आफूसँग भएको ३५ हजार भारु, लुगा कपडा र मोबाइल फोन सबै लुटेर लगेको उनले बताए ।

‘ती चिनेकै केटाहरु थिए, मैले काम गर्ने ठाउँमा आइरहन्थे,’ बुधबार घर फर्किदै गर्दा गड्डाचौकी नाकामा भेटिएका आचार्यले भने, ‘कुटपिटका कारण शरीरको धेरै ठाउँमा चोट छ, ४/५ दिन त भोकै बसे ।’

उनी हिमाञ्चलको सिमला नजिकै ‘रि’ गाउँमा कामदारहरुका लागि खाना पकाउने काम गर्थे । घर नआएको ५ वर्ष भइसकेको थियो । कार्तिकमा तिहारका लागि उनी घर आउँदै थिए । ‘रि’ गाउँबाट सिमला बसपार्क पुग्नु अगावै उनलाई बसले बाटोमै छाड्यो । बसबाट झर्ने बितिक्कै ४/५ जना युवाको हुल आयो । उनीहरुले एक्कासी कुटपिट गर्न थाले । ‘भएको नगद र सामान सबै देउ नत्र मारिदिन्छौ’ भनेर धम्की दिए । त्यसपछि आफुसंग भएका सबैथोक दिएको उनले बताए ।


लुटिएर अलपत्र परेका उनलाई सिमलामै रहेका नेपालीले सहयोग गरेपछि उनी चन्दीगढ पुगे । कुटपिटबाट घाइते भएका कारण उपचारका लागि समेत उनले चन्दीगढमै होटलमा काम गरे । मासिक १० हजार भारु पाउँथे । उपचारका लागि ठिक्क हुन्थ्यो ।

‘श्वासप्रश्वासका बिरामी, त्यसले झन् झन् च्याप्न थाल्यो,’ आचार्यले भने, ‘घर पुग्न पैंसा थिएन, फेरी मालिकसंगै पैसा मागेर आएँ ।’ त्यो पैसाले बनबासासम्म पुगे । गड्डाचौकीमा उनलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च सहयोग गरेको छ । आचार्यलाई घर पुग्ने भाडा, बाटोमा खाना र खाजा खर्च गरेर ३ हजार सहयोग गरेको नागरिक सहायता कक्षका कर्मचारी दानसिंह बोहोराले बताए ।

आचार्य २०७२ को भूकम्पका बेला पनि हिमाञ्चलमै थिए । भूकम्पले उनको पनि घर भत्कायो । त्यहि घर बनाउदा ७ लाख ऋण लाग्यो । भूकम्पपछि घर निर्माणका लागि आएका उनी तीन वर्षपछि फेरी हिमाञ्चल हिडे । सबै ठिकै चलिरहेको थियो । मालिकले हरेक महिना घरमा खर्च पठाइदिन्थे । उनलाई खाना र बस्न दिएका थिए । लामो समयपछि घर फर्किदा ज्याला मजदुरी गरेर कमाएका रकम मात्रै लुटिएन, कुटपिटले शरीरमा गम्भिर चोट लागेर उनी बिरामी अचेल बिरामी समेत हुन थालेका छन् ।

प्रकाशित : चैत्र २१, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×