कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

एघार वर्षदेखि पुल अधुरै

स्थानीयवासी बर्खामा डुंगामा र हिउँदमा काठेपुल बनाएर नदी तर्न बाध्य
मोहन बुडाऐर

भजनी, कैलाली — कैलालीको भजनी नगरपालिकाको लालबोझी र भजनीलाई जोड्ने कान्द्र्रा नदीमा पुल निर्माणको ठेक्का भएको एघार वर्ष बिते पनि निर्माण पूरा भएको छैन । उक्त पुल निर्माणको काम सम्पन्न नहुँदा यहाँका स्थानीय बर्खामा डुंगामा र हिउँदमा काठेपुल बनाएर नदी तर्न बाध्य छन् ।

एघार वर्षदेखि पुल अधुरै

कैलालीको ६२ किलोमिटर हुलाकी सडक खण्डमा पुल निर्माण सम्पन्न हुन यो एउटा मात्रै बाँकी हो । आयोजनाले २ वर्ष निर्माण अवधि तोकेर आर्थिक वर्ष ०६७/०६८ मा लामा शाल्पा शेर्पा बिरुवा जेभी कम्पनीलाई ४ करोड ८२ लाखमा ठेक्का दिएको थियो । उक्त पुल एक सय मिटर लम्बाइको छ । ‘सुरुका ४ वर्ष डिजाइन र ठाउँ परिवर्तन गर्नुपरेकाले ढिलो भयो,’ आयोजनाका इन्जिनियर पदम मडैले भने, ‘बाँकी ८ वर्ष ठेकेदारको लापरबाहीका कारण पुल निर्माणको काममा ढिलाइ भएको हो ।’

पहिलेको ठाउँबाट ४ किलोमिटर पूर्वतर्फ सारेर पुलको रि–डिजाइन स्वीकृत भएर आउन ४ वर्ष लागेको थियो । त्यसपछिका वर्षमा बारम्बार ताकेता गर्दा पनि ठेकेदार कम्पनीले ४ वर्षसम्म निर्माण कार्य सुरु नै गरेन । ‘म्याद थपाउँदै काम गर्न दबाब दिइराख्दा पनि कछुवा गतिमा काम गर्‍यो,’ इन्जिनियर मडैले भने, ‘अन्तिम पटक चैतसम्मको म्याद थप भएको छ ।’

उनले अन्तिम पटकको थप म्यादमा पनि निर्माण काम सम्पन्न नगरे सिधै कालो सूचीमा पर्ने बताए । ‘आयोजनाले २०७२ मै ठेकेदार कम्पनीलाई रि–डिजाइन दिएको ४ वर्षपछि मात्रै काममा फर्केको हो,’ इन्जिनियर मडैले भने, ‘२ महिना जति काम गर्‍यो । त्यसपछि सम्पर्कविहीन भएर बस्यो । गत वर्षदेखि लगातार निर्माण काम सुरु गरेको छ । तर कामको प्रगति कछुवा गति नै छ ।’ उनले हालसम्म ६५ प्रतिशत सम्पन्न गरेको बताए ।

लामो समयदेखि कान्द्रा नदीमा पुल निर्माण हुन नसक्दा हुलाकी सडक नेपालगन्ज (बाँके) सँगको सिधा सम्पर्कमा जोडिन सकेको छैन । ‘एउटा यो कान्द्राको पुल निर्माण हुन नसक्दा बाँके नेपालगन्जदेखि धनगढीसम्मको हुलाकी सडक ब्रेक भएको छ,’ उनले भने, ‘नत्र यो खण्ड सुचारु हुन्थ्यो ।’

पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको भजनीका जयबहादुर बुढा बताउँछन् । ‘सदरमुकाम भजनी आउन र उच्च शिक्षाका लागि पनि लालबोझीकाले दिनहुँ नदी तर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बर्खामा डुंगामा र हिउँदमा पानीको सतह घट्ने भएकाले काठेपुल हालेर नदी वारपार गरेका छन् ।’

पुल निर्माणमा भएको ढिलासुस्तीले कैलालीको दक्षिण पूर्वी क्षेत्रका बासिन्दा सदरमुकाम धनगढीसँग सिधा जोडिन पाएका छैनन् । यहाँका बासिन्दाले २५ किलोमिटर उत्तर राजमार्ग भएर धनगढी सदरमुकामसँग जोडिनुपरेको छ । उनले नदीमा पुल तयार नहुँदा भजनी नगरपालिकाको लालबोझी छोटी भन्सार नाकासमेत प्रभावित भएको बताए । उनले जनप्रतिनिधिहरूले पनि यो पुल निर्माण चाँडो निर्माणमा चासो नदिएको आरोप लगाए । कैलालीमा हुलाकी सडक निर्माणको वसन्ता जैविक मार्गको २ किलोमिटर सडक क्षेत्र मात्रै सम्पन्न हुन बाँकी रहेको इन्जिनियर मडैले सुनाए । उक्त २ किलोमिटर वसन्ता जैविक मार्गमा परेकाले वनले चाँडो रूख कटानी आदेश नदिँदा ढिलो भएको उनले बताए । उनले भने, ‘२ किलोमिटर सडक निर्माण सम्पन्न हुन लागेको छ ।’

प्रकाशित : पुस १४, २०७८ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?