कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटना घटाउन ‘दुई मिनेट चालकसँग’

सवारी दुर्घटनामा गत वर्ष ३४ र यो वर्ष १३ जनाले ज्यान गुमाएका छन्
तृप्ति शाही

बैतडी — बैतडीको पाटन नगरपालिकाको सकारमा गत मंसिर २० गते जिप दुर्घटना हुॅदा ५ जनाले ज्यान गुमाए । ५ जना घाइते भए । सिमसिमे पानीमा कच्ची सडकमा कुदिरहेको जिप उकालोमा चिप्लिएर तल खस्दा दुर्घटनामा परेको थियो ।

दुर्घटना घटाउन ‘दुई मिनेट चालकसँग’

यसअघि मंसिरकै ५ गते जिल्ला सदरमुकाम गोठलापानी नजिकै कलुवाड मोडमा जिप सडकबाट करिब ७ सय मिटर तल खस्दा भएको दुर्घटनामा ६ जनाले ज्यान गुमाए । यस्तै वैशाख २१ गते जिल्लाको पञ्चेश्वर गाउॅपालिका –६ को गणमेश्वरमा जिप दुर्घटना हुदा ६ जनाको मृत्यु भयो । ४ जना घाइते भए । ग्रामीण क्षेत्रको कच्ची सडकको मोडमा जिप दुर्घटनामा परेको थियो ।

जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढिरहेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म मात्र २६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ । ५६ जना घाइते भएका छन् । पक्की सडकमा १२ वटा दुर्घटना भएका र कच्चीमा ८ वटा भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख आकाश रावलले बताए । उनले भने, ‘पक्की सडकमा एक/दुई बाहेक सामान्य दुर्घटना भएका छन् । कच्चीमा भएका दुर्घटनाले मृत्यु हुने र घाइते हुने बढी छन् ।’

गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनामा परि ३४ जनाले ज्यान गुमाएका थिए । ७४ जना घाइते भए । ठुला दुर्घटनाहरू कच्ची सडकमै भएको प्रहरीको तथ्यांक छ । बिना इस्टमेट स्थानीय तहले खनेका सडकमा जथाभावी सवारीसाधन चलाउदा दुर्घटनाहरू बढ्दै गइरहेका छन् ।

बैतडीमा चालक, सडक र यान्त्रिक कारणले दुर्घटना भइरहेका बुभिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का बताउॅछन् । ‘सवारीसाधन चलाउॅदा चालकको लापरवाही र सहचालकले चलाउॅदा दुर्घटना भएका छन् । कच्ची सडकहरू साॅघुरा छन् । मोडहरू असजिला र धेरै छन्’ उनले भने, ‘सडकको अवस्था पनि कमजोर छ । सवारीसाधनहरूको अवस्था चेकजाॅच नभएकोले ब्रेक फेल भएर पनि दुर्घटनाहरू बढिरहेका छन् ।’

ग्रामीण क्षेत्रमा जथाभावी काटिएका सडकहरू भएकोले दुर्घटना बढिरहेका छन् । स्थानीय तहहरूले नामका मात्र सडक काटेकोले यात्रुहरूले ज्यान गुमाइरहेका स्थानीय बताउछन् । गुणस्तरविहीन सडकका कारण दुर्घटना हुने पञ्चेश्वर गाउॅपालिका—१ का केशव घटालले बताए । उनले भने,‘बाध्यताले चालकले गाडी चलाउनै पर्ने छ । सडक काटिएका छन् । स्तरोन्नती हुॅदैन । डोजर चालकले सडक काटिदिएका छन् । दुर्घटना बढिरहेका छन् ।’

अनुमती नलिइ ग्रामीण क्षेत्रमा सडकहरू संञ्चालनमा रहेको पुरचौडी नगरपालिका—१ का गणेश धामीले बताए । ‘सडक साॅघुरा छन् । एक गाडी आयो भने अर्को गाडीलाई समस्या हुन्छ । कुन सडकमा गाडी चल्ने कुनमा नचल्ने भन्ने पनि केहि छैन,’ उनले भने, ‘चालकले चलाउने आँट गरेका सबै सडकमा गाडी चलेका छन् । दुर्घटना बढिरहेका छन् ।’

चालकले मादक पदार्थ सेवन गरेर र यात्रुहरू क्षमता भन्दा बढी राखेर पनि दुर्घटना हुने गरेको उनले बताए । जिल्लामा सवारी दुर्घटना बढेपछि प्रहरीले जाॅचमा कडाइ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले ‘दुई मिनेट चालकसॅंग’ कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रावलले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले दुई मिनेट चालकसंॅग कार्यक्रम सञ्चालन गरेर सवारी चालकलाई सम्झाइ बुझाइ गर्ने गरिएको बताए ।

प्रकाशित : पुस ९, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?