चिसोले विपन्नलाई मार- सुदूरपश्चिम - कान्तिपुर समाचार

चिसोले विपन्नलाई मार

‘न्यानो लगाउने, ओछ्याउने र ओढ्ने नभएर आगो तापेर बस्ने दिन सुरू भएका छन्’
मोहन बुढाऐर

धनगढी — पुस संक्रान्तिदेखि चिसो बढेको बढ्यै छ । एक्कासि बढेको चिसोले विपन्न परिवारले न्यानो लुगा नभएर कठ्याङ्ग्रिनुपरेको बताएका छन् । जल तथा मौसम विज्ञानको फिल्ड कार्यालय अत्तरियाका अनुसार पुसको पहिलो दिन एक्कासि चिसो बढेर न्यूनतम तापक्रम ६ दशमलव २ मा डिग्री सेल्सियसमा झरेको थियो ।

शनिबार र आइतबार पनि न्यूनतम तापक्रम ६ दशमलव २ डिग्रीमै सीमित रहन पुगेको छ । अधिकतम तापक्रम शनिवार दिउसो १९ डिग्री सेल्सिसियस पुगेको थियो ।

अत्यधिक चिसो बढेपछि दैनिक मजदुरी गर्ने बर्ग र झुपडीमा बास रहेको अब्यवस्थित मुक्तकमैया, सुकम्बासीलगायतका परिवार प्रभावित भएका छन् । ‘न्यानो लगाउने, ओछ्याउने र ओढ्ने नभएर आगो तापेर बस्ने दिन सुरु भएका छन्’ धनगढी पुरानो एअरपोर्ट मुक्त कमैया शिविरका दुखीराम चौधरीले भने,‘चिसोले गर्दा दिनमा मजदुरी गर्न पनि गाहृो भएको छ ।’

त्यस्तैं, मनिरा शिविरका देवीलाल डंगौराले पनि रात काटनका लागि दाउरा खोज्नु परेको बताए । ‘स्थानीय सरकार भन्नेले हामी गरिवका लागि दाउरा र मुडाको ब्यवस्था मिलाइ दिए हाम्रा हिउँदको चिसोबाट जोगिन्थ्यौ होला ’उनले भने, ‘कस्ले ध्यान दिन्छ र ?’ उनले अहिले दाउरा खरिद गरेर बाल्न नसकिने अवस्था रहेको बताए । ‘दाउरा पाउननै मुश्किल भएको छ’ उनले भने, ‘पाए पनि महंगो छ, दिन मजदुरी गरेर छाक टार्ने परिवारले दाउरा किनेर बाल्न सक्ने स्थिती हुँदैंन । ’

रिक्सा चलाएर, बजारमा अन्य सरसफाई तथा भरियाको काम गरेर जीवन धान्नेका लागि चिसो मौसम अत्यन्तैं खराब भएको उनले बताए । ‘चिसोमा काम गर्न मुस्किल हुन्छ’ उनले भने, ‘बिहान ११ बजेसम्म काम गर्न सकिदैंन ।’ उनले अत्यधिक चिसो बढेपछि काम पनि कम गर्न सकिने , काम पनि नपाउने भएकोले साँझ बिहानको छाक टार्नका लागि समेत आम्दानी गर्न नसकिने भएको बताए ।

पुष १ गतेदेखि हुस्सु लाग्ने र दिउँसो १२ बजेसम्म घाम पनि लाग्न छोडेको छ । यसले स्कुले बालबालिकाहर समेत प्रभावित भएका छन । चिसोले बालबालिका मात्रैं होइन बुढापाका र गर्भवती महिलालाई समेत असर पर्ने गरेको छ । चिसो बढेपछि निमोनिया, रुघाखोकीका बिरामी समेत बढन थालेका छन । चिसोले गर्दा बालबालिकाहरूको टाउको दुख्ने, झाडापखलाको समस्या समेत न्म्तिाउने गरेको धनगढी स्वास्थ्य शाखाका कृष्ण बोहराले बताए ।

प्रकाशित : पुस ५, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय उत्पादन बन्द, बिजुली किनेर उपभोक्तालाई

सिम्रुतुखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली ४ महिना पनि बलेन 
हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकास्थित सिम्रुतुखोला लघु जलविद्युत् आयोजनाले आफैं विद्युत् उत्पादन नगरी नेपाल विद्युत् प्राधिकरणको बिजुली किनेर उपभोक्तालाई वितरण गरेको छ । आयोजनाको पावरहाउसस्थित मेसिनमा खराबी आएपछि प्राधिकरणको केन्द्रीय लाइनको बिजुली किनेर उपभोक्तालाई वितरण गरेको हो ।

सिम्रुतुखोला विद्युत् आयोजनाको निर्माण सहकारीमार्फत भएको थियो । २ सय किलोवाट क्षमताको पावरहाउस बिग्रिएपछि प्राधिकरणको बिजुली किनेर बेचिरहेको छ । जसका कारण त्रिवेणी गाउँपालिकाका अधिकांश वडा र मुसीकोट नगरपालिकाका ११ र १२ नम्बर वडाका उपभोक्ताले प्राधिकरणको विद्युत् सोझै नपाएका हुन् । सहकारीले १ हजार १ सय घरमा मिटरबक्स जडान गरेको छ ।

सहकारीले आयोजनाको तार, पोल र मिटरबक्समा प्राधिकरणको विद्युत् जडान गरेको हो । सिम्रुतुखोलाबाट उत्पादित बिजुली ४ महिना पनि बलेन । त्यसपछि प्राधिकरणसँग विद्युत् किनेर वितरण गरिएको हो । आयोजनाले विद्युत् प्राधिकरणलाई हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसा एकमुष्ट भुक्तानी गर्ने सम्झौता गरेको छ । उपभोक्ताबाट भने सबै समयमा ८ रुपैयाँ ४० पैसा महसुल लिने गरेको सहकारीले जनाएको छ ।आयोजना निर्माणका क्रममा स्थानीय उपभोक्ताले घरघरैबाट नगद पनि संकलन गरेका थिए । सबै घरधुरीले केही समय श्रमदान पनि गरे । उक्त आयोजनाले सबै घरमा स्मार्ट मिटर जडान गरिदएको छ ।

यसबाट महँगो महसुल उठ्ने गरेको स्थानीय छवि ओलीले बताए । ‘हामीले आयोजनामा नगद पनि हालेका छौं,’ उनले भने, ‘केके बाहानामा समितिले महँगो शुल्क लिने गरेको छ ।’ रिचार्ज गरेर विद्युत् बाल्नुपर्ने भएपछि महिना नपुग्दै रिचार्ज सकिने र विद्युत् लाइन काटिने समस्याबाट स्थानीयवासी आजित छन् । विद्युत आयोजनाको सञ्चालक सहकारीका व्यवस्थापक मनबहादुर चन्दले भने आयोजनाले उपभोक्तालाई सहुलियतमै सहज सेवा दिन प्रयास गरिरहेको बताए ।

विद्युत् आयोजना निर्माणको जिम्मा लिएको गौरा कन्स्ट्रक्सनले आयोजना हस्तान्तरण गरिनसकेको र आयोजना निर्माण गर्दा बैंकबाट लिइएको ऋण तिरिनसकेकाले स्थानीयस्तरमा विद्युत् उत्पादन गर्न समस्या भएको उनको भनाइ छ । उनका अनुसार स्मार्ट मिटर बक्सले भुक्तानी गरेको नगद रहुञ्जेलसम्म मात्रै बिजुली बल्ने नत्र लाइन कटिने हुनाले उपभोक्तामा शंका पैदा भएको हो ।

सहकारीका अनुसार आयोजनामा अहिलेसम्म झन्डै १० करोड रुपैयाँ खर्च भएको छ । आयोजना निर्माणका लागि प्रतिघरधुरी १५ देखि ३० हजार रुपैयाँ संकलन गरिएको थियो । स्थानीयले २ करोड बढीको श्रमदान गरेका थिए । नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले यो सम्झौता प्राधिकरणले केन्द्रमै गरेकाले आफूलाई धेरै थाहा नभएको बताए ।

‘समितिले विद्युत् कसरी वितरण गरिरहेको छ, उपभोक्ता के कति छन् भन्नेसँग खासै सम्बन्ध हुन्न,’ उनले भने, ‘बलेको युनिटको सम्झौता अनुसारका महशुल हामीले लिने गरेका छौं ।’ उनका अनुसार अहिले प्राधिकरणले जिल्लाभरि विद्युत् विस्तारलाई प्राथमिकता दिएको छ । ६ वटै स्थानीय तहमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : पुस ५, २०७८ ११:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×