कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव बेचविखनविरुद्ध सहकार्य

कञ्चनपुर — भारतीय बाटो हुँदै संयुक्त अरब इमिरेट्स लगिँदै गरेका ८ महिलालाई दुई वर्षअघि भारत उत्तराखण्डको रुद्रपुरबाट उद्धार गरियो । रुद्रपुर प्रहरीले उद्धार गरेका उनीहरूलाई माइती नेपालले नेपाल ल्याएर आफन्तको जिम्मा लगायो । सिन्धुपाल्चोक, धादिङ र नुवाकोटका ती महिलालाई घरबाटै ल्याउने १ महिलासहित ३ दलाललाई नियन्त्रणमा लिएर रुद्रपुर प्रहरीले मुद्दा चलायो । अहिले उनीहरू रुद्रपुर कारगारमै छन् ।

एक महिनाअघि भारत उत्तराखण्डको राजधानी देहरादूनबाट बझाङका दुई बालकको उद्धार गरियो । हरिद्वार प्रहरी र देहरादूनको ‘इम्पावरिङ पिपल्स’ नामक गैरसरकारी संस्थाको सहयोगमा उनीहरूको उद्धार भएको हो ।

आफन्तले देहरादूनमै गएर ८ र १० वर्षका ती वालकलाई घर फिर्ता ल्याए । उनीहरूलाई घरबाट ललाइफकाई लगेर होटलमा भाँडा माझ्ने काममा लगाइएको थियो ।

भारतमा हुने मानव बेचविखनका घटना हुन् वा बाल मजदुर उनीहरूको उद्धारमा भारतीय प्रहरी र गैरसरकारी संघसंस्थाहरूले पनि राम्रै गरी साथ र सहयोग गर्दै आएका छन् । यस्तो सहयोग भारतका ठूल्ठूला सहरहरू दिल्ली, मुम्बई, बैंग्लोर, कलकत्ता पञ्जावका विभिन्न सहरलगायतका क्षेत्रमा हुने उद्धारका क्रममा पनि देखिन्छ ।

नेपाल–भारत सीमा क्षेत्रमा अवैध नाकाहरूबाट दलालहरूले महिला र बालबालिकाहरूलाई नाका कटाउने गरेका छन् । भारतीय सीमा सुरक्षाबल र प्रहरीको सहयोगमा थुप्रै महिला र बालबालिकालाई फिर्ता पठाइएको छ । दुवैतर्फका सुरक्षा निकाय र संघसंस्थाबीचको समन्वयले सहज बनाएको हो ।

महेन्द्रनगरमा अघिल्लो साता सम्पन्न भएको छलफलमा दुवैतर्फका सीमा क्षेत्रका सुरक्षा निकाय र मानव बेचविखनविरुद्ध कार्यरत संघसंस्थाहरूले पनि यो सहकार्यलाई अझै बढाउँदै लैजाने र नाकामा थप सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिए । झन्डै एक दशकअघि दुवैतर्फका संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा गठन गरिएको इन्डो नेपाल जोइन्ट एक्सन फोरम (इन्जाफ) लाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए ।

‘खुला सीमा हुँदा कुनै एक देश वा एक पक्षले मात्रै केही गरेर यो अपराध रोकिने देखिँदैन,’ माइती नेपाल कञ्चनपुरले आयोजना गरेको छलफलमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भने, ‘दुवै पक्षले पूर्ण रूपमा सक्रिय भएर लाग्नुपर्छ ।’ उनले नोकरी लगाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने लोभलालच देखाएर नाका कटाउने गरेको बताए ।

‘मानव बेचविखनजस्तो जघन्य अपराध रोकथामका लागि दुवैतर्फका संघसंस्था र सरकारी निकाय चुस्तदुरुस्त रूपमा सक्रिय भएर लाग्नुपर्छ,’ छलफलमा सहभागी भारत उत्तराखण्डको चम्पावत जिल्लाका उपजिल्लाधिकारी हिमांशु कफल्डियाले भने, ‘यस्तो अपराध नियन्त्रणका लागि हामी सदैव तत्पर छौं, नेपाली पक्षसँग सहजीकरण र सहयोगका लागि पनि तयार छौं ।’ उनले दुवै पक्ष समन्वय गरेर मात्रै बेचबिखनका घटना न्यूनीकरण गर्न सकिने बताए ।

प्रकाशित : पुस १, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?