कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अझै पुगेनन् पाठ्यपुस्तक

मनोज बडू

दार्चुला — चालु शैक्षिक सत्र सुरु भएको ६ महिना बित्नै लाग्दासमेत दार्चुलाको अपी हिमाल गाउँपालिकाका विद्यालयहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यो वर्ष ढिला गरी पढाइ सुरु भएको र अहिलेसम्म पुस्तक नपाउँदा विद्यार्थीहरू मर्कामा परेका छन् ।

कोरोनाका कारण चालु शैक्षिक सत्र असारबाट सुरु भएको थियो । जिल्लाका अन्य विद्यालयमा भने असारम किताब वितरण थालिएको थियो । तर कक्षा १–१० सम्मका केही विषयका किताबहरू अझै विद्यार्थीको हातमा पुगेका छैनन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्रसिंह साउदले सप्लायर्सकै कारण ढिलाइ भएको बताए । उनका अनुसार गाउँपालिकाले गएको १५ असारमा स्थानीय कमलेशसिंह मन्याललाई पुस्तक ल्याउने जिम्मा दिएको थियो । तर, उनले समयमै किताब नल्याइदिँदा विद्यार्थीहरू मारमा परेका हुन् । गाउँपालिकाको शुर्मा भवानी आधारभूत विद्यालयमा कक्षा १, २ र ५ का मात्रै किताब पुगेका छन् । ३ र ४ का पुस्तक अझै नआएको प्रधानाध्यापक दमक बोहराले बताए ।

खण्डेश्वरी माविको कक्षा ९ मा नेपाली र अर्थशास्त्र विषयको पुस्तक अझै पुगेको छैन । ७ र ८ का नेपाली र पेशा विषयको पुस्तक नपुगेको र अन्य कक्षाहरूमा पनि केही विषयको किताब कम पुगेको प्रअ खड्क लोथ्यालले बताए । ‘विद्यालयहरूलाई नै पाठ्यपुस्तक खरिदको जिम्मेवारी दिएको भए अहिलेसम्म पुगिसक्थो,’ उनले भने ।

पालिकामा २३ विद्यालय छन् । अब १० प्रतिशत मात्रै किताब ल्याउन बाँकी रहेको मन्यालले बताए । धनगढीमै पुस्तक अभाव भएकाले ल्याउन नसकिएको उनको भनाइ छ । ‘मैले पैसा पनि १० लाख २६ हजार स्कुलबाट लिएको सत्य हो । तर, अब किताब लिने ठाउँमै पुस्तक छैन त मैले कसरी ल्याउने ?,’ उनले भने, ‘अर्डर भएअनुसार जनक शिक्षा सामग्रीले पुस्तक नदिँदा विद्यालयलाई किताब दिन बाँकी छ ।’

मन्यालले गाउँपालिकाले समयमै भुक्तानी नदिँदा समेत ढिलाइ भएको आरोप लगाए । गाउँपालिकाको शिक्षा शाखाबाट असार १४ पछि मात्रै भुक्तानी पाएको उनको भनाइ छ । शाखाले भने असारमै विद्यालयको खातामा पैसा जम्मा गरेको स्पष्ट पारेको छ । अभिभावक लक्ष्मण रोकायाले सरोकारवालाले समयमै ध्यान नदिँदा विद्यार्थीको पढाइ प्रभावित भएको बताए ।

प्रकाशित : मंसिर २८, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×