कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

किसानको पीडा : भिजेको धान बिकेन

‘सरकारले धान खरिद गर्दैन, बाहिर मोल पाइँदैन, अब त घरभित्रको धान बिग्रिने बेला भयो’
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका—८ का नानकदेव जोशीले करिब ४० क्विन्टल धान घरभित्र थन्क्याएका छन् । कात्तिक पहिलो साता भएको बेमौसमी वर्षाभन्दा अगाडि नै धान भित्र्याएका उनले अझै बिक्री गर्न सकेका छैनन् ।

किसानको पीडा : भिजेको धान बिकेन

दुई बिघा जमिन भएका उनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको खाद्य संस्थान) मा धान बिक्री गर्थे । तर यस पटक हालसम्म पनि व्यापार कम्पनी लिमिटेडले हालसम्म धान खरिद नगर्दा उनले धान घरभित्रै थन्क्याएका हुन् । ‘सरकारले धान खरिद गर्दैन, बाहिर मोल पाइँदैन,’ धान खरिदका लागि काँटा लाग्नेबारे सोधपुछ गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरको कार्यालयमा पुगेका जोशीले भने, ‘अब त घरभित्रको धान बिग्रिने बेला भयो ।’

महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा दैनिक ५/६ जना धान खरिदका बारेमा सोध्न आउँछन् । तर हालसम्म पनि धान खरिदका लागि काँटा लागेको छैन । गाउँमा धेरैको धान वर्षाले बिग्रेको छ । दागी भनेर प्रतिक्विन्टल हजार/बाह्र सयमा खरिद भइरहेको छ । ग्रामीण भेगमा व्यापारीहरूले सस्तोमा धान खरिद गरिरहेका छन् । वर्षाले भिजेको धान प्रतिक्विन्टल १२ सयदेखि १८ सय र राम्रो धान २१ सयमा खरिद भइरहेको छ,’ जोशीले भने, ‘राम्रो धानलाई पनि दागी भन्दै सस्तोमा खरिद गर्छन् ।’

कम्पनीले यसै साता धान खरिदका लागि पत्र पठाएको छ । तर स्थानीय खरिद समितिको बैठक बस्न नसकेका कारण धान खरिद सुरु हुन सकेको छैन । गत साता नै खरिद सुरु गर्ने कार्यक्रम भए पनि अझै खरिद हुन सकेको छेन । लिमिटेडका महेन्द्रनगर शाखाका निमित्त प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले बताए । उनका अनुसार १० हजार क्विन्टल धान खरिदको अनुमति माग गरे पनि ६ हजार क्विन्टल खरिदको अनुमति आएको छ ।

गत वर्ष कञ्चनपुरमा १३ हजार क्विन्टल धान खरिदको कोटा भए पनि कम्पनीले ९ हजार ४७९ क्विन्टल मात्रै खरिद गरेको थियो । यस वर्ष धानको मूल्य गत वर्षको तुलनामा वृद्धि भएर प्रतिक्विन्टल २७ सय ७२ पुगेको छ । ‘धान कस्तो आउँछ हेरेर कोटा थप गर्न सकिन्छ,’ उपाध्यायले भने, ‘अहिले पनि कृषकहरू सोधपुछका लागि आइरहेका छन्, खाद्यमा बेच्नेहरू पर्खेकै हुन्छन् ।’ कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर छ । यस वर्ष उत्पादन अझै बढ्ने अनुमान गरिएको थियो ।

बेमौसमी वर्षाले धानखेतीमा ठूलो क्षति पुर्‍याएका कारण उत्पादकत्वमा ३० प्रतिशतले ह्रास आएको छ । ‘धानखेती राम्रो थियो तर वर्षाका कारण काटेको धान खेतमै उम्रियो,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर बिष्टले भने, ‘३० प्रतिशतभन्दा बढीले धान उत्पादनमा ह्रास भएको छ ।’

कम्पनीले कञ्चनपुरमा गत वर्ष कात्तिक १७ देखि धान खरिद सुरु गरेको थियो । हरेक वर्ष मंसिरमा धान खरिद सुरु गर्ने भए पनि गत वर्ष यहाँका कृषकको दबाबका कारण कात्तिकमै सुरु भएको थियो । यस क्षेत्रका कृषकहरूले असार पहिलो साताभित्र रोपाइँ सक्ने र असोज अन्तिम तथा कात्तिक पहिलो साताभित्रै धान भित्र्याइसक्छन् । त्यही भएर यहाँ धान खरिद पनि छिटो सुरु हुनुपर्ने उपाध्याय बताउँछन् । कम्पनीले बढीमा २५ प्रतिशतसम्म चिस्यान भएको धान मात्रै खरिद गर्दै आएको छ । यस वर्ष वर्षाले जोगिएको धान पनि ढिला भित्र्याएका कराण चिस्यान बढी हुने भएकाले ढिलो नै खरिद सुरु हुने देखिन्छ । ‘धान फ्रेस नभए चामल राम्रो निस्किँदैन, खुदी बढी निस्किन्छ,’ निमित्त प्रमुख उपाध्यायले भने, ‘त्यही भएर चिस्यान बढीका १५/१६ प्रतिशत भएको मात्रै खरिद गर्छौं ।’

प्रकाशित : मंसिर १९, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×