कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेतीले बस्ती उजाड

पीडित परिवारलाई राहतभन्दा पुनर्बासको खाँचो
तृप्ति शाही

ढुंगाड, बैतडी — असोज ३१ देखि लगातार ४ दिन परेको बेमौसमी वर्षाले सेती नदीको बाढी बस्तीमा पसेर सिगास गाउँपालिका—५ को ढुंगाड बस्तीलाई उजाड बनाइदिएको छ । बस्तीको छेउमा कलकलाउँदै बग्ने सेती नदीले ढुंगाड सुन्दर देखिन्थ्यो । तर अहिले त्यही नदीले बस्तीलाई कटान गरेर कुरूप बनाएको छ । स्थानीयका घरवरिपरि बालुवा नै बालुवा छ । केही घरहरू भत्किने अवस्थामा छन् । उर्वर उत्पादन हुने त्यहाँका खेतमा पनि बालुवा भरिएको छ ।

सेतीले बस्ती उजाड

सेती नदीको बाढी पसेर उजाड बनाएको गाउँमा अब बस्न नसकिने अवस्था रहेको स्थानीयको भनाइ छ । आफूहरूलाई गाउँबाट अन्त बासस्थानका लागि सरकारले पहल गर्नुपर्ने स्थानीय टेकबहादुर चन्दले बताए । ‘हामीलाई तटबन्ध पनि चाहिएको छैन । तार जाली पनि अब त अति भयो,’ उनले भने, ‘बस्न सकिने अवस्था नै छैन । अन्त सारी दिनुपर्‍यो ।’

पटक–पटक नदी गाउँमा पसेर जीउधन नै असुरक्षित हुँदा पनि स्थानी बासिन्दाको समस्या बुझिदिने कोही नभएको यहाँका बासिन्दाको गुनासो छ । ‘अब पुनर्बासको विकल्प छैन,’ चन्दले भने, ‘सामान्य नदी किनारमा बनाएकाको तटबन्धले बस्ती जोगिन्छ भन्ने भ्रमले गर्दा आज हाम्रो बस्ती नै नदीले बगाउँदै छ ।’

स्थानीयहरूका अनुसार २०२७, २०५७ र २०६५ सालमा पनि नदीले बस्ती कटान गरी अहिले अझै क्षति पुगाएको स्थानीय बताउँछन् । आफूहरूलाई राहतभन्दा पुनर्बासको आवश्यकता रहेको उनले बताए । सबैको एउटै बोली बस्ती सानुपर्ने रहेको उनले सुनाए । बेमौसमी वर्षाले बस्तीमा सेती नदी पस्दा आफूहरू एक दिन र एक रात नदीको बीचमै थुनिएको भदै अर्का स्थानीय कर्णबहादुर चन्दले अब यहाँ बस्नै सकिने अवस्था नरहेको बताए । उनले नदीले गाउँमा बाटो बनाइसकेकोले अब फेरि वर्षा हुनासाथ आफूहरूको बिचल्ली हुने दुखेसो पोखे ।

बस्ती र खेतबारीमा सेती पसेर ठूलो क्षति भएकोले अब सरकारले आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग स्थानीय देव नागरीको थियो । पानी पर्नासाथ उठीबास हुने भएकोले बेलैमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । खेतबारी बगेका र भएकाहरूमा सिँचाइ कुलोहरू भत्काएर बनाउन नसकिने उनले बताए । आकाशमा बादल लाग्नासाथ घर छोडेर माथि डाँडामा उक्लनुपर्ने बाध्यता स्थानीयको रहेको उनले सुनाए ।

पानी पर्ना साथ सेती नदीको बाढी बस्तीका खेतमा पस्ने गरेको गजेन्द्र धामीले बताए । खेतबारी बगरमा परिणत भएको उनले बताए । के खाने र कहाँ बस्ने चिन्ता रहेको उनले सुनाए । सानोतिनो बाँधले सेतीलाई रोक्न नसकिने भएकोले बस्ती सार्नु राम्रो हुने उनको भनाइ थियो । केही समयका लागि आफूहरूलाई खानाका लागि राहतको आवश्यकता नभए पनि ३/४ महिनापछि भोकमरी हुने संकेत उनले गरे ।

हालै ढुंगाड क्षेत्रको अवलोकनमा पुगेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आफूले सम्बन्धित निकायसंँग ढुंगाडवासीको मागलाई पुगाउने विश्वास दिलाए । देशका प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूको ढुंगाड भ्रमण भइसकेको अवस्थामा आफूले सक्दो पहल गर्ने उनले बताए । उनले स्थानीयले राखेको बस्ती स्थानान्तरणको मागबारे पनि पहल गर्ने बताए । तत्काल भएका समस्याहरूको समाधानका लागि जिल्ला प्रशासन कार्यालयले पहल गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । बेमौसमी वर्षाले जिल्लाको क्षतिको विवरण संकलन भइसकेकोले आवश्यकताअनुसारको पहल र सहयोग गर्ने उनको भनाइ थियो ।

प्रकाशित : मंसिर १७, २०७८ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?