कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानलाई राहतको टुंगो छैन

‘क्षतिको त कुरै नगरौं, जति दिने हो राहत चाँडो दिए हुन्थ्यो’
अर्जुन शाह

धनगढी — डेढ महिनाअघि आएको बेमौसमी वर्षापछिको बाढीका कारण सुदूरपश्चिमका धान, अन्य बाली र पशुपन्छीमा गरी ६ अर्ब ९६ करोड ८९ लाख २६ हजार बढीको क्षति भएको प्रारम्भिक विवरण प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको छ । बाढीले वितण्डा मच्चाएका बेला प्रदेश सरकारले किसानहरूलाई राहत उपलब्ध गराउने बताए पनि हालसम्म त्यसतर्फ ठोस निर्णय गरेको छैन ।

किसानलाई राहतको टुंगो छैन

सुदूरपश्चिमभरि कुल २ लाख २ हजार ४ सय ५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमध्ये बेमौसमी वर्षापछि आएको बाढीले ८४ हजार ९१७ हेक्टर क्षेत्रफलमा क्षति भएको थियो ।

६ अर्ब ७६ करोड ३२ लाख एक हजार मूल्य बराबरको क्षति भएको मन्त्रालयले प्रारम्भिक तथ्यांक मन्त्रालयले तयार गरेको छ । मन्त्रालयका सहायक सूचना अधिकारी टिकेन्द्र कुश्मीका अनुसार धान बालीमा भएको कुल क्षतिमध्ये अन्नको भण्डार भनिने कैलालीमा सबैभन्दा बढी ६३ हजार ६ सय १० हेक्टरमा लगाइएको ४ अर्ब ६३ करोड ३४ लाख ७ हजार मूल्य बराबरको धान नष्ट भएको छ ।

यस्तै, तराइकै अर्को जिल्ला कञ्चनपुरमा १६ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा लगाइएको १ अर्ब ८१ करोड ६६ लाख ९ हजार मूल्य बराबरको पाक्नै लागेको धान बाली नष्ट भएको छ ।

आलु, मसला, तोरी र मसला बालीमा भएको क्षतिमा २२ करोड ९२ लाख ६६ हजार मूल्य बराबरको राहत प्रदान गर्न आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी २ हजार ६ सय ३३ हेक्टरमा लगाइएको आलु नष्ट भएको र त्यसमा भएको क्षतिमा ५ करोड २६ लाख ६४ हजार राहत दिन रकम आवश्यक पर्ने छ ।

यस्तै, ५ करोड ३३ लाख ३६ हजार रकम राहत उपलब्ध गराउनुपर्ने २ हजार ५ सय ६७ हेक्टरमा लगाइएको तरकारी बाली नष्ट भएको छ । ४ हजार ९ सय १६ हेक्टरमा लगाइएको तोरी बालीमा क्षति पुगेको छ । त्यसका लागि ९ करोड ८३ लाख २० हजार राहत दिन रकम आवश्यक पर्ने मन्त्रालयको भनाइ छ । २ सय ७९ हेक्टरमा लगाईको मसला बाली क्षति हुँदा ६० हजार राहत दिन रकम चाहिने कुश्मीले बताए । बमौसमी बर्षाले सुदूरपश्चिममा पशुपन्छीमा पनि करोडौंको क्षति भएको विवरण तयार गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी कुश्मीका अनुसार ३३ करोड ९६ लाख ७४० पशुपन्छीमा भएको क्षतिमा राहत प्रदान गर्न रकम आवश्यक पर्ने भएको छ । मन्त्रालयका अनुसार प्रदेशभर २२१ गाई, ५६ भैंसी, १ हजार ३६७ बाख्रा, १६६ बंगुर, ११ हजार २ सय कुखुरा फार्ममा क्षति पुगेको छ ।

प्राकृतिक विपद्बाट बाली र पशुपन्छी क्षति भएर आहत भएका किसानले राहतको अपेक्षा गर्दै आएका छन् । धनगढीको घुर्सुवाका किसान रामकमल चौधरीले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको बताए । ‘क्षतिको त कुरै नगरौं, जति दिने हो राहत चाँडो दिए हुन्थ्यो,’ उनले भने ।

मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत गोकुल प्रसाद बोहरा धान बालीमा भएको क्षतिमा संघीय सरकारले राहत उपलब्ध गराउने भनेकाले त्यस अनुसार प्रक्रियामा रहेको बताए । पशुपन्छी र अन्य बालीमा भएको क्षतिमा किसानहरूलाई राहत प्रदेश मन्त्रालयले उपलब्ध गराउने उनले जनाए ।

प्रवक्ता बोहराका अनुसार बेमौसमी वर्षापछिको बाढीबाट भएको क्षतिबाट किसानलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोड राहत कोषमा उपलब्ध गराइसकेको छ । जिल्लाबाट आएको अन्तिम सिफारिसपछि पशुपन्छी र अन्य बालीमा भएको क्षतिमा मापदण्ड अनुसारको राहत प्रदेश मन्त्रालयले उपलब्ध गराउने उनको भनाइ छ । ‘राहत मापदण्डमा न्यून रकम पाउने व्यवस्था रहेकाले सरकारले उपलब्ध गराएको रकम पुग्ने हाम्रो अनुमान छ,’ प्रवक्ता बोहराले भने ‘अब चाँडै किसानले राहत पाउने अवस्था बन्छ ।’

प्रकाशित : मंसिर १६, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?