कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ नै अन्धकारमा

बझाङ — बझाङको खप्तडछान्ना गाउँपालिका–१ गोठखोला, खातिगाउँ, मायापाटा, डाँडागाउँ र खेदावाडा गाउँ कात्तिक १ गतेदेखि अन्धकारमा छन् ।बेमौसमी वर्षासँगै जडारीगाड खोलामा आएको बाढीले २१ किलोवाट क्षमताको लद्यु जलविद्युत् आयोजनाको नहर, विद्युत्गृह र पोल बगाएपछि यहाँका २ सय ६५ परिवार ४१ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

गाउँ नै अन्धकारमा

२०६५ सालमा डेढ करोड बढीको लागतमा निर्माण गरिएको जडारीगाड मल्लो जलविद्युत् आयोजनाको बाढीले नामोनिसान मेटाएपछि यहाँका बासिन्दाहरूको उज्यालो मात्रै खोसिएको छैन, गाउँमा सञ्चालन भएका मिलहरू समेत बन्द हुँदा घट्ट पिस्नका लागि दिनभरी हिँडेर अर्को गाउँमा पुग्नु परिरहेको छ । ‘झरो (सल्लाको चिराग) बालेर बस्नु परेको छ ।

उद्योग, व्यवसाय, विद्यालय, सहकारी, स्वास्थ्य संस्थाहरूको नियमित काम पनि हुनसकेको छैन,’ जलविद्युत् आयोजना व्यवस्थापन समितिका अध्यक्ष देवीभक्त जोशीले भने ‘विद्युत् नहुँदा साह्रै सास्ती भयो ।’ उनले विद्युत्को क्षतिग्रस्त संरचनाहरू पुनर्निर्माणमा सहयोग गरिदिनका लागि गाउँपालिका र जिल्लाका धेरै कार्यालयहरूमा स्थानीयहरू धाइरहेको भएपनि समस्या समाधानका लागि कतैबाट सहयोग नभएको बताए ।

यही खोलामा बनेको जडारीगाड दोस्रो लद्यु जविद्युत् आयोजनाको अवस्था पनि त्यस्तै छ । बाढीले आयोजनाको नहर र विद्युत्गृहमा क्षति भएपछि ५२ किलोवाट क्षमताको यो विद्युत्गृह बन्द छ । विद्युत् नहुँदा थलारा गाउँपालिका—९ का राउली, लिस्ताडा, खानी, सिरेटा, चित्रु, फकाली, झ्याँबगर, मालुमेला, अफ्लाबगर, आमबगर र सेलाबगर गाउँका ४ सय ९६ परिवार अन्धकारमा छन् ।

‘मोवाइल चार्ज गर्न नपाएर गाउँबाट कतै सम्पर्क गर्न समेत सकिएको छैन । विद्यार्थीहरूको पढाइसमेत बिग्रिन थालेको छ’ आयोजनाका अध्यक्ष लोकेन्द्र विस्ष्टले भने ‘विद्युत् बनेपछि खुलेका सबै उद्योगधन्दाहरू बन्द भएका छन । वडा कार्यालयको कामकाज पनि प्रभावित भएको छ ।’ यो लद्य जलविद्युत् २ करोड १६ लाखको लागतमा निर्माण भएर २०७५ बाट सञ्चालनमा आएको थियो ।

खप्तडछान्ना र थलारा मात्रै नभएर जिल्ला भरीका ५० भन्दा बढी विद्युत आयोजनामा क्षति हुँदा यहाँका ११ वटा गाउँपालिकाका एक सय बढी गाउँ अन्धकारमा रहेको जानकारी आए पनि हालसम्म विद्युत्मा भएको क्षतिको विवरण कुनै पनि निकायले राखेका छैनन् ।

‘खप्तडछान्ना गाउँपालिकाका ११ वटा विद्युत् आयोजनामा क्षति पुगेको थियो,’ गाउँपालिकाका सुचना अधिकारी ऐन रोकायाले भने ‘केही आयोजनाहरू स्थानीयले मर्मत गरेर अस्थायी रूपमा सञ्चालन गरेको भए पनि केही सञ्चालनमा आउन सकेका छैनन् । सम्पूर्ण संरचनाहरू नै बगाएका कारण कुनै कुनै आयोजना पुनर्निर्माण गर्न पनि नसकिने अवस्था छ ।’

उनले नहर बगाएका विद्युत ्आयोजनाहरूमा स्थानीयले काठ र पाइपको प्रयोग गरेर अस्थायी रूपमा सञ्चालन गरिरहेको बताए । बझाङमा रहेका लद्यु जलविद्युत् हेर्ने बैकल्पीक ऊर्जा प्रवर्द्धन केन्द्रको प्रदेश कार्यालय पनि तीन महिनादेखि कर्मचारीविहीन छ । कार्यालय प्रमुख आसिस भट्टको सरुवा भएपछि असोज यता कार्यालयमा कुनै पनि कर्मचारी नआएको केन्द्रसँगको सहकार्यमा वैकल्पिक ऊर्जा प्रवर्द्धनमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय संस्था जीआईजेडका प्राविधिक सल्लाहकार महाभारत व्यास श्रेष्ठले बताए ।

प्रकाशित : मंसिर १३, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?