कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशन : कैलालीका अधिकांश वडामा निर्विरोध

मोहन बुडाऐर

धनगढी — क्रियाशील सदस्यता विवादले धकेलिँदै आएको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । जिल्लाका १३ स्थानीय तहका १ सय २६ वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको हो । तीमध्ये ९० भन्दा बढी वडामा निर्विरोध रूपमा समिति र क्षेत्रीय प्रतिनिधिको छनोट भइसकेको छ ।

कांग्रेस अधिवेशन : कैलालीका अधिकांश वडामा निर्विरोध

कांग्रेस जिल्ला कार्यसमिति प्रचारप्रसार समितिका संयोजक नृप सुनारले १३ स्थानीय तहका १ सय २६ वडामध्ये ९० मा वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध भएको बताए । निर्वाचन समितिका सदस्य रामचन्द्र ओझाले निर्विरोध हुन नसकेको वडामा शान्तिपूर्ण ढंगबाट निर्वाचन भइरहेको बताए । पूर्वकेन्द्रीय सदस्य तथा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, नेता गंगाबहादुर कुँवर, फकिरसिंह कठायत, जंगबहादुर साउद, बुद्धिसागर चौधरी, पूर्वजिविस सभापति नारायणदत्त मिश्र, कांग्रेस पूर्वजिल्ला सभापति गोविन्द जोशीलगायत निर्विरोध चयन भएको प्रचार समिति संयोजक सुनारले बताए ।

त्यस्तै जिल्ला सभापतिका दाबेदार घोडाघोडी नगरपालिका १ बाट भीम बडुवाल, धनगढी उपमहानगरपालिका १२ जुगेडाबाट नारायणदत्त भट्ट, गौरीगंगा नगरपालिका ४ बाट प्रकाश बम, कैलारी गाउँपालिका–८ बाट गणेश देउवा निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेसको वडा कार्यसमितिको निर्वाचनमा युवापुस्ताको बाहुल्य देखिए पनि क्षेत्रीय प्रतिनिधिमा भने पुरानै अनुहार प्रतिस्पर्धामा छन् । कांग्रेसमा क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र जिल्ला नेतृत्व छनोट गर्ने व्यवस्था छ । कैलालीका ५ वटा संघीय निर्वाचन क्षेत्रबाट करिब अढाई हजार क्षेत्रीय प्रतिनिधि शनिबार चयन भइरहेका छन् । यहाँ कात्तिक ३० गते स्थानीय तहको नेतृत्व चयन हुनेछ । मंसिर १० गते जिल्ला नेतृत्वको निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१ बाट निर्विरोध निर्वाचित प्रकाश बिष्टले अहिलेको कांग्रेसमा युवापुस्ताको प्रवेश आवश्यक भएर आफू खेलकुद क्षेत्रबाट राजनीतिमा आएको बताए । ‘कांग्रेस बूढापाकाको मात्रै बन्ने डर भयो,’ उनले भने, ‘त्यसैले आफ्नो नेतृत्वमा युवाको समिति बनाउन खोजेर निर्विरोध चयन हुँदा खुसी पनि लाग्यो ।’ उनले अर्काे अधिवेशनमा महाधिवेशन प्रतिनिधिसम्ममा युवा पठाउने गरी काम गरिने बताए ।

प्रकाशित : कार्तिक २७, २०७८ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?