कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तिहार मनाउन घर फर्किनेको नाकामा घुइँचो

भवानी भट्ट

कञ्चनपुर — तिहार नजिकिन थालेपछि भारतबाट घर फर्किनेको सीमानाकामा भीड बढ्न थालेको छ । यसरी फर्किनेमध्ये अधिकांश धान रोपाइँ सकेर पटके रोजगारीका लागि भारत पसेकाहरू हुन् । उनीहरू भारतको हिमाचल र उत्तराखण्ड राज्यको सिमला, देहरादुन, अल्मोडा, नैनीताल र पिथौरागढलगायत क्षेत्रमा कार्यरत थिए ।

तिहार मनाउन घर फर्किनेको नाकामा घुइँचो

‘दसैंमा घर आउन सकिएन, त्यतिबेला बिदा पनि पाइएन,’ कैलाली भजनीका रामप्रसाद चौधरीले भने, ‘अब भाइटीका घरमै मनाउँछौं ।’ उनी धान रोपाइँ सकेर रोजगारीका लागि सिमला पुगेका थिए । त्यहाँ सुरुमा स्याउ टिप्ने र पछि गाईबस्तुका लागि घाँस काट्ने काम गरे ।

यसअघि दसैंका लागि घर फर्केने कामदारको भीड दशमीको दिनसम्मै थियो । उनीहरू जेनतेन घरमै पुगेर टीका लगाउने उद्देश्य साथ फर्किएका थिए । उनीहरूमध्ये धेरैजसो फेरि भारत पसिसकेका छन् । पटके रोजगारीका लागि जानेहरू भने अब तिहार मनाएर गहुँ छरेपछि मात्रै फर्किन्छन् । ‘अब गहुँ छरेर मात्रै काममा फर्किने हो,’ दैलेखका चन्द्रबहादुर शाहीले भने, ‘यो पाला ढिलो गरी काममा गएकाले दसैंका लागि फर्किन सकेन, आउन जानमै खर्च बढी लाग्न थाल्यो ।’ उनी साउन अन्तिमतिर मात्रै सिमला पुगेका थिए । कोरोना महामारीका कारण झन्डै २ वर्षको अन्तरालमा मात्रै सिमला पुगेको उनले बताए ।

गड्डाचौकीस्थित हेल्प डेस्कका कर्मचारी दानबहादुर बोहराका अनुसार अहिले स्वदेश फर्किनेको संख्या दिनमै ४/५ सय जति छ । भारत पस्नेको संख्या भने एक/डेढ सय जनाको हाराहारीमा छ । कोरोना संक्रमणको जोखिम अझै कम भइसकेको छैन । यद्यपि कामको खोजीमा भारत पस्ने र घर फर्किने क्रम भने निरन्तर छ ।

भारतबाट फर्किने नेपाली कामदारलाई नाकामै एन्टिजेन परीक्षणका साथै कोरोनाविरुद्धको खोप लगाइँदै आइएको छ । संक्रमण देखिए आइसोलसन सेन्टरमा लगिने गरिएको छ । ‘धेरैजसोले त भारतमै दुवै डोज खोप लगाएको पाइएको छ,’ बोहराले भने, ‘छिटफुट मात्रै खोप नलगाएका आउँछन्, उनीहरूलाई नाकामै खोप लगाउने व्यवस्था छ ।

प्रकाशित : कार्तिक १६, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×