कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा उपचार समस्या 

वसन्तप्रताप सिंह

बझाङ — लगातारको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । एक हप्तादेखि जिल्ला अस्पताल बझाङमा विद्युत् आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो । वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा विद्युत्‌का पोल बगाएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको थियो ।

बाढीपहिरोले विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा उपचार समस्या 

केन्द्रीय लाइन अवरुद्ध भए पनि दुई सय किलोवाट क्षमताको स्थानीय सुर्मादेवी जलविद्युत् आयोजनाबाट अहिले सदरमुकाम चैनपुरमा विद्युत् आपूर्ति सञ्चालन गरिएको छ । यद्यपि सदरमुकाम नजिकै सिमखेतमा रहेको अस्पतालमा भने विद्युत् पुगेको छैन ।

विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न बिरामीको शल्यक्रिया लगायतका अक्सिजन, नेवुलाइजर, एक्सरे, भिडियो एक्स-रेजस्ता स्वास्थ्य सेवा प्रभावित भएको हो । विद्युत् सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन् समस्या भएको छ ।

दैनिक सयौंको संख्यामा बिरामीहरू अस्पताल आउने गरेको र विद्युत् नहुँदा उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख डाक्टर योगेन्द्र खातीले बताए । ‘विद्युत् सेवा अवरुद्ध भएको एक हप्ताभन्दा बढी भयो । अस्पतालमा भएको जेनेरेटर चलाएर सेवा दिई रहेका थियौं । अब त डिजेल पनि सकियो’ उनले भने, ‘बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा डिजेल अभाव छ । बाहिरबाट ल्याउन सकिने अवस्था पनि छैन । विद्युत् नहुँदा शुक्रबारदेखि अधिकांश सेवा बन्दभ एको छ । उनले सुत्केरी हुन नसकेका र बाढीपहिरोमा परेर घाइते भएकाहरू उपचारका लागि जिल्ला अस्पताल आउने गरेका र यस्ता अधिकांश विरामीहरूको शल्यक्रिया गर्नु पर्ने भएपनि विद्युत् नहुँदा समस्या भएको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणको वितरण शाखा चैनपुरले विद्युत्को खपत बढी र उत्पादन क्षमता कम हुँदा बजारमा पनि आलोपालो विद्युत् आपूर्ति गरिरहेको छ । अस्पताल लाईनमा पोल ढलेको र केही स्थानमा मर्मत गनुपर्ने भएकाले विद्युत् प्रसारण नियमित गर्न अझै समय लाग्ने वितरण शाखा चैनपुरका प्रमुख हरेन्द्र राय यादवले बताए ।

बैतडीको खोडपेदेखि चैनपुरसम्म एकसय भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाइन मर्मत गर्न समय लाग्ने देखिन्छ । डडेलधुरासम्म सडक खुलिसकेकाले अवरुद्ध विद्युत् सेवा सञ्चालनको प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?