कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्ता नपाउँदा राउटेको दसैं खल्लो

भवानी भट्ट

कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई दसैं कसरी मनाउने भन्ने चिन्ता छ । पिठो चामलसमेत सकिन लागेको छ । साँझ बिहानको छाक टार्न पनि समस्या भएकी उनलाई दसैंको चहलपहलले झनै चिन्तित बनाएको हो ।

भत्ता नपाउँदा राउटेको दसैं खल्लो

भीमदत्त नगरपालिका–९ मटेनामा बाटो छेउमै उनीहरूको बसोबास छ । यहाँ बसोबास गर्ने राउटे परिवारको आम्दानीको स्रोत सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता हो । त्यसैबाट परिवारको गुजारा चलाउने गरेको दुर्गादेवी बताउँछिन् । भत्ता पनि समयमा नपाइने भएकाले समस्या हुने गरेको उनले बताइन् ।

‘भत्ताको पैसा पिठो चामलमै ठिक्क हुन्छ, के लाउने केले दसैं मनाउने ?’ उनले भनिन्, ‘हाम्रा लागि छाक टार्न जहिल्यै गाह्रो छ । ‘१२ वर्षअघि डडेलधुराको जोगबुडा क्षेत्रको आमपानीबाट बसाइँ सरेर यहाँ आएको र दुर्गादेवीको परिवार सामुदायिक वन छेउमै बसिरहेको छ ।

‘यस वर्ष सामाजिक सुरक्षा भत्ता पनि पाइएको छैन । केन्द्रबाटै भत्ता नआएका कारण वितरण हुन नसकेको हो,’ भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले बताए । उनका अनुसार गत आर्थिक वर्षसम्म बालबालिकालाई २ हजार र युवा तथा वृद्धहरूलाई ३ हजार सामाजिक सुरक्षा भत्ता पाइन्थ्यो । यस वर्ष भत्ता बढे पनि आएको छैन । भीमदत्त नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । उक्त वडामा मटेना र खल्ला मसेट्टीमा गरेर १२ परिवार राउटेको बसोबास छ ।

दुर्गादेवीका छोरा मोहन काम खोज्दै दिल्लीसम्म पुगे । तर बोलीभाषाको समस्याका कारण दुई महिनामै फर्किए । सामान्य लेखपढसमेत नगरेका उनी अहिले गाउँमै केही ज्याला मजदुरीका काम पाए गर्छन् । काम नपाए घरमै बस्छन् । ‘योभन्दा त जंगलमै राम्रो थियो, आफ्नो पेसा गरेर गुजारा चलेको थियो,’ मोहन भन्छन्, ‘हामीलाई गाउँमा बसाएर हातखुट्टा बाँधेजस्तै भयो ।’ उनले नयाँ सीप सिक्न नसकेको र पुर्खाले गरिआएको कामसमेत गर्न नसकेको बताए ।

दुर्गादेवीका ४ छोरा, २ छोरी, दुई बुहारी र १ नातिनी गरी १० जनाको परिवार छ । उनीहरू सबै बेरोजगार छन् । आर्थिक समस्याकै कारण कान्छो छोरा मोहनको पढाइ छुट्यो । ३ कक्षासम्म मात्रै पढेका उनले नेपाली सेनामा भर्नाका लागि आवेदन दिएका छन् । ‘म पनि काम खोज्दै भारतको महाराष्ट्रसम्म पुगें,’ मटेनाकै पदम राउटेले भने, ‘बोलीभाषाकै समस्याले पाएको काम पनि छाडेर आएँ ।’ उनले गाउँमा ज्याला मजदुरीको कामसमेत नपाइने भएकाले समस्या भएको बताए ।

सांसद विकास कोष र नगरपालिकाको सहयोगमा बस्नका लागि दुईकोठे घर बनाइएको छ । तर उक्त घर बनेको जमिन पनि राउटे परिवारको नाममा छैन । सामुदायिक वनछेउमै रहेका घर कतिबेला छाड्नुपर्ने तयो पनि निश्चित छैन । पदम राउटेलाई आफ्ना पुर्खाले गर्ने कामबारे थाहा भए पनि त्यसबारे कुनै सीप छैन । काठका भाँडाकुँडा बनाउने, तिनै बिक्री गरेर घर परिवारको गुजारा चलाउने गर्थे । जंगलमा तरुल र कन्दमूल खाएरै गुजारा चल्थ्यो । तर अब पहिले जस्तो छैन । मानवबस्तीमै बसेपछि सबै परिवर्तन भएको छ । पहिलेजस्तो जंगलमा कन्दमूल पाइँदैन ।

फेरि सामुदायिक वनहरूले जंगलमा पस्न पनि दिँदैनन् । ‘हामीहरू परिवर्तन हुन चाहेर पनि सकिरहेका छैनौं,’ पदम भन्छन्, ‘सरकारले हाम्रा लागि खासै काम पनि गरिदिएन ।’ उनका अनुसार सरकारले दिने भत्ता पनि समयमा नपाउँदा गुजारा चलाउनै मुस्किल हुने गर्छ । पदम सीप सिकेर गाउँमै स्वरोजगार बन्न चाहन्छन् । तर त्यसका लागि उनीसँग न त पुँजी छ । न सरकारी कार्यालयमा पुगेर केही भन्न सक्ने क्षमता नै ।

प्रकाशित : आश्विन २५, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?