कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौनक छैन अछामका गाउँमा

मेनुका ढुंगाना

अछाम — अछामका गाउँहरूमा यतिखेर चाडपर्वको समयमा कतै चहलपहल छ भने कतै सुनसान छ । पढाइ र रोजगारीका लागि काठमाडौं, नेपालगन्ज र धनगढी गएकाहरू फर्किंदा चहलपहल बढेको छ । कोरोना संक्रमणमा घर फर्केकाहरू धमाधम कामको खोजीमा भारत जान थालेपछि गाउँघर सुनसान हुन थालेको छ । कोरोना संक्रमणपछि आर्थिक अवस्था कमजोर भएका परिवारको भारतको रोजगारी गुमेर बिचल्ली भएको छ ।

मंगलसेन नगरपालिका–५ की पार्वती विकका छोरा र श्रीमान् कामको खोजीमा भारत गएको एक महिना भयो । चाडपर्व नजिकिँदै गर्दा उनले छोरा र श्रीमान्लाई भारत नजान कर गरिरहेकी थिइन् । तर, आर्थिक अवस्था दिनप्रतिदिन कमजोर हुन थालेपछि उनी भारत पस्न बाध्य भए । ‘कोरोनाको डरले गत वर्ष घर आएका थिए । अहिले कोरोनाको संक्रमण कम भएको खबर पाएपछि फेरि उतै गइसके,’ पार्वतीले भनिन्, ‘घरमा कोही नहुँदा चाडपर्व नआए पनि हुन्थ्योजस्तो लाग्छ । घरमा जति छौं, सबैलाई एक्लो महसुस भएको छ ।’

पुरुष मात्रै होइन, पछिल्लो समयमा पुरुषसॅंगै अछामका महिलाहरू पनि रोजगारीको सिलसिलामा भारततर्फ जान थालेपछि बालबालिका र र वृद्धवृद्धा गाउॅंमा एक्लै हुन थालेका छन् । उनीहरू सहाराको खोजीमा छन् । चाडपर्वमा उनीहरू एक्लो मात्रै हुँदैनन्, न्यास्रो मान्दै दिन बिताउँछन् । खेतबारीमा उत्पादन नहुने अन्य रोजगारीका अवसर गाउॅ पाउन मुस्किल भएको भन्दै कोरानाको संक्रमणपछि महिलाहरू पनि भारततर्फ कामका लागि जान थालेका हुन् ।

छोरीको सहारामा बस्दै आएकि साँफेबगर नगरपालिका –११ डाॅडा गाउॅंकी ७६ वर्षीया धनी विक अब एक्लो कसरी बस्ने भन्ने चिन्तामा छिन् । एक मात्र छोरी भएकी धनी अब एक्लो भइन् । छोरीको घरमा बस्दै आएकी उनलाई अब सहारा पाउनै मुस्किल छ । ‘छोरी खिमा कामको खोजीमा भारत गइन् । उनका छोराछोरी गत पुसमा नै गइसके अब म एक्लो घरमा भए,’ गहभरि आँशु निकाल्दै धनीले भनिन्, ‘सन्तानको सुख सयलमा रमाउने रहर मेरो अधुरै रह्यो ।’ रातो रङमा चामल मुछ्दै छोरीको बिदाइका लागि अक्षता बनाउदासम्म उनका आँखाबाट आँसु बगिरहे । दसैंको बेला भारत जानेहरूलाई साँफेबगर बसपार्कसम्म पुर्‍याउनका लागि डाँडागाउँमा पुगेको जिपमा बिदाइ गर्दा आमा छोरी मात्र होइन अन्य यात्रुका आँखाबाट आँसु बग्दै थियो ।

सोहि गाउँकी रम्भा विकका छोरा, बुहारी, नातिनातिना सबै भारत गएका छन् । उमेरको उत्तरार्द्धमा छोराछोरी भारत लागेपछि उनी कष्टकर जीवन बिताउँदै आएकी छन् । दुई/तीन वर्षअघिसम्म खेतीपाती लगाउन दसैंको समयमा घर आउने उनका छोराबुहारी योपटक भने दसैंको बेला भारत गए ।

प्रकाशित : आश्विन २५, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?