दैनिक उपभोग्य वस्तुको भाउ बढ्यो- सुदूरपश्चिम - कान्तिपुर समाचार

दैनिक उपभोग्य वस्तुको भाउ बढ्यो

बजार भाउ बढेको गुनासो कतैबाट आएको छैन, आए तत्काल कारबाही गरिन्छ : प्रमुख जिल्ला अधिकारी
मनोज बडू

दार्चुला — दसैंमा जिल्ला सदरमुकाम खलंगाको बजारमा दैनिक उपभोग्य सामानको भाउ बढेको छ । गत वर्षको तुलनामा यसपालिको दसैंमा १० देखि २० प्रतिशत वस्तुको मूल्य थपिएको छ ।

मोटो चामल प्रतिकिलो ६० रुपैयाँ, मसिनोको ८० रुपैयाँ बिक्री भइरहेको छ । खानेतेलको २ सय ६० देखि ३ सय २० रुपैयाँ लिटरसम्म बिक्री भइरहेको छ ।

गत वर्ष दसैंमा मोटो चामल ५५, मसिनो चामल ७०, खानेतेल २ सय ४० देखि २ सय ८० रुपैयाँ थियो । अन्य दैनिक उपभोग्य वस्तुको बजार भाउ चर्को रूपमा बढेको उपभोक्ताहरू बताउँछन् । दैनिक उपभोग्य सबैजसो सामानको मूल्य थपिएको छ । सबैभन्दा बढी खानेतेलमा ५० रुपैयाँदेखि १२० रुपैयाँसम्म बढेको स्थानीय शेरसिह सामन्तले बताए । चिनीमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । चिनी प्रतिकिलो एक सय १० रुपैयाँमा खरिएको उनको भनाइ छ ।

‘यहाॅंका व्यापारीहरूलाई यतिको मूल्य बढेको भन्दा माथिबाटै सामान महँगिएको बताउँछन् । शेरसिहले भने, ‘सदरमुकाममै दैनिक उपभोग्य वस्तुको मूल्य यति धेरै बढेको छ । गाउॅंमा पसलहरूमा त ज्यादा महंगो छ ।’ यहाँबाट बोकेर लगेको हुनाले बढी मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको व्यास गाउॅंपालिका–५ का व्यापारी सुन्दरसिंह धामीले बताए । उनले नारीसम्म ट्याक्टरमा सामान ल्याइन्छ । त्यहाँबाट मान्छेबाट बोकाउनुपर्दा भाडा थपिएको र त्यसैअनुसार सामानमा वृद्धि गर्नुपर्ने बाध्यता रहेको बताए ।

बजारमा पाइने दैनिक उपभोग्य वस्तुसहित अत्यावशक वस्तुहरूको मूल्य बढाएपछि उपभोक्ता मारमा परेका छन् । सदरमुकामकै बजारमा पहिलेको तुलनामा दैनिक उपभोग्य सामान धेरै मूल्य बढेको छ । ग्रामिण भेगमा त बोकेर लैजानुपर्ने हुँदा स्वाभाविक रूपमा बढ्ने गरेको दुहुका स्थानीय दीपक जोशीले बताए । बजार मूल्यजस्तै म्याद गुज्रेका वस्तु ग्रामीण भेगका बजारमा पाइने गरेका छन् । यसमा सम्बन्धित निकायको ध्यान समयमै पुग्नुपर्ने उनको भनाइ छ । ‘तराईबाट छोटो अवधिमै उपभोग्य म्याद सकिने वस्तुहरू व्यापारीहरूले पहाडी क्षेत्रमा पठाउने गरेका छन्,’ उनले भने, ‘सदरमुकाम र सडकको पहुँच भएका व्यापारीहरू पनि त्यस्तो ग्रामीण बजारमा पठाउने गर्छन् ।’

ग्रामीण बजारमा अनुगमन कम हुने हुॅंदा व्यापारीहरू त्यस्ता सामान दूरदराजका बजारतिर पठाउँछन् । खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको थोक मूल्य बढेको दार्चुला उद्योग वाणिज्य संघका उपाध्यक्ष इन्द्रराज पन्तले बताए । ‘बजार भाउ केही मात्रामा बढेको छ,’ उनले भने, ‘यसको नियन्त्रण माथिबाट नै गर्नुपर्ने हो, तर कसैले चासो देखाएको छैन ।

प्रशासनको लिखित रूपमा बजार भाउ बढेको गुनासो नआएसम्म आखा खुल्दैन । सदरमुकामको बजारमा अनुगमन गर्छन् । असोजको सुरुमा सदरमुकाम विभिन्न पसलको अनुगमन गर्दा म्याद नाघेर वस्तु जफत गरी नष्ट गरिएको थियो । दुई व्यापारीलाई अनुगमनकै क्रममा कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् । जंक फुड र पेय पदार्थ थोरै मात्रामा उपभोग्य म्याद नाघेको भेटियो,’ उनले भनिन्, ‘बजार भाउ बढेको गुनासो कतैबाट आएको छैन । आए तत्काल कारबाही गरिन्छ ।’

स्थानीय तहहरूलाई बजार अनुगमन गर्न अनुरोध गरिएको जिल्ला प्रशासनले जनाएको छ । बजार मूल्य बढ्नुको कारण उपभोग्य वस्तु बिक्री गर्ने डिलरहरूले नै मूल्य बढाएका कारणले उपभोक्ताहरूलाई आफूले त्यही आधारमा बिक्री गर्नुपर्ने अवस्था आएको जिल्ला सदरमुकाम खलंगाका व्यापारी दीपक बडालले बताए । ‘उपभोग्य वस्तु बिक्री गर्ने डिलरहरूबाट हामी कहाॅं मूल्य बढेर सामान पुगेको छ,’ उनले भने, ‘मूल्य बढेका कारणले आजकाल उपभोक्ताहरू मूल्य किन बढेको भनेर प्रश्न गर्छन् ।’

बजार मूल्य बढेका कारणले स्थानीयस्तरमा पाइने तरकारीलगायतका वस्तुहरूको मूल्य पनि व्यापारीहरूले बढाएका छन् । स्थानीयस्तरमा उत्पादन हुने तरकारीको बजार मूल्य पनि अहिले समान्यतया प्रतिकिलोको १० देखि ४० रुपैयाँसम्म बढेको महाकाली नगरपालिकाका स्थानीय किरण जोशीले बताए । ‘सबै वस्तुको मूल्य बढेका कारणले अहिले बजारमा तरकारीको मूल्य पनि बढेको छ ।’ उनले भने, ‘आलुमै प्रतिकिलो ३०/४० रुपैयाँसम्म बढेको छ ।’

दसैं–तिहार सुरु भए पनि सस्तो पसल सञ्चालनको कुनै निकायबाट पहल हुन सकेको छैन । महँगो सामान किनेर खानुपर्ने बाध्यता छ । नोकरी भएको परिवारले जेनतेन गुजारा चलाएका छन् । आम्दानी नहुने परिवारलाइ जिउनै ग्राहो भएको जोशीको भनाइ छ ।

प्रकाशित : आश्विन २५, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

कलाकार मनोज गजुरेलले गरे बिहे

कान्तिपुर संवाददाता

काठमाडौँ — हास्य कलाकार मनोज गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् ।

मनोज गजुरेलको ४ वर्षअघि डिभोर्स भएको थियो । उनले आफूले केही वर्पदेखि बच्चाहरुको एक्लै हेरचाह गरिरहेको र जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस गरी विवाह गर्ने निर्णय लिएको बतएका छन् । गजुरेलका अनुसार मन्जु कानुन सेवाकी अधिकृत हुन् ।

'एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्‍यौं । अगाडि आईपर्ने सुख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्‍यो,' उनले लेखेका छन् ।

उनले निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्न पनि अनुरोध गरेका छन् ।

गजुरेलले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर विवहा गरेपश्चात सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएको समेत बताएका छन् ।

प्रकाशित : आश्विन २५, २०७८ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×