कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

सीमा सुरक्षाकर्मीमाथि आक्रमण, कारबाहीमा पर्दैनन् दोषी

भवानी भट्ट

काठमाडौँ — असोज पहिलो साताको सोमबार साँझ दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरमा सशस्त्र प्रहरीको टोली गस्तीमा थियो । ६ जनाको गस्ती टोली दुई समूहमा बाँडिएको थियो । भारतीय तस्करहरू आइरहेको देखेर सशस्त्र प्रहरी जवान केही अगाडि गएर झाडीमा लुकेर बसेका थिए । त्यतिकैमा अर्जुन कुमारसहितको भारतीय तस्करको टोली चिनीलगायत अन्य सामान लिएर आयो । सुनारले रोक्न खोज्दा तस्करको समूह उनीमाथि नै जाइलाग्यो । आठ जना तस्करको समूहले सुनारलाई हात र लठ्ठीले हानेर भागे । सुनारले फोन गरेर साथीहरूलाई बोलाउन पनि सकेनन् । कुटपिट भएको ५ मिनेटपछि गस्तीमा रहेका साथीहरू आए ।

सीमा सुरक्षाकर्मीमाथि आक्रमण, कारबाहीमा पर्दैनन् दोषी

सशस्त्र प्रहरीमाथि कुटपिट भएको केही दूरीमा भारतीय सुरक्षाकर्मी एसएसबीको टोली थियो । स्थानीयका अनुसार तस्करहरूको समूहलाई एसएसबीले नै भगाएका थिए । असोज पहिलो साता भएको उक्त घटनामा भारतीय सुरक्षाकर्मीले कुमारसहितको टोलीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । तर हालसम्म तस्करहरूलाई कुनै कारबाही भएको छैन ।

गत फागुनमा कञ्चनपुरकै दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा तस्करहरूकै समूहले प्रहरीमाथि फायरिङ गरेको थियो । प्रहरीले जवाफी फायरिङ गर्दा एक तस्करको घटनास्थलमै मृत्यु भएको थियो । उनलाई प्रहरीले फरार सूचीमा राखेको थियो । दुई महिनाअघि मात्रै बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा भारतीय तस्करहरूले नै नेपाली किसानाका राँगा, भैंसी चोरेर लगेका थिए । त्यतिबेला पनि सशस्त्र प्रहरीको टोलीसँग झडप नै भएको थियो । सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ८ किलोमिटर पर भारतको लग्गाबग्गा क्षेत्र नजिकैबाट ती राँगा, भैंसी फिर्ता ल्याएको थियो । ‘खुला सीमा र सबै क्षेत्रमा सुरक्षा पहुँच नहुँदा बेलाबेलामा यस्ता घटना दोहोरिइरहेका छन्,’ सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले भने, ‘ठूलो क्षेत्र भएकाले यस्ता घटना नियन्त्रणमा पनि समस्या देखिन्छ ।’ उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरेर आपसी समस्या समाधान गरिएको बताए ।

तर पछिल्लो घटनामा सुरक्षाकर्मीमाथि कुटपिट गर्ने भारतीय तस्करलाई एसएसबीले नै भगाएको थियो । दोषीहरूलाई पक्राउ गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएको भारतीय प्रहरीले समेत कुनै चासो दिएको छैन । ‘सीमा क्षेत्रमा सुरक्षाकर्मीबीच सहकार्य र समन्वय भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भने, ‘खुला सीमामा यस्ता समस्या आइरहन्छन्, आपसी समन्वयबाटै समाधान खोज्नुपर्छ ।’ उनले सुरक्षा निकायका प्रमुखहरूको काउन्टर पार्ट बैठकमा समेत यो विषयमा छलफल हुने गरेको बताए ।

कञ्चनपुरमा ब्रह्मदेवदेखि डोके बजारसम्म १२९ दशमलव ५ किलोमिटर भारतसँग सीमा जोडिएको छ । उक्त क्षेत्रमा सशस्त्रका २० बीओपी र ५ पोस्ट राखिएका छन् । भारततर्फ ३/३ किलोमिटरमा एसएसबीका पोस्टहरू भए पनि नेपालतर्फ ६/७ किलोमिटरमा बीओपीहरू छन् । यहाँ ३०/३२ वटा बीओपीहरू राख्ने लक्ष्य छ । एसएसबी र भारतीय प्रहरीको प्रतिबद्धताअनुसार तस्करहरूलाई कारबाहीका लागि दोस्रो दिन इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक भरतराज गिरी, दोधारा–चाँदनी–३ देवीस्थान बीओपीका इन्चार्ज कृष्ण बोहरा र पीडित सुनार सीमावर्ती भारतको झनकैया प्रहरी चौकी पुगेका थिए । सुनारले अर्जुनविरुद्ध झनकैया चौकीमा जाहेरी दिएका छन् । प्रहरीले अर्जुनलाई पक्राउ गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

तस्करले मात्रै होइन एसएसबीको टोली पनि बेलाबेला नेपालतर्फ पस्दा सीमा क्षेत्रमा तनाव हुने गरेको छ । लालपुर्जा भएको जमिनसमेत दशगजामा वा भारतीय क्षेत्रमा पर्ने भन्दै एसएसबीले नेपालीलाई दुःख दिंदै आएको छ । जेठमा मात्रै सुन्दरनगरमै एसएसबीले नेपाली कृषकलाई जमिन खनजोतमा अवरोध गरेका थिए ।

प्रकाशित : आश्विन २२, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?