कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गममा सुत्केरीको अकालमै मृत्यु

अझै पनि घरमै सुत्केरी हुने परम्परा, अप्ठ्यारो अवस्थाका गर्भवती र सुत्केरीलाई सरकारले उद्धार गर्छ भन्ने भएन जानकारी
मेनुका ढुंगाना

अछाम — तुर्माखाद गाउँपालिका–१ रहफकी पूर्णकला नेपालीलाई गत शुक्रबार बिहान ५ बजे सुत्केरी व्यथा लाग्यो । सदरमुकामबाट झन्डै ६५ किलोमिटर टाढाको दुर्गम दलित बस्तीमा उनी पाँचौ सन्तान जन्माइरहेकी थिइन् । व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्यचौकी पुर्‍याएकी उनको सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।

दुर्गममा सुत्केरीको अकालमै मृत्यु

यहाँ अझै पनि कोही विरामी परे सित्तिमित्ति अस्पताल लैजादैनन् । उनीहरूको प्राथमिकता धामीझाक्री र घरेलु जडिबुटीमा हुने गरेको छ । बिरामी गम्भीर अवस्थामा नपुगेसम्म स्वास्थ्य संस्था जाने विरलै हुन्छन् । पूर्णकलाको पनि अन्धविश्वासकै कारण ज्यान गुमेको स्वास्थ्यकर्मीको भनाई छ । उनका श्रीमान्को तीन महिनाअघि मृत्यु भएको थियो ।

सुत्केरी व्यथा लागेको पहिलो दिनदेखि नै उनको पेट दुख्ने र हल्का रगत बगिरहेको थियो । गर्भवती भएको ८ महिनामात्रै भएकाले परिवारले उनको पीडा र चिच्याहटलाई सामान्य रुपमा लिए । अझै पनि घरमै सुत्केरी हुने परम्परा रहेकाले उनलाई स्वास्थ्य चौकी लैजानुपर्छ भन्ने बारे कसैले सोचेनन् । न त अप्ठ्यारो अवस्थामा भएका गर्भवती र सुत्केरीलाई सरकारले उद्धार गरेर लैजान्छ भन्ने जानकारी नै भयो ।

दुर्गम गाउॅमा अझै पनि पहिले देउता मान्ने त्यसपछि स्वास्थ्य चौकी लैजाने प्रवृति छ । ‘घरमा झारफुक गरेछन्, जडिबुटी पनि खुवाएछन्,’ रहफ स्वास्थ्य चौकीकी अनमि गीता लम्सालले भनिन्, ‘स्वास्थ्य चौकी ल्याएको २० मिनेटमा उनको ज्यान गयो । घरमा हुँदा नै उनको अवस्था गम्भीर भइसकेको थियो ।‘ अनमि लम्सालका अनुसार अहिले पूर्णकलाका ३ छोरा र १ छोरी छन् ।

‘सन्तान नभएर पनि होइन, छोराकै लागि हो भनौं भने पनि ३ छोरा छन्,’ उनले भनिन्, ‘एक दम्पतीले जति सन्तान जन्माउछन्, ती सबैलाई भगवानको वरदानको रुपमा लिने चलन छ । हामीले जति सचेत गर्दा पनि मान्दैनन् ।’ महिलाको ज्यान भन्दा ठूलो देउतालाई मानेका कारण उनको अकालमा मृत्यु भएको लम्साल बताउछिन् । महिलाले बच्चा पाउने कुरा सामान्य हो भन्ने सोचाइ अझै रहेको उनको भनाइ छ ।

सरकारी प्रयास असफल

भौगोलिक विकटताका कारण समयमै सुविधा सम्पन्न अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए । उनका अनुसार यसअघि यस्ता प्रकृतिका बिरामी महिलाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर मार्फत उद्धार गरिँदै आएकोमा यो घटना समयमै जानकारी नभएकाले विकलाई बचाउन नसकिएको हो । गत आव ०७७/७८ मा जिल्लाभरका १५ गर्भवती तथा सुत्केरीको उद्धार भएको र चालु आवमा २ महिलाको एकै दिन हेलिकप्टरबाट उद्धार गरीएको प्रजिअ मल्लले बताए ।

यता स्वास्थ्य कार्यालय अछामका अनुसार गत आवमा चौरपाटी गाउँपालिका– १ सोकटी की महिला र तुर्माखााद गाउँपालिकाकी एक महिला गरी दुइ जनाको प्रसूति हुन नसकेर मृत्यु भएको थियो । कार्यालयका अनुसार गत वर्ष जिल्लामा घरमै सुत्केरी हुने महिलाको संख्या १२ प्रतिशत छ । जिल्लाभर ८१ वटा बर्थिङ सेन्टर भए पनि अधिकांश ग्रामीण महिला स्वास्थ्य सुविधा लिनबाट बञ्चित छन् । स्वास्थ्य संस्थाहरूले संकलन गरेको तथ्यांक अनुसार सुरक्षित सुत्केरी गराउनेमा बढी सहर बजारका महिला छन् । ग्रामीण भेगका अधिकांश महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

तथ्यांकले सबै गर्भवतीलाई स्वास्थ्य सेवाको पहुॅच पुर्‍याउने सरकारी प्रयास असफल भएको दखाएको छ । सरकारले सुत्केरीका लागि उपलब्ध गराउॅदै आएको यातायात खर्चभन्दा स्वास्थ्य संस्थामा लैजादा लाग्ने खर्च अधिक हुने भएकाले घरैमा बच्चा जन्माउनेको संख्या बढी देखिएको हो । भौगोलिक असुविधा र यातायात समस्याका कारण पनि जिल्लाको दुर्गम गाउॅका गर्भवतीलाई प्रसूति गराउन स्वास्थ्य संस्था लैजान कठिनाइ हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

परिवारको असहयोग

विपन्न र दलित समुदायका महिलालाई गर्भवती अवस्थामा भारी नबोक्ने, अस्पताल गएर नियमित रुपर्मा जाॅच गराउनुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूलाई परिवारबाटै सहयोग नहुने पीडित महिलाहरू बताउछन् । गर्भ बसेपछि गर्न हुने/नहुने बारे धेरै कुरा थाहा पाउन थाले पनि व्यवहारमा लागू गर्न नभएको बयालाकी एक गर्भवतीले बताइन् । ‘मलाई सबैकुरा थाहा छ, र पनि मैले घरैमा चार बच्चा जन्माए,’ ती महिलाले भनिन्, ‘परिवारका सदस्यले वास्ता नगरेपछि आफ्नोमात्र जानकारीले खासै काम नलाग्ने रहेछ ।’

अछाममा सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी भएको छैन । गर्भवती भएका बेला, सुत्केरी हुॅदा र सुत्केरी पश्चात् ६ साताभित्र गरिने विशेष सेवा नै सुरक्षित मातृत्व सेवा हो । तर यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

प्रकाशित : आश्विन २१, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?