कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय खुल्दा विद्यार्थी उत्साही

‘एक दिन भए पनि स्कुल गएर सबैलाई भेट्न पाए हुन्थ्योजस्तो लाग्थ्यो’
मेनुका ढुंगाना

अछाम — मंगलसेन नगरपालिका–५ की सुशीला शाही षोडशा मावि मंगलसेनमा कक्षा ९ मा पढ्छिन् । उनी डेढ वर्षपछि अहिले बल्ल नियमित विद्यालय जान थालेकी छिन् ।

विद्यालय खुल्दा विद्यार्थी उत्साही

कक्षा ७ पढ्दै गर्दा कोरोना संक्रमण फैलिएपछि विद्यालय बन्द भए । कक्षा ८ बाट आन्तरिक मूल्यांकन गरेर माथिल्लो कक्षामा भर्ना हुने वातावरण तयार गर्‍यो । नियमित विद्यालय जाने, नजाने बारे शिक्षक र साथीभाइलाई सोधिराख्ने सुशीला डेढ वर्षको अवधिसम्म भने निष्क्रियजस्तै भइन् ।

घरमा बस्दा दिक्क भएकी उनी विद्यालय जान हतारिएकी थिइन् । अहिले विद्यालय सञ्चालनपछि सुशीलामा उत्साह थपिएको छ । ‘कक्षा ७ मा पढ्ने बेला लकडाउन भइहाल्यो । कक्षा ८ नपढेरै पास भए’ उनले भनिन्, ‘अब यसैगरी १० कक्षासम्म पुगिन्छ होला । स्कुल गएर पढ्न पाइएलाजस्तो लागेको थिएन ।’ सुशीलाजस्तै षोडशा मावि मंगलसेनमा अध्ययनरत १३ सय विद्यार्थी विद्यालय सञ्चालन भएपछि उत्साहित देखिन्छन् ।

मंगलसेन नगरपालिका–३ की उन्नती बोगटी पनि शोडषा मावि मंगलसेनमा कक्षा ९ मा पढ्छिन् । डेढ वर्षसम्म विद्यालय बन्द हुँदा उनको नियमित काम बिहान मेलापात घाास दाउरा काट्न जाने, दिउँसो गोठालो जाने र घर फर्केपछि फेरि खाना पकाउनमै बित्यो । एकातिर विद्याालय बन्द भएर पढाइ नहुँदा भविष्यको चिन्ता अर्कोतिर बिहानदेखि साँझसम्मको घरको कामले पहिले पढेको पनि बिर्सेको उनको भनाइ छ । ‘विद्यालयका साथीहरू, खेल्ने मैदान, विद्यालय पोसाक र माथिल्लो कक्षा पढ्ने कुरालाई मैले त्यो अवधिमा एकदम धेरै सम्झे,’ लकडाउनमा घर बसेको अनुभव सुनाउँदै उनले भनिन्, ‘विद्यालय पोसाक त घरमा थन्क्याउँदा मुसाले पो काट्छ कि भन्ने पीर लाग्थ्यो । एकदिन भए पनि स्कुल गएर सबैलाई भेट्न पाए हुन्थ्योजस्तो लाग्थ्यो ।’

मंगलसेन–५ का हिक्मत भाट पनि षोडशा माविमा कक्षा ८ मा पढ्छन् । लामो अन्तरालपछि बिहान ९ बजे किताबसहितको झोला बोकेर विद्यालय आउन पाउॅंदा उनी प्रफुल्लित देखिन्छन् । विद्यालय बन्दको बेला घरमा बस्दा घरको काममा सहयोग गरे पनि दिदीबहिनीजस्तो कामको भार उनलाई परेन । दिदिबहिनीले घाॅंस, दाउरा र घरको काम गर्थे भने उनी दिउॅंसो गोठालो जान्थे । फुर्सद हुनेबित्तिकै साथीभाइसॅंग खेल्न गइहाल्थे । गाउॅंमा साथीभाइ भए पनि उनलाई विद्यालय सम्झेर न्यास्रो लागि रहन्थ्यो । ‘धेरै लामो बिदा घरमा बस्दा पहिले पढेको पनि बिर्सने, पढ्न पनि नसकिने हुॅदो रहेछ । अहिले स्कुल आउन पाउॅंदा खुसी लागेको छ ।’

अन्य जिल्लामा लकडाउनको अवधिमा अनलाइनबाट कक्षा सञ्चालन गरेर पढाइए तापनि अछाममा भने सुरुवाती दिनमा पढाउन सक्ने वैकल्पिक व्यवस्था केही थिएन । लामो समयसम्म विद्यालय बन्द हुंॅदा अभिभावक पनि चिन्तित थिए । पहिले जस्तै छोराछोरी विद्यालय जान थालेपछि मंगलसेन नगरपालिका–५ की बिस्नादेवी ढुंगाना खुसी छिन् । ‘घरमा बस्दा भनेको पनि नमान्ने । किताब पढेर बस पनि भन्न सक्ने अवस्था थिएन । छोराछोरीको भविष्य बिग्रिन्छ भन्ने चिन्ता थियो । अब त ढुक्क भइयो,’ उनले भनिन् ।

लामो समयपछि विद्यालय सञ्चालन हुॅंदा विद्यार्थर्कीो ध्यान पढाइमा ल्याउन समस्या भएको शोडषा माविका प्रधानाध्यापक मदन कुॅंवर बताउॅंछन् । ‘पहिले पढेको कुरा पनि विद्यार्थी बिर्सिएका छन् । सिकाइ उपलब्धि कमजोर नै छ । तर पनि हामी पुरानै लयमा विद्यार्थीलाई लैजाने वातावरण बनाउँदै छौं’ उनले भने, ‘लामो समयपछि विद्यालय आउन पाउँदा सबै विद्यार्थी खुसी छन् ।’ धेरै विद्यार्थी भएकाले भौतिक दूरी कायम गर्ने र स्वास्थ्यका सबै मापदण्ड पालना गर्न कठिनाइ भएको प्रधानाध्यापक कुॅंवर बताउँछन् । ‘भौतिक दूरी कायम गराउन सम्भव भएन । तर कुनै विद्यार्थीमा कोरोना भाइरसका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउने व्यवस्था गरेका छौं,’ उनले भने । विद्यालयका ४३ जना शिक्षक तथा कर्मचारी र १८ वर्षभन्दा माथिका विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएको उनले बताए ।

प्रकाशित : आश्विन १७, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?