कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलस्तर घटेसँगै सीमाबाट तस्करी बढ्यो

मोहन बुढाऐर

हसुलिया, कैलाली — नेपाल–भारत सीमामा बग्ने मोहना नदीको बहाव घटेसँगै कैलालीमा तस्करीका बाटा खुल्न थालेका छन् । बर्खा सकिएसँगै नदी जंघार तर्न सकिने भएकाले करिब एक सय किलोमिटर खुला सीमाको जुनसुकै स्थानबाट पनि तस्करको आउजाउ सम्भव भएको हो । अवैध नाका खुल्न थालेपछि दुवै देशतर्फको सीमा क्षेत्रका सुरक्षाकर्मीसँगको सेटिङ पनि नवीकरण हुन थालेको स्रोतको दाबी छ । 

जलस्तर घटेसँगै सीमाबाट तस्करी बढ्यो

धनगढीको डोकेबजारदेखि पूर्व टीकापुर खक्रौलासम्मको १ सय २ किलोमिटर लम्बाइ क्षेत्रलाई तस्कर समूहले आफ्नो क्षेत्र घोषणा गरेर स्थानीय प्रशासन र सुरक्षा निकायसँग सेटिङ मिलाउने गर्छन् ।

स्रोतका अनुसार कैलालीको टीकापुर, खक्रौला, भजनी, लालबोझी, हसुलिया, फूलबारी, धनगढीको जुगेडा र डोकेबजार क्षेत्रमा ६/७ वटा समूह तस्करीमा संलग्न छन् । टीकापुरको खक्रौला आसपासबाट तस्करी गर्ने समूहले टीकापुर प्रशासन, इलाका प्रहरी र सशस्त्र प्रहरी गणसँग सेटिङ मिलाउने गरेका छन् । भजनी लालबोझी, हसुलिया, फूलबारी र धनगढी क्षेत्रबाट तस्करी गर्ने समूहले सदरमुकामस्थित प्रहरी प्रशासन र सशस्त्रसंॅग सेटिङ मिलाउने गरेको स्रोतको दाबी छ ।

यसैगरी, भारततिर खक्रौला, भजनी, हसुलिया, फूलबारी र धनगढी क्षेत्रका तस्करी गर्ने समूहलाई सामान उपलब्ध गराउने छुट्टाछुट्टै समूह छन् । भारतीय तस्करले सीमापारि सेटिङ मिलाउने गर्छन् । धनगढीदेखि हसुलियासम्म भारतको दुधुवा राष्ट्रिय निकुञ्ज जोडिएको भए पनि सीमामा खटिएका सुरक्षाकर्मीको मिलोमतोमा भारतीय तस्करले निकुञ्जभित्र पनि तस्करी सञ्चालनमा ल्याएका जानकारले बताए । उक्त बाटोबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको छ ।

‘जसले जे अर्डर गर्छ, त्यो समान ल्याइदिन्छन्,’ एक स्थानीयले भने, ‘टीकापुर, भजनी र हसुलियाका स्थानीय बजारदेखि राजमार्गमा पर्ने लम्की चुहा, सुख्खड र धनगढीसम्मै तस्करीका बस्तु पुग्ने गरेका छन् ।’

धनगढी, जुगेडा र डोकेबजार क्षेत्रबाट चिनी सबैभन्दा बढी तस्करी हुने गरेको छ । चिनी तस्करी गराउने समूहले विपन्न वर्गका महिला र पुरुषलाई ५० किलोको एक सय रुपैयाँमा नदी पार गराउने गरेका छन् । एक दिनमा पाँच सयभन्दा बढीले साइकलको पछाडि बाँधेर चिनी भित्र्याउने गरेका छन् ।

भन्सार कार्यालय कैलालीको एक अध्ययनअनुसार पनि मासिक ४ देखि ५ करोडको चिनी भन्सार छलेर भित्रने गरेको छ । धनगढीमा हार्डवेयर, टीभी, साइकल, लत्ताकपडा, कम्प्युटर पार्टपुर्जा, इर्न्भटर, ब्याट्री, लागूऔषधलगायत वस्तु बढी चोरी तस्करी हुने गरेका छन् । हसुलिया, फूलबारी, भजनी र खक्रौलाबाट ट्र्याक्टरमा समेत तस्करी हुने गरेको छ । हार्डवेयर, मलखाद भारतबाट बढी आउँछ भने नेपालबाट सुपारी, केराउ, दाल, जडीबुटीसहित महिला तस्करीका लागि सुरक्षित नाकाका रूपमा लिने गरेका छन् ।

प्रकाशित : आश्विन १२, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?