कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामको बोझले गर्भ असुरक्षित

मेनुका ढुंगाना

अछाम — मंगलसेन नगरपालिका–७ की सरिता (नाम परिवर्तन) ले बिहे गरेको २ वर्षपछि सन्तान पाउने योजना बनाइन् । २१ वर्षीया सरिता र उनका श्रीमान् पढाइ र भविष्यको योजनाका कारण तत्काल सन्तान नजन्माउने सोचमा थिए । तर परिवारको दबाब थेग्न नसकेपछि उनीहरू पहिलो सन्तान जन्माउने योजनामा पुगे ।

कामको बोझले गर्भ असुरक्षित

‘बिहे गरेको दुई वर्षसम्म सन्तान नभएको भन्दै सासूससुरा धामीझाँक्री कहाँ जान सुरु गरिसकेका थिए,’ सरिताले भनिन्, ‘घरमा पहिलेभन्दा कामको भार बढ्न थाल्यो । मेलापातबाट ठूलो भारी बोक्नुपर्ने भयो । ८ महिना भएपछि पेटमा बच्चा नखेलेको जस्तो महसुस हुन्थ्यो । बच्चा त पेटमै मरिसकेको रहेछ ।’

श्रीमान् कामको सिलसिलामा भारत जाने गर्थे । त्यही मौकामा सासूससुराले काम बढी गर्न दबाब दिएको उनको भनाइ छ । ‘९ महिनासम्म दुःखकष्ट सहेर पेटमा बोकेको बच्चा जन्मिँदा मरेको देख्दा एक आमालाई योभन्दा बढी पीडा के होला ?’ उनले पीडा सुनाइन्, ‘स्वास्थ्य समस्या आउँदा पनि अस्पताल जान पाइँदैन । घरको काममात्रै गरेर बस्नुपर्ने बाध्यता छ ।’

साँफेबगर नगरपालिका–३ की रीता (नाम परिवर्तन) ले पनि सरिताले जस्तै पीडा भोग्नु पर्‍यो । २३ वर्षर्यीा रीताको पहिलो सन्तान गर्भमै मरेपछि उनी अझै चिन्तित छिन् । ‘पहिलो सन्तान नै गर्भमा मरेपछि साह्रै पीडा भएको छ । गर्भवती हुँदा गह्रौं भारी बोक्नुपरेको र खानपिन पनि राम्रो भएन । श्रीमान्ले दिनहुँजसो मदिरा सेवन गर्ने भएकाले मानसिक यातनाले पनि मेरो यस्तो हालत भयो,’ उनले भनिन्, ‘अस्वस्थ महसुस गरे पनि स्वास्थ्य संस्थामा समयमा जान पाइएन ।’

सरिता र रीता जस्तै गर्भमै शिशुको मृत्यु हुने र जन्मनेबित्तिकै मृत्यु हुनेको संख्या अछाममा केही वर्षयता बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १० वटै स्थानीय तह, बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेनमा जन्मेपछि तत्कालै मृत्यु हुने शिशुको संख्या अत्यधिक रहेको कार्यालयको तथ्यांक छ । आव २०७३/७४ मा जन्मेलगत्तै ५६ र गर्भमै मृत्यु हुनेको संख्या ३१ थियो । आव २०७४/७५ मा जन्मेपछि तत्कालै मृत्यु हुनेको संख्या ५४ र गर्भमै मृत्यु हुने ४६ थिए । आर्थिक वर्ष २०७५/७६ जन्मेपछि तत्कालै मृत्यु हुने ४३ र गर्भमै मृत्यु हुने ४२ र आव २०७६/७७ मा जन्मनेबित्तिकै मृत्यु हुने ४४ र गर्भमै मृत्यु हुनेको संख्या ४९ छ ।

यस्तै, गत आवमा ५९ जना जन्मेलगत्तै ५० शिशुको गर्भमै ज्यान गएको छ । स्वास्थ्य संस्थामा नवजात शिशुको मृत्युको संख्या पनि धेरै भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । २०७३/७४ देखियता जन्मेपछि तत्कालै मृत्यु हुने शिशुको संख्या र जन्मनुअघि गर्भमै मृत्यु हुने शिशुको संख्या ४ सय ७४ छ । जन्मनेबित्तिकै स्वास्थ्य संस्थामा राखेर उपचार गर्दागर्दै जन्मेको दुई महिनाभित्र मृत्यु हुने नवजात शिशुको संख्या ९२ गरी जम्मा ५ सय ६६ रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

ढिलो गरी अस्पताल आउने र त्यस्तो बेला बच्चाको गर्भमै मृत्यु हुने जोखिम बढी भएकाले अस्पतालमा मृत्यु हुने शिशुको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना बताउँछन् । ‘ढिलो गरी गर्ने निर्णय, आर्थिक अभाव, स्वास्थ्य संस्थामा औजार उपकरण तथा तालिम प्राप्त दक्ष जनशक्तिको अभाव, यातायातको साधनको अभावले समस्या बढेको छ,’ ढुंगानाले भने, ‘घरमूलीको चेतनाको अभाव वा पुरातन सोचमा परिवर्तन ल्याउन नसक्नु आदिका कारण मृत जन्म घटाउन सकिएको छैन ।’

स्थानीय तहहरूले पनि शिशु मृत्युदर घटाउन कुनै ठोस कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । ‘किशोरकिशोरीसँग प्रजनन स्वास्थ्य कार्यक्रम प्रत्येक स्कुलमा अहिले सञ्चालन भइरहेको छ । गर्भ स्याहार र मृत जन्म रोक्नेसम्बन्धी पालिकाको कुनै कार्यक्रम छैन,’ ढकारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी साउदले भनिन् । गर्भावस्थामा ख्याल गर्नुपर्ने कुरा, स्वास्थ्य जाँच र परिवारको भूमिकाका बारे समुदायमै गएर सम्झाउने गरेको मंगलसेन नगरपालिका–५ की महिला स्वास्थ्य स्वयंसेविका मथुरा ढुंगाना बताउँछिन् । ‘हामीले समुदायमा गएर गर्भवतीलाई सम्झाउने गरेका छौं । तर परिवारको साथ देखिँदैन,’ उनले भनिन्, ‘महिला आफैं पनि सचेत भएको देखिँदैन ।’

प्रकाशित : आश्विन ११, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?