कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेरी उद्योगको मनोमानी : किसानबाट खरिद गर्दा गाई र भैंसीको दूधको फरक मूल्य, बेच्दा एउटै

टीकापुर — टीकापुर क्षेत्रमा दूध उत्पादक किसान र उपभोक्ता दुवै मर्कामा छन् । दूध उत्पादक किसानबाट डेरी उद्योगले गाई र भैंसीको दूध फरकफरक मूल्यमा किने पनि उपभोक्तालाई भने गाई र भैंसीको दूध एउटै मूल्यमा बेच्ने गरेका छन् ।

डेरी उद्योगको मनोमानी : किसानबाट खरिद गर्दा गाई र भैंसीको दूधको फरक मूल्य, बेच्दा एउटै

व्यवसायीहरूले किसानबाट दूध किन्दा यसको गुणस्तर नापेर किने पनि उपभोक्तालाई भने गुणस्तर ननापेरै बिक्री गरेको उनीहरू बताउँछन् । गाईभैंसीको दाना, आहारालगायत वस्तुको मूल्य निरन्तर बढे पनि दूधको मूल्य भने नबढेकाले आफूहरू निकै मारमा परेको दूध उत्पादक किसानहरूले बताएका छन् ।

बेसी गाईभैंसी फार्मका सञ्चालक ललित थापाले डेरी व्यवसायीले ५३ रुपैयाँ प्रतिलिटरमा किनेर ८० रुपैयाँ लिटरमा दूध बेच्ने गरेको बताए । उनले भने, ‘दूध उत्पादक किसानले दूध बिक्रीबाट लागतै उठाउन नसक्ने तर बिचौलियाले क्षणभरमै ठूलो नाफा लिइरहेको अवस्था छ ।’ अहिले कम्तीमा पनि किसानले दूधको मूल्य प्रतिलिटिर ७० रुपैयाँ पाउनुपर्ने माग आफूहरूको रहेको उनले बताए ।

पशु सेवा शाखा टीकापुरका प्रमुख श्यामराज पाण्डेले दूध विक्रेताले टीकापुरमा गाईको दूध सस्तोमा किनेर भैंसीको मूल्यमा बेचेका र ६५ रुपैयाँमा प्रतिलिटर तय गरेकोमा फुटकरमा ८० रुपैयाँसम्म बेचेर उपभोक्तालाई मर्कामा पारेको सुनाए ।

शान्ति नेपाल सहकारी दूध डेरीका सञ्चालक नरेश रावलले कतिपय डेरीहरूले किसानलाई निर्धारण गरेको दूधको मूल्य पनि नदिने र यसबाट बनेका परिकारहरू पनि गुणस्तरीय नदिएको तर मूल्य भने अत्यधिक लिएको बताए । उनले भने, ‘कतिपय डेरी सञ्चालक नाफा कमाउनतिर मात्र लागेका देखिन्छ ।’ उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुरका अध्यक्ष एकीन्द्र तिमिल्सिनाले किसान र उपभोक्ता संगठित हुन नसकेका र नियमन गर्ने कार्यालय पनि सक्रिय नहुँदा बजारमा ठगी भइरहेको बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?