कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिल पहिरोले सडक अवरुद्ध

करिब ३५ वर्षदेखि वर्षा हुनेबित्तिकै निरन्तर पहिरो खस्ने गरेको छ 
मनोज बडू

दार्चुला — दार्चुलाको मार्मा गाउॅपालिका–३ रिल पहिरो भन्ने ठाउँमा फेरि पहिरो खस्दा मार्मा क्षेत्रको सडक बेला–बेला अवरुद्ध हुँदै आएको छ । सोमबार रातिको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षौंदेखि उक्त ठाउँमा पहिरो खसिरहने भएकाले त्यस क्षेत्रको नामै रिल पहिरो छ । यो पहिरोका कारण बिटुले–पारीबगड सडक खण्ड बेलाबेला अवरुद्ध हुने गरेको छ ।

रिल पहिरोले सडक अवरुद्ध

निरन्तर पहिरो खस्दा अल्लोपल्लो बस्तीमा आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । यो सडक वर्षात्मा मात्रै होईन दुई/तीन घण्टा लगातार पानी परे जुनसुकै समयमा अवरुद्ध हुन्छ । वर्षात्मा अधिकांश समय यो क्षेत्रमा आवतजावत नै ठप्प हुने स्थानीय बताउँछन् । रातिको वर्षाका कारण गएको पहिरोले सडक अवरुद्ध भएपछि यातायातका साधनहरूबीच सडकमै रोकिएका छन् ।

मार्माबाट गोकुलेश्वर आउने र गोकुलेश्वरबाट मार्मा जाने जीपहरू बीचसडकमै रोकिएको स्थानीय दिनेशबहादुर सिहले बताए । करिब ३५ वर्षदेखि वर्षा हुनेबित्तिकै निरन्तर पहिरो खस्ने गरेको छ । पहिरो आउन थालेको धेरै वर्ष भइसक्दासमेत रोकिएको छैन ।

वडाध्यक्ष पुष्करसिह बिष्टका अनुसार यहाॅको सल्लेथुम बस्ती जोखिममा छ । अहिले स्थानीय रनविरसिहं बिष्टको घर पहिरोको उच्च जोखिममा परेको छ । २०४२ सालमा आएको भूकम्पले उक्त ठाउॅमा चिरा परेको र दरारमा पानी गएपछि पहिरो आउन सुरु भएको स्थानीयले बताएका छन् । ‘पहिरो ५ सय मिटर माथिबाट सधैँ पहिरो आइरहन्छ । बर्खा लाग्यो कि पहिरो खस्ने क्रम जारी रहन्छ । लटिनाथका हर्केसिह बिष्टले भने, ‘पहिरोका कारण गाउँ नै विस्थापित भैसक्यो, अहिलेसम्म कसैले पहिरो नियन्त्रणका लागि चासो दिएको छैन ।’

पहिरोले सल्लेथुमका १२ परिवार विस्थापित भएको बिष्टले बताए । सल्लेथुम डाँडाबाट हिउँद बर्खा निरन्तर ढुंगा खस्ने क्रम जारी छ । अहिले सल्लेथुम क्षेत्रमा ४/५ परिवारको मात्र बसोबास छ । ‘पहिरो माथि घर छ, पहिरो घरसम्म पुग्न ५ मिटर मात्र बाँकी छ । बर्खामा पानी पर्‍यो कि पहिरो हेरेरै बस्नुपर्छ,’ उनले भने, ‘पटक–पटक सम्बन्धित ठाउँमा पहिरो व्यवस्थापनका लागि गुहारेकै छौं, अहिलेसम्म कहिबाट कुनै पहल भएको छैन ।’

पहिरो पन्छाएर सडक सञ्चालन गर्ने गरिएको भए पनि रिल पहिरो क्षेत्रमा निरन्तर ढुंगामाटो खसिरहेकोले नियमित यातायात सञ्चालन गर्न समस्या भइरहेको वडाअध्यक्ष बिष्टले बताए । बिटुले— पारीबगड सडकखण्डअन्तर्गत विभिन्न क्षेत्रमा पहिरो खस्ने भएकाले वर्ष्तामा निकै समस्या हुने गरेको छ । पहिरोका कारण अपिहिमाल र मार्मा गाउँपालिकाका स्थानीयहरू बेला–बेला पैदल यात्रा गर्न बाध्य छन् । टाढाबाट गएका मानिस भने बीचबाटोमै रोकिने गरेका छन् । सडक सञ्चालन भएपछि अपि र मार्माका स्थानीयहरूलाई सहज भएको भए पनि बेलाबेला सडक अवरुद्ध हुॅदा समस्या हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा चालक र यात्रुहरूले सास्ती भोग्नुपरेको छ । ठूलोस्थानीय दिपेन्द्र बिष्टले भने, ‘वर्षात्को समयमा मात्र हैन जोड्ले हावा चल्दासमेत उक्त क्षेत्रमा पहिरो खस्ने गरेको छ । पहिरोका कारण पैदल यात्रु र यातायात व्यवसायी तथा यात्रुहरूले सास्ती भोग्ने गरेका छन् ।’ गत वर्षबाट अपि हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको मकरीगाड जलविद्युत् आयोजनाले पहिरो पन्छाउने गरेको हुँदा यो वर्ष दुई/तीन दिनभन्दा बढी सडक अवरुद्ध छैन ।

ढुंगा लागेर दुई गाडीमा क्षति

मार्माको रिलपहिरो क्षेत्रमा ढुंगा खस्दा दुई वटा गाडीमा क्षति पुगेको छ । पहिरोका कारण रोकिएर राखिएका गाडीमा सडकमाथिबाट ढुंगा खस्दा बा २१ च ७२७९ नम्बरको स्कारपिओ र से १ ज ८४९ नम्बर बुलेरो जीपमा क्षति पुगेको हो । स्कारपिओ चालक कञ्चनपुरका गणेश भट्ट र बोलेरो चालक बैतडीका सन्तोष जागरी भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?