कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

‘हामीले विद्यार्थीका कमजोरी पत्ता लगाउँदै पढाइमा सहजीकरण गरिरहेका छौं’
तृप्ति शाही

बैतडी — कोरोना संक्रमण जोखिमका कारण लामो समय बन्द विद्यालय सञ्चालनमा आएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सुर्नया, डिलासैनी गाउँपालिका र दशरथचन्द, मेलौली, पाटन नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् ।

विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

पुर्चौडी नगरपालिका, सिगास र दोगडाकेदार गाउँपालिकाले भने सञ्चालनको तयारी थालेका छन् । लामो समयसम्म बन्द रहेका विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरू हौसिएर विद्यालय पुग्ने गरेका छन् । शतप्रतिशत विद्यार्थी विद्यालय आउने गरेको विद्यालयहरूले जनाएका छन् । विद्यार्थीहरूले पढाइ भने भुलेको शिक्षकहरूको अनुभव छ ।

लामो समयपछि विद्यालय पुगेका उनीहरूले पढेका कुरा भुलेर आएको पाटन नगरपालिका–९ को ज्ञानेश्वर माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । ९/१० मै पढ्ने विद्यार्थीलाई पनि आधारभूत कुराहरू सिकाउनपर्ने अवस्था रहेको उनले सुनाए । उनले भने, ‘घरायसी काम र धेरै समयसम्म विद्यालयमा अनुपस्थित हुँदा विद्यार्थीहरूले पढाइ भुलेका छन् । हामीले उनीहरूका कमजोरी पत्ता लगाउँदै पढाइमा सहजीकरण गरिरहेका छौं ।’

अगाडि पढाइएका विषयलाई अहिले फेरि सुरुबाटै पढाइरहेको सहायक प्रधानाध्यापक महराले बताए । आधारभूत कुराहरू सिकाएर कक्षा लिन सुरु गरिएको उनको भनाइ थियो । पाठ घण्टी पनि बढाएको उनले बताए । घरायसी काम र धेरै लामो समय विद्यालय आउन नपाउँदा विद्यार्थीहरू अलमलमा रहेका र धेरै विषयवस्तु भुलेर आएका उनले बताए । आइतबारबाट सञ्चालन भएको विद्यालयमा कक्षा लिन जाँदा कहाँबाट पढाउने भन्नेमै कक्षा सकिएको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीका शिक्षक भवानीदत्त भट्टले बताए । ‘कक्षामा धेरै जनालाई सोधियो २/३ जनाले मात्र भन्न सके,’ उनले भने, ‘ठूलो कक्षाकाले भन्दा सानो कक्षाका विद्यार्थीले पढेका धेरै कुराहरू बिर्सिएको पाइयो ।’ सुरुमा पढेको कुराबाटै पढाइको सुरुवात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

नियमित रूपमा विद्यालय जान नपाउँदा पढाइमा गाह्रो भइरहेको वीरेन्द्र उच्च मावि शाहीलेककी विद्यार्थी सम्झना गुरुङले बताइन् । उनले भनिन्, ‘घरमा हुँदा पढाइमा ध्यान भएन । अहिले विद्यालयमा त पढेको कुरा फेरि पढ्नु परिरहेको छ । सबै साथीहरूले पढेका कुराहरू भुलेका छन् । शिक्षकहरूले सम्झाइरहनुभएको छ । विस्तारै पुरानो अवस्थामा फर्किहाल्छौं होला ।’

विद्यालय नगएको बेला घरमा बालबालिकाहरूले पढ्नै मन नगरेपछि पढेको धेरै विषय भुलेका दशरथचन्द नगरपालिका–१० की बिना बुडालले बताइन् । उनले भनिन्, ‘मेरा दुई बच्चाले पनि पढाइ बिगारी सकेका छन् । स्कुल जान नपाउँदा यो अवस्था आयो । घरमा भनेकै मान्दैनन् ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पालिकाले निर्णय गरेर वैकल्पिक माध्यमबाट विद्यालय खोल्न सकिने परिपत्र गरेको थियो । विद्यालय खोल्दा स्वास्थ्यका मापदण्ड पूर्ण रूपले अपनाएर मात्र विद्यालय खोल्न भनेको थियो । तर जिल्लामा विद्यालय खुले पनि स्वास्थ्यका मापदण्ड अपनाइएको छैन । विद्याथीहरू बिनामास्क विद्यालय जाने गरेका छन् । विद्यालयले पनि यसको व्यवस्था गर्न सक्ने अवस्था छैन । सेनिटाइजर प्रयोग गर्ने त कुरै भएन । भौतिक दूरी पनि विद्यालयले कायम गर्न सकेका छैनन् ।

विद्यालयमा स्वास्थ्यका मापदण्ड अपनाउन सकिने अवस्थै नरहेको शिवनाथ गाउँपालिका–२ शर्मालीको नागार्जुन माविका प्रधानाध्यापक महामलसिंह धामी बताउँछन् । उनले भने, ‘पहाडमा स्वास्थ्यका मापदण्डको पालनै छैन । विद्यार्थीले सिकेकै छैनन् । विद्यालयमा सिकाउँदा–सिकाउँदा हैरान भइसकियो सम्भवै भएको छैन । विद्यार्थी धेरै छन् ।’ सुरुका केही दिन विद्यालयले मास्क वितरण गरे पनि विद्यार्थीहरूले फेरि प्रयोगमा नल्याउने गरेको उनले बताए । सधैं वितरण गर्न सकिने अवस्था पनि नरहेको उनको भनाइ थियो ।

प्रकाशित : भाद्र २८, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?