कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोमा बेपत्ता अझै फेला परेनन्

मनोज बडू

दार्चुला — गत आइतबार राति दुहु गाउँपालिका–३ र महाकाली नगरपालिका–१ को निजाङगाडमा आएको बाढीपहिरोमा परी दुई जना अझै बेपत्ता छन् । बाढी आएको भोलिपल्ट बिहानैबाट बेपत्ताको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

निजाङ बस्तीका बेपत्ता हरकसिंह कार्की र शेरसिंह कार्कीलाई अहिलेसम्म भेटाउन नसकिएको दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले बताए । सोमबार बिहानै घट्ट गएको अवस्थामा कार्की दाजुभाइलाई बाढीले बेपत्ता पारेको र खोजतलास गर्दा फेला पार्न सकिएको छैन । राति आएको बाढी र पहिरोमा परी दुहु गाउँपालिका र महाकाली नगरपालिकाका तीन जनाको मृत्यु हुनुका साथै सयौंको संख्यामा घरबारविहीन हुन पुगेका छन् ।

दुहुका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीका अनुसार विभिन्न वडाका ५० घर पूर्ण क्षति र १ सय ५० घरमा बाढीले क्षति गर्दा बस्न लायक छैन । वडा नम्बर १, २, ३ र ५ का अधिकांश घर पहिरोले भत्काएको हो । घर भत्किएर जोखिममा परेका बस्तीमध्ये अफरे, नरोलीलगायतका स्थानीयलाई गौरिलमाडौं मावि हिकिलामा राखिएको उनले बताए ।

बाढीपहिरोमा परी विस्थापित भएका हिकिलास्थित विद्यालय भवनमा आश्रय लिइरहेका ४२ परिवारलाई वडा नम्बर २ का वडाध्यक्ष गोविन्दसिंह डडालले खाद्यान्नको व्यवस्था गरेका छन् । वडा नम्बर ५ को सुत्खोला, सिमार, थाम, चिनाडी, घोप्ट्या क्षेत्रका परिवारलाई सोमनाथ आधारभूत विद्यालयको भवनमा राखिएको छ ।

बाढी र पहिरोले क्षति पुर्‍याएको बस्तीमा जानसमेत बाटो छैन । ‘गाउँभरि जताततै पहिरो खसिरहेको छ,’ अध्यक्ष कार्कीले भने । एक गाउँबाट अर्को बस्तीमा जानलाई बाटो छैन दुहु ५ वडामा सबैभन्दा बढी जोखिम छ । गाउँपालिका र स्थानीय श्रम शिविर लगाएर बिहीबारदेखि बाटो खोल्ने काम थालिएको अध्यक्ष कार्की भनाइ छ ।

बाढीले गाउँपालिकाभित्रका सातवटा झोलुंगे पुल बगाएको छ । झोलुंगे पुल बगाएको ठाउँमा काठे पुल लगाउने तयारी भइरहेको छ । गुना आधारभूत विद्यालय जोखिममा छ । अन्दाजी दुई हजार रोपनीसम्म खेतबारी बाढीपहिरोले लगेको छ । सबै वडाका खानेपानीका पाइप बगाउँदा पानीको समस्या भइरहेको अध्यक्ष कार्कीले बताए । आइतबार राति दुहु गाउँपालिकाको २ र ५ वडाको कालागाड तटीय क्षेत्र तथा दुहु–३ र महाकाली नगरपालिका–१ नाजाँको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीपहिरोबाट विस्थापित परिवार अहिले विद्यालय र सडकमा आश्रय लिइरहेका छन् । केही नजिकका गाउँले र आफन्तको घरमा बस्न बाध्य भएका छन् ।

नरोली, गुना, दुल्लालगायतका बाढीपहिरोपीडित ४२ परिवारलाई गौरिलमाडौं माध्यमिक विद्यालय हिकिलामा राखिएको दुहु गाउँपालिकाका प्रवक्ता गोविन्दसिंह डडालले बताए । सुत्खोला, सिमार, थाम, चिनाडी, घोप्ट्या क्षेत्रका परिवार सोमनाथ आधारभूत विद्यालयको भवन र सुर्खेतबाट ल्याएको ८० थान त्रिपाल थाम गाडामा टाँगेर बसेका छन् ।

प्रकाशित : भाद्र २०, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?