कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बेसहारालाई उपचारमा आर्थिक अभाव

उपचारमा सहयोग गर्ने आफन्तसमेत छैनन्
कान्तिपुर संवाददाता

बझाङ — सानो आन्द्रामा समस्या भएर सिकिस्त भएकी एक बेसहारा महिलालाई उपचारमा समस्या भएको छ । तत्काल शल्यक्रिया नगरे ज्यानै जान सक्ने जोखिममा रहेकी बझाङको तल्कोट गाउँपालिका–२ ढुगानाकी २६ वर्षीया उजली ऐडीको उपचारमा आर्थिक अभाव भएको हो । 

बेसहारालाई उपचारमा आर्थिक अभाव

सानो आन्द्रामा अवरोध भएर बुधबार जिल्ला अस्पताल भर्ना भएकी उजलीलाई त्यहाँ उपचार हुन नसकेपछि धनगढी पठाइएको थियो । उनी ८ वर्षको छँदा आमाको मृत्यु भएको र १४ वर्षको उमेरमा बुबाको पनि मृत्यु भएपछि पूर्ण रूपमा बेसहारा छिन् । पिठ्युँको भाग कुप्रो परेकी उनी शारीरिक रूपमा अपांगतासमेत भएकी हुन् । गाउँमा छरछिमेकीको गाईबाख्रा चराउने र घाँसदाउरा गरेर जीविका चलाउँदै आएकी उनको उपचारमा सहयोग गर्ने आफन्तसमेत छैनन् ।

‘तत्काल अप्रेसन नभए आन्द्रामा प्वाल पर्ने सम्भावना छ । आन्द्रा फुट्यो भने शरीरभरि संक्रमण फैलिएर ज्यानै जान सक्ने खतरा छ,’ जिल्ला अस्पतालका डाक्टर योगेन्द्र खातीले भने, ‘उनको उपचारका लागि कुरुवा बस्ने मान्छे पनि रहेनछन् । सिकिस्त भएपछि कसले ल्याएर जिल्ला अस्पताल पुर्‍याइदिएको रहेछ ।’ डाक्टर खातीले उनको जिल्लामा उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले चन्दा उठाएर उजलालाई हवाईजहाजमार्फत धनगढी पठाएको बताए ।

अहिले उनको प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनको स्वास्थ्य समस्या निदान गर्ने काम गरिरहेको उजलाको साथमा रहेकी उनकै गाउँले पार्वती ऐडीले बताइन् । धनगढीमा उपचार सम्भव नभए उनलाई अन्यत्रै लैजानुपर्ने अवस्था रहेको र उनलाई उपचार खर्च र सहयोगीको आवश्यकता परेको उनको भनाइ छ ।

‘अन्त उपचार गर्न लैजानुपर्‍यो भने खर्च कसरी जुटाउने भनेर चिन्तामा छौं,’ पार्वतीले भनिन्, ‘खर्च मात्रै होइन, लामो समय अस्पताल बस्नुपर्ने भयो भने उनलाई सहयोगीको पनि खाँचो छ । उनलाई सहयोग गर्ने कोही छैनन्’ धनगढीमा रहेका बझाङका राकेश सिंह, नरेन्द्र खड्कालगायतले उजलाको उपचारमा सहयोग गरिरहेको भए पनि ठूलो खर्च गर्नुपर्‍यो भने जुटाउन असम्भव जस्तै रहेको उनले बताइन् । आमाबुबा र सहोदर दिदीको मृत्युपछि उजला बेसहारा भएकी हुन् । घरमा सौतेनी आमा छन् । उजला गाउँ–गाउँ डुलेर जीविका चलाइरहेकी थिइन् । उनलाई सहयोग गर्ने एक जना सौतेनी भाइ भए पनि उनी भारतमा रहेकाले उजलाको उपचार र हेरचाह गर्न समस्या भएको पार्वतीले बताइन् ।

प्रकाशित : श्रावण २२, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?