कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारीमा नमुना बन्दै सैनगाउँ

१५ दिनमै सय क्विन्टल गोलभेंडा बजारमा, भारत गएकाहरु खेती गर्न गाउँ फर्किन थाले
वसन्तप्रताप सिंह

बझाङ — भारतको बेंग्लोरमा मजदुरी गर्न गएका बझाङको दुर्गाथली–५ सैनगाउँका करजोग जप्रेल एक साताअघि घर फर्केका छन् । सानै उमेरदेखि भारतमा मजदुरी गर्दै आएका जप्रेल अब भने गाउँ मै केही गर्ने सोचसहित घर फर्किएका हुन् ।

तरकारीमा नमुना बन्दै सैनगाउँ

उनलाई गाउँमै पसिना बगाए भारतको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भनेर विश्वास दिलाउने उनकै श्रीमती भागरथी जप्रेल हुन् । श्रीमतीले तरकारी खेती गरेर आफूले भन्दा राम्रो कमाइ गर्न थालेपछि मजदुरी छोडेर गाउँमै पौरख गर्ने सोच बनाएको उनले बताए ।

‘यता कमाइ गर्ने मेसो नपाएर पो इन्डिया गएको हुँ । गाउँमै काम गरेर रोजीरोटी चल्छ भने परदेशको मजदुरी गर्ने रहर कसलाई हुन्छ र ?’ उनले भने, ‘गाउँमै यस्तो राम्रो सागसब्जी फलाउन सकिने रहेछ । अव यतै पसिना बगाइन्छ । यतै रमाइन्छ ।’ भागरथीले आफ्नो र अन्य छिमेकीको बारीमा फलेको तरकारीको रहरलाग्दा तस्बिर र भिडियो पठाइदिएपछि गाउँमा पनि गरे त हुने रहेछ नि भन्ने सोचेर भारतबाट फर्किएको उनको भनाइ छ ।

सैनगाउँकै सुर्मा देवी रोकायाका श्रीमान् जहरी पनि अब गाउँ फर्किने तरखरमा छन् । एक वर्षदेखि भारतमा मजदुरी गरिरहेका श्रीमान्लाई यतै पनि भारतमा भन्दा राम्रो कमाइ गर्न सकिने भएकोले गाउँ फर्किन मनाएको सुर्माले बताइन् । ‘इन्डिया गएको वर्ष दिन भइसक्यो । उनले २०/३० हजार पनि पठाएका छैनन्,’ सुर्माले भनिन्, ‘मैले यहाँ तरकारी बेचेर ३ महिनामै २ लाख जति कमाइ सकें । अब अर्काको गुलामी जन अर (नगर), घर आउ भनेकी छु । भदौमा घर आउन्या हुन् ।’ सुर्माले तरकारी खेतीबाट राम्रै आम्दानी हुन थालेपछि श्रीमान्लाई पनि बोलाउने र जग्गा पनि बढाउने योजना बनाएको सुनाइन् ।

भागिरथी र सुर्माजस्तै सैनगाउँका ५५ परिवारको आम्दानीको गतिलो स्रोत तरकारी खेती हुन थालेको छ । २ वर्ष पहिलासम्म तरकारीको अभावमा नुनखुर्सानीसँग रोटी खानु पर्ने बाध्यतामा रहेका सैनगाउँबासीले फलाएको तरकारी अहिले छिमेकका दुर्गाथली र छविस पाथीभेरा गाउँपालिकाका अलावा अन्य क्षेत्रमा समेत खपत हुन थालेको छ । सैनगाउँमा फलेको गोलभेंडा, भेडेखुर्सानी, काँक्रा, तितेकरेलालगायत तरकारी अहिले गाउँपालिकाभन्दा २३ किलोमिटर दक्षिणको बागथला बजारदेखि २० किलोमिटर उत्तरमा पर्ने सदरमुकाम चैनपुर बजारसम्म पुग्न थालेको सुर्माले बताइन् । जैविक मलको प्रयोग गरी उच्च पहाडी भेगमा फलेको र नगण्य मात्रामा रासायनिक विषादीहरूको प्रयोग भएको तरकारीको माग बढी र मूल्य पनि आयातित तरकारीको भन्दा धेरै हुन थालेपछि सैनगाउँका स्थानीयहरू व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका हुन् ।

गत वर्ष कृषि ज्ञान केन्द्रले यहाँका किसानहरूलाई आधुनिक प्रविधिक तालिम तथा उपकरण सहयोग गरेको थियो । जसका कारण उत्पादन पहिलेको भन्दा दोब्बर हुन थालेको किसानहरू बताउँछन् । मुख्यमन्त्री कृिष आधुनिकीकरण परियोजनाअन्तर्गत फलामे ट्रस्टसहितका प्लास्टिक घर, उन्नत बीउविजन, तरकारी खेतीसम्बन्धी तालिम र प्राविधिक सहयोग पाएपछि बेमौसमी तरकारी उत्पादन थालेको नमुना कृषि गाउँ दुर्गाथलीकी अध्यक्षसमेत रहेकी अगुवा किसान माया जप्रेलले बताइन् ।

‘यो वर्ष त हामी नै छक्क पर्ने गरी तरकारी फल्यो । बेमौसममा पनि यति राम्रो तरकारी फल्छ होला भनेर पत्याएका थिएनौं,’ उनले भनिन्, ‘तरिका नजानेर र उपकरण नपाएर मात्रै पछि परेका रहेछौं । जान्यो भने त यहीं सुन फल्ने रहेछ नी ।’ किसान समूहअर्न्तगत अहिलेसम्म यो गाउँका ५५ परिवारले व्यावसायिक तरकारी खेतीबाट आम्दानी लिन थालेको र यो वर्षबाट गाउँका सबैजसोले तरकारी खेतीको सुरुवात गरेका उनले दाबी गरिन् । ‘यताका बजारमा खपत नभएर गाडीका गाडी तरकारी बाहिर पठाउन थालेपछि अरू पनि तरकारी खेती गर्न लोभिएका छन् ।

सैनगाउँका किसानले व्यावसायिक तरकारी खेतीमा चमत्कार गरेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । उनका अनुसार मलिलो र उब्जाउ माटो, मिहिनेती किसान र आधुनिक प्रविधिको संयोजनका कारण जिल्लाको अन्य क्षेत्रमा गरिएको खेतीको तुलनामा यहाँको उत्पादन राम्रो छ ।

प्रकाशित : श्रावण २१, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?