कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च शिक्षामा बढ्दै लगानी

सुदूरपश्चिमबाट अध्ययनका लागि काठमाडौं वा भारत जाने विद्यार्थीलाई आफ्नै ठाउँमा सहज र सस्तोमा शिक्षा प्रदान गर्नु सञ्चालकहरुको उद्देश्य 
अर्जुन शाह

धनगढी — ‘शैक्षिक हब’ का रूपमा स्थापना भएको धनगढी पछिल्लो समय निजी क्षेत्रका लागि पनि लगानीको आकर्षक तथा रोजाइको क्षेत्रमध्ये शिक्षा क्षेत्र पनि प्राथमिकता देखिएको छ ।

उच्च शिक्षामा बढ्दै लगानी

सुदूरपश्चिममा उच्च शिक्षा आर्जनका लागि ३२ वर्षअघि स्थापित कैलाली बहुमुखी क्याम्पसले ढोका खोलेको हो । पछिल्लो एक दशकयता गाउँगाउँमा ‘प्लस टु’ सञ्चानलमा आए । जिल्ला जिल्लामा धमाधम क्याम्पसहरू खुले ।

यसै क्रममा निजी क्षेत्रले पनि बर्सेनि करोडौं रकम शिक्षा क्षेत्रमा लगानी गरिरहेको छ । करिब १८ करोड लगानीमा स्थापित नेपाल वेस्टर्न म्यानेजमेन्ट एन्ड इन्जिनियरिङ कलेज गुरुपूर्णिामाका अवसर पारेर धनगढीमा सञ्चालनमा ल्याइएको छ । यसअघि प्लस टुसम्म सञ्चालनमा रहेको उक्त कलेजले पोखरा विश्वविद्यालयसँग आबद्धता लिएर स्नातक तहको बीबीएबीआई र बीएचएम अध्यापन सुरु गरेको छ । कलेज स्थापनाको मुख्य उद्देश्य सुदूरपश्चिमबाट अध्ययनका लागि काठमाडौं वा भारत जाने विद्यार्थीहरूलाई आफ्नै ठाउँमा सहज र सस्तोमा समायानुकूल शिक्षा प्रदान गर्नु रहेको सञ्चालक शैलेश सिंहले बताए ।

धनगढीकै व्यवसायीहरूको सक्रियतामा करिब १२ करोडको लगानीमा स्थापना भएको वाल्मीकि इन्टरनेसनल स्कुल दुई महिनाअघि सञ्चालनमा आएको छ । ४० जनाको साझेदारीमा स्थापना भएको उक्त विद्यालयले पहिलो वर्ष १० कक्षासम्म अध्यापन गराउन थालेको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशराज भण्डारी भन्छन्, ‘काठमाडौं वा भारतको नैनीताल, देहरादून वा अन्य सहरहरूमा उपलब्ध हुने गुणस्तरीय शिक्षा धनगढीमै उपलब्ध गराउने उद्देश्यले विद्यालयको स्थापना गरेका हौं,’ भण्डारीले भने, ‘सुदूरपश्चिमबाट एक वर्षमा कम्तीमा दुई हजार विद्यार्थी भारतको नैनीताल, देहरादूनलगायतका सहरमा माध्यमिक शिक्षाका लागि जाने गरेको आकडा छ ।’

भण्डारीका अनुसार अभिभावकहरूले ती विद्यार्थीलाई बाध्यताले बाहिर पठाउने गरेका हुन् । ‘नाम चलेका ठाउँमा महँगो शुल्क तिरेर पाउने लेभलको शिक्षा यहीं पाइने भए भारत पठाउने कुरै हुँदैन ।’ बाहिर पठाएर लाग्ने खर्चभन्दा न्यून रकममा धनगढीमै अझ उत्कृष्ट शिक्षा प्रदान गर्न लागिएको उनको भनाइ छ ।

प्लस टु पूरा गरेपछि उच्च शिक्षातर्फ यस क्षेत्रका विद्यार्थीहरूको आकर्षण पनि सबैभन्दा धेरै व्यवस्थापन संकायतर्फ देखिएको छ । ‘व्यवस्थापन संकायतर्फ नै विद्यार्थीहरूको सबैभन्दा धेरै आकर्षण देखिएको छ,’ कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. राजेन्द्रवीर चन्द भन्छन्, ‘ग्रामीण क्षेत्रसम्म बैंक तथा वित्तीय संस्थाहरू स्थापना हुन थालेपछि विद्यार्थीहरूले तत्काल व्यवस्थापन संकायतर्फ नै आफ्नो भविष्य देखेका हुन् ।’

व्यवस्थापन संकायमै पनि विभिन्न शैक्षिक संस्थाहरूले प्रोफेसनल कोर्सहरू सञ्चालनमा ल्याएको डा. चन्दले बताए । बीबीएस, बीबीए, बीबीएबीआई अध्ययन गर्ने विद्यार्थीको संख्या बाक्लो छ । अन्य विषयको अध्ययनभन्दा केही सस्तो पनि हुने भएकाले पनि सजिलो भएको उनको भनाइ छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट उच्च शिक्षा अध्ययनका लागि धनगढी आउने विद्यार्थीहरूको पहिलो रोजाइ व्यवस्थापन संकाय नै हुने गरेको विद्यार्थीहरू बताउँछन् । ‘इन्जिनियरिङ र मेडिसिनमा भर्ना पाउने सम्भावना छैन र आर्थिक स्रोतले पनि पुग्दैन,’ बझाङबाट उच्च शिक्षाका लागि धनगढी आएका प्रेमबहादुर थापाले भने, ‘अलि सस्तो पनि हुने र जागिर पनि पाउन सजिलो होला भने बीबीए पढ्दै छु ।’

होटल म्यानेजमेन्ट संकायतर्फ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या पनि बढ्दै गएको शिक्षाकर्मीहरू बताउँछन् । ‘यहाँको विकासको मेरुदण्ड नै पर्यटन विकास भएकाले ढिलोचाँडो यस क्षेत्रमा पनि ठूला लगानीका होटलहरू सञ्चालन हुने निश्चित छ,’ नेपाल वेस्टर्न म्यानेजमेन्ट एन्ड इन्जिनियरिङ कलेजका सञ्चालक शैलेश सिंह भन्छन्, ‘त्यसैले होटल म्यानेजमेन्टको जनशक्ति खेर जाने सम्भावना नदेखिएको हो ।’ तर कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक चन्द भने कुन क्षेत्रमा उत्पादित शैक्षिक जनशक्तिको खपत हुने सम्भावना प्रबल भन्ने भन्ने अध्ययन हुनैपर्नेमा जोड दिन्छन् ।

पछिल्लो समयमा यहाँका विद्यार्थीमा पनि अध्ययनको रुचि फेरिएको छ । आर्थिक अवस्था र माध्यमिक तहसम्मको शिक्षामा कमजोर जगका कारण उच्च शिक्षामा कमैले मात्र रोजेको विषय पढ्न पाएका छन् । तुलनात्मक रूपमा सस्तो मानिएको ब्यवस्थापन संकायभित्र नयाँ कोर्सहरू बीबीए, बीबीएम, बीएचएम, बीआईमा विद्यार्थीहरूको आकर्षण देखिन्छ ।

त्यसैमा पनि निश्चित कोटा हुने भएकाले इच्छुक जति सबैले भर्ना भने पाएका छैनन् । कृषि, कम्प्युटर साइन्सलगायत प्राविधिक विषयतर्फ पनि विद्यार्थीको अकार्षण उत्तिकै रहेको शिक्षाकर्मीहरू बताउँछन् ।

आर्थिक हिसाबले नधान्ने विद्यार्थीहरूले भने बीबीए, बीबीएबीआई, बीबीएस, रोज्छन् । ४ वर्षे बीबीए वा अन्य प्राविधिक स्नातक तहका लागि ४ लाख हाराहारीमा शुल्क तिर्नुपर्ने हुन्छ । बीबीएबीआई स्नातक तह पूरा गर्न वेस्टर्नमा ३ लाख ६० हजार रुपैयाँ लाग्ने सञ्चालक सिंहले बताए । सुदूरपश्चिम विश्वविद्यालयमा गइसकेपछि कैलाली बहुमुखीमा बीबीए कोर्स सस्तो भएको सहप्राध्यापक चन्दले बताए । हाल सुदूरपश्चिममा शिक्षा क्याम्पस डडेलधुरा, डोटी क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरू हुन् । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिक हुने क्याम्पसको संख्या पनि वृद्धि भइरहेको छ ।

पछिल्लो समय धनगढी क्षेत्रमा स्नातक तह अध्यापन गराउने सरकारी तथा निजी गरी ८ वटा कलेज सञ्चालनमा छन् । निजी क्षेत्रबाट नास्ट, नेपाल वेस्टर्न एकेडेमी, एसपीए, जयमालिका बहुमुखी क्याम्पस, पश्चिम सेती क्याम्पस गरी ५ वटा छन् । यस्तै, सरकारीबाट कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी क्याम्पस र ऐश्वर्य बहुमुखी क्याम्पसले उच्च शिक्षा अध्यापन गराइरहेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएपछि कैलाली बहुमुखी क्याम्पसलगायत हरेक जिल्लामा आंगिक क्याम्पस स्थापना भएका छन् । यसले जिल्लामै सर्वसुलभ रूपमा उच्च शिक्षा प्राप्त गर्न सहज भएको छ । योसँगै गेटा मेडिकल कलेज सञ्चालनको तयारीमा छ । पूर्वाधार तयार भइसकेको गेटा मेडिकल कलेजमा चिकित्साशास्त्रको अध्यापन सुरु भएपछि सुदूरपश्चिमको शिक्षा क्षेत्रले फड्को मार्ने यहाँका शिक्षाकर्मीहरू बताउँछन् ।

प्रकाशित : श्रावण १७, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?