कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच दशकदेखि रोकिएन पहिरो

आँटी र झुल्चौरा बस्तीका ७ परिवार विस्थापित हुने क्रममा
मनोज बडू

दार्चुला — २०२८ सालमा व्यास गाउँपालिका–४ स्थित मडगाउँमा पहिरो आउन सुरु भएको हो । उक्त ठाउँमा ५० वर्षदेखि निरन्तर पहिरो आइरहेको स्थानीयले बताएका छन् । अहिले मडगाउँसँगै आँटी र झुल्चौरा बस्ती पहिरोको उच्च जोखिममा छन् । 

पाँच दशकदेखि रोकिएन पहिरो

स्थानीय गोविन्द भुलका अनुसार २०२८ देखिको पहिरो रोकिएको छैन । पहिरोको जोखिममा रहेको मडगाउँ उतिबेला नै विस्थापित भइसकेको थियो । अहिले पहिरोले आँटी र झुल्चौरा बस्तीका ७ परिवार विस्थापित हुने क्रममा छन् । उनले भने, ‘आँगनको डिलसम्म पहिरो पुगिसकेको छ । पानी परेको दिन रातिको समयमा नसुतेर पहिरो खस्ने त्रासमा जागाराम बस्नुपरेको छ ।

२०५२ सम्म निरन्तर पहिरो आइरहेको र अहिले कहिलेकाहीं पहिरो आउने गरेको छ । अहिलेसम्म २२ घरधुरीहरू पहिरोमा परिसकेका छन् । तीन बस्तीका दर्जनौं घर पहिरोको उच्च जोखिममा रहेका झुल्चौराका जयराम भुलले बताए । ‘योसँगै २०३९ र ४० सालदेखि पहिरोले ठूलो रूप लिन सुरु गरेको हो । अझै रोकिएको छैन,’ उनले भने, ‘पहिरो नियन्त्रणबारे सरकारले खासै चासो नदिँदा लामो समयदेखि जोखिममा बस्दै आएका छौँ ।’ वर्षौंदेखि निरन्तर बर्खायाममा गाउँसम्मै पहिरो जान थालेपछि यहाँका बस्तीहरू असुरक्षित भएको उनको भनाइ छ ।

यो क्षेत्रमा पहिरो आउने क्रम नरोकिएपछि बस्ती छोडेर अन्यत्र जाने विस्थापित परिवारको संख्या बढ्दै गएको छ । ‘घर खेत पहिरोले कटान गरिसकेपछि आफन्त र गाउँलेहरूको जमिनमा सानो अस्थायी घरहरू बनाएर बसेका छौँ,’ सोही ठाउँका देवराम कामीले भने, ‘खेत सबै पहिरोले लगेपछि मजदुरी र ऋण सापटी गरेर परिवारको गुजारा चलाउँदै आएका छौँ ।’

स्थानीयस्तरमा मजदुरी नपाएपछि भारतीय क्षेत्रमा गएर दैनिक ज्यालादारीमा काम खोज्दै घरखर्च जुटाउनुपरेको उनले बताए । रोजगारीका लागि भारत गएको अवस्थामा पहिरोको जोखिममा रहेका घरपरिवारको चिन्ताले सताउने गरेको देवरामले बताए ।

पहिरो नरोकिए घरजग्गा कटान भएर यही बर्खासम्म विस्थापित हुने डर लागेको आँटीका गंगादत्त भट्टले भने । २०५० देखि ५२ सालसम्म ठूलै पहिरो खस्ने गरेको थियो । त्यसपछि केही रोकिएको र अहिले पहिरो खस्ने क्रम जारी रहेको उनले बताए । पुरानो बस्तीनजिकै पहिरो खस्ने गरेकोले त्यहाँका अधिकांश घरपरिवार अन्यत्र सरेको उनले बताए । ‘बस्तीमुनि र साइडमा पहिरो गएको छ,’ उनले भने, ‘२०४८ सालबाटै नबस भन्दाभन्दै बसेका थियौं, हाल आएर उठीबास हुने भयो ।’

सरकारले २०४८/०४९ सालमा पहिराबाट घरखेत गुमाएका परिवारलाई अन्यत्र बसोबास गराउन तत्कालीन गाविसले लगत संकलन गरी २२ घरधुरीको स्थानान्तरणका लागि लगत पठाएको थियो । उनीहरूको अन्यत्र स्थानान्तरण भएन । पछि २०५४ मा तिनै २२ परिवारको घरजग्गा पहिरोले लगेका थियो । गाविसले जोखिममा रहेका परिवारसमेत गरेर ६२ घरपरिवारको लगत केन्द्रमा पठाएपछि संख्या बढी भएको भन्दै स्थानान्तरण नभएको स्थानीय हरकसिंह विष्टले बताए ।

तत्कालीन स्थानीय निकायले सही लगत संकलन गरी नपठाउँदा अहिले पनि आफूहरूले जोखिममै बस्नुपरेको देवरामले बताए । ‘हामीलाई ज्यानको बाजी राखेर बस्नु मन छैन तर हामीलाई सरकारले व्यवस्थित ढंगले बसोबासको व्यवस्था गर्नुपर्‍यो,’ उनले भने, ‘हामीले गरिखाने खेतदेखि सबै जेजति भए पनि सम्पत्ति हाम्रो यहीं छ, अन्त गएपछि के गरेर खानु भन्ने चिन्ता छ ।’

भूगर्भविद्ले उक्त बस्तीमा जुनसुकै बेला पहिरो जान सक्ने भन्दै स्थानीयलाई सुरक्षित ठाउँमा सर्न उतिबेलै सुझाव दिएको विष्टले बताए । सही लगत नपाएको हुनाले अहिले पनि यहाँका बासिन्दाको सुरक्षित ठाउँमा स्थानान्तरण हुन सकेको छैन । उनीहरू जोखिम मोलेरै यही बसिरहेका छन् ।

गत आर्थिक वर्षमा पहिरो रोकथामका लागि भनेर भू–संरक्षण कार्यालय बैतडीले २५ लाखको कार्यक्रम सञ्चालन गरेको थियो । जुन ठाउँको बस्ती पहिरोको उच्च जोखिममा छ, त्यो ठाउँ छाडेर बाटो तथा खेत संरक्षणका लागि तारजालीमा बजेट खर्च गरेको स्थानीय मदनराम कामीले बताए । अहिले व्यास गाउँपालिकाले मडगाउँ पहिरो नियन्त्रणका लागि गुरुयोजना तयार गरेर डीपीआर बनाएको जनाएको छ ।

प्रकाशित : श्रावण १५, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?