कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तर्सिन्छिन् पीडित बालिका

आरोपितलाई अदालतले ५० हजार धरौटीमा छाडेपछि पीडित परिवारमा तनाव
मोहन शाही

डोटी — वयस्क पुरुष देख्यो कि तर्सिरहन्छिन् । खाना नखाने, अबेरसम्म नसुत्नेलगायत उनको व्यवहारले परिवारै चिन्तित छ । डोटीको केआईसिंह गाउँपालिकाकी नौ वर्षीया ती बालिकाको व्यवहार असार १९ पछि असमान्य भएको हो । 

त्यो दिन उनकी आमा धान गोड्न गएकी थिइन् । गाउँभन्दा एकान्तमा रहेको घरमा उनी र उनका दुई बहिनी आँगनमा आँप काटेर खाइरहेका थिए । दिउँसो १२ बजे मदिराले लट्ठ पीडक आइपुगे । ती बालिकासँग आँप खान मागे । उनका नाबालक बहिनीहरूलाई धाराबाट पानी ल्याउन भने ।

पानी पिएपछि दुवैलाई पसलमा गई चाउचाउ खान र आफूलाई रक्सी ल्याइदिन अह्राए । नमान्दा दुवै बहिनीलाई लट्ठी देखाएर धम्काउँदै एक किलोमिटर टाढा रहेको पसलसम्म लखेटे । ‘फर्केर आएपछि मलाई एक हजारको नोट

हातमा दिँदै यौन सम्बन्ध राख्न भने,’ ती बालिकाले भनिन्, ‘मैले उनको पैसा भुइँमा फालेर गाली गरेर घर जान भन्नेबित्तिकै झम्टिन थाले ।’

उनले उम्कन कडा संघर्ष गरिन् । ‘आँगनबाट लछारपछार गर्दै धानखेतमा लगे । लुगा च्याते । मुख र छातीमा जथाभावी हिर्काए,’ उनले भनिन्, ‘कराउन खोज्दा मेरो मुख र घाँटी थिच्दा म बेहोस भइछु ।’ त्यति नै बेला उनकी ठूलीआमा घरमा आइरहेको देखेपछि धानखेतमा बेहोस छाडेर पीडक लुके । ठूलीआमासँगै उनकी आमा पनि आइपुगिन् । छोरीहरू खोज्दै कराउन लागिन् । ‘धानखेतमा बेहोस अवस्थामा रहेकी छोरीलाई छोडेर तुले भागेको देखेपछि मेरो होस हरायो, कराउँदै पछि पछि दगुरें,’ आमाले भनिन्, ‘केहीबेरपछि छोरीले घटनाबारे बताएपछि हामी छाँगाबाट खसेझैं भयौं ।’

पीडितका बाबु कामको खोजीमा भारत जान घरबाट हिँडेको केही दिन भएको थियो । दुई महिलाले गाउँलेलाई घटनाबारे बताए । २० किलोमिटर परको इलाका प्रहरी कार्यालय दिपायलको टोली आउँदा आरोपित ५० वर्षीय तुले भूल घर छाडेर लुकिसकेका थिए । निकै प्रयासपछि राति खर्कमा लुकेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गर्‍यो ।

डोटी जिल्ला अदालतको आदेशले बिहीबार ५० हजार धरौटीमा भूल छुटेको खबरपछि यतिबेला ती बालिका झन् डराएकी छन् । घटनाबारे सुनेपछि बालिकाका बाबु घर फर्केका छन् । घटनाको दिनदेखि छोरीले घरमा जान नमानेको बाबुले बताए । ‘धरौटीमा छुटेर आयो हामीलाई जे पनि गर्न सक्छ भनेपछि परिवारको सुरक्षाका लागि घर फर्कनुपर्‍यो,’ उनले भने, ‘यही घटनाले जिल्लामा दौडधुप गर्दागर्दै ऋण लागिसक्यो । न्याय पाउनुको साटो उल्टै मेरो परिवार आर्थिक र मानसिक समस्याबाट पीडित छौं ।’

अहिले उनको परिवार बाजेबज्यैको घरमा शरण लिइरहेको छ । छोरीको अवस्था अझै सामान्य नभएको आमाले बताइन् । खाना नखाने, अबेरसम्म नसुत्ने, खुलेर नबोल्ने व्यवहार गरिरहेकी छन् । आमाले भनिन्, ‘बस्ती पर एक्लो घर छ, कतिबेला के हुन्छ थाहा छैन । डरले छोरी झस्किने कराउने गरिरहन्छे ।’

अभियुक्तलाई कडा कारबाही गरेमात्रै न्याय पाएको महसुस हुने उनले बताइन् । बालिकाका बाबु भन्छन्, ‘गाउँमा पटकपटक पैसाको लोभ देखाएर मिल्नुपर्‍यो भन्ने दबाब आइरहेको छ । तर हामी त्यसलाई कानुनले दण्डित हुनुपर्ने पक्षमा छौं ।’ अदालतले तुलेलाई धरौटीमा छाडे पनि यौन दुर्व्यवहार आरोपको उक्त मुद्दाको मिसिल नहेरी केही भन्न नसकिने जिल्ला सरकारी वकिल बाबुराम भट्टराईले बताए । ‘अदालतको मिसिल मकहाँ अझै आइपुगेको छैन,’ उनले भने, ‘घटनाको मुचुल्का र पीडित पक्षको बयानका आधारमा बलात्कारको नभई यौन दुर्व्यवहारको मुद्दा चलाइएको छ ।’

प्रकाशित : श्रावण १३, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?