१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

३ लाख ३० हजारलाई खोप दिइँदै

कैलाली, कञ्चनपुर र डडेलधुरामा बुधबारदेखि तथा बैतडी र दार्चुलामा शनिबारदेखि लगाइने
सुदूरपश्चिम ब्युरो

धनगढी — सुदूरपश्चिमका विभिन्न जिल्लामा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान फेरि सञ्चालन हुन लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशले भेरोसेल र जोन्सन एन्ड जोन्सन कम्पनीका गरी करिब ३ लाख ३० हजार डोज खोप पाउने भएको हो । 

३ लाख ३० हजारलाई खोप दिइँदै

निर्देशनालयका अनुसार २ लाख डोज भेरोसेल र करिब १ लाख ३० हजार डोज जोन्सन खोपको मात्रा धनगढीबाट जिल्लामा पठाउने काम भइरहेको छ । कैलाली, कञ्चनपुर र डडेलधुरामा बुधबारदेखि खोप अभियान सुरु हुने स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । अन्य जिल्लामा पनि खोप अभियानको तयारी भइरहेको छ । विश्वविद्यालय, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायात क्षेत्रका चालक तथा सहचालक, अत्यावश्यक सेवामा कार्यरत कर्मचारी र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप दिइने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

जोन्सन एन्ड जोन्सन खोप भने ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण तथा अति अशक्त, शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पाउने भएका छन् । कैलालीमा भेरोसेलको पहिलो मात्रा ६३ हजार र जोन्सन एन्ड जोन्सनको ४८ हजार ५ सय मात्रा खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ‘बुधबारदेखि सबै पालिकामा एकैसाथ सुरु गर्दै छौं,’ धामीले भने, ‘आवश्यक तयारी गरिसकेका छौं ।’

बैतडीमा बिहीबारदेखि तेस्रो चरणको खोप जिल्लामा बुधबारसम्म पुग्ने भएको छ । खोप पुगेपछि कहिले लगाउने भन्ने टुंगो लाग्ने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले बताए । उनका अनुसार १५/१६ गतेबाट पछिल्लो चरणको खोप लगाउने तयारी भइरहेको छ । पहिलो चरणको कोभिड सिल्ड र दोस्रो चरणमा भेरोसेल खोप पाएका छन् । पहिलो मात्रा लगाउने १९ हजार बढी भए पनि दोस्रो मात्रा ६ हजार ३ सय ५ जनाले मात्र पाएका छन् ।

कञ्चनपुरमा भेरोसेलपछि जोन्सन

कञ्चनपुरमा तेस्रो चरणको खोप अभियानअन्तर्गत बुधबारदेखि भेरोसेल खोप लगाउन लागिएको छ भने त्यसपछि मात्रै जोन्सन एन्ड जोन्सनको लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबारदेखि ५५ वर्षमाथि उमेरका र यसअघि तोकिएको विभिन्न समूहका छुटेका व्यक्तिलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शिक्षक, यातायात मजदुरलगायतलाई पनि उक्त खोप दिइनेछ । कार्यालयका अनुसार बुधबारदेखि ४ दिन ३६ हजारलाई भेरोसेल खोप अभियान सञ्चालन हुनेछ । त्यसका लागि जिल्लाका ९ वटै स्थानीय तहमा ३८ बढी केन्द्र तोकिएका छन् । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार स्थानीय तहहरूमार्फत नै खोप लगाउने तयारी छ । अहिले ३६ हजार डोज खोप प्राप्त भएको छ ।

व्यासमा ३५ देखि ३९ वर्षकालाई दार्चुलामा साउन १६ गतेदेखि खोप अभियान सञ्चालन हुने कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत ५५ वर्ष उमेरमाथिको समूहकालाई भेरोसेल खोप लगाइने भए पनि व्यास गाउँपालिकाको हकमा ३५ देखि ३९ वर्ष उमेर समूहकालाई खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

दार्चुलामा भेरोसेलको १० हजार १ सय ६० डोज खोप बुधबार बेलुकीसम्म दार्चुला आइपुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार बसेको कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले साउन १६ गतेदेखि १८ गतेसम्म भेरोसेल र साउन २० गतेदेखि २२ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप लगाउने निर्णय गरेको कार्यालयले जनाएको छ ।

१ लाख ६७ हजारले पाएनन् खोप

सुदूरपश्चिममा यसअघि कोभिसिल्ड र भेरोसेलको पहिलो र दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ४२ हजार ८ सय ८३ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । तीमध्ये दोस्रो मात्रा लगाउनेको संख्या ३४ हजार ५० जना छ ।

यस्तै, यस प्रदेशमा कोभिसिल्ड पहिलो मात्रा २ लाख ५ हजार ५ सय ६ जनाले पाएका छन् । तीमध्ये ३७ हजार ९ सय ६ जनाले मात्रै दोस्रो मात्रा पाएको निर्देशनालयको तथ्यांक छ ।

प्रकाशित : श्रावण १३, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?