कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारमा सहभागी हुने तयारीमा कांग्रेस

एमालेभित्रको अन्तरसंघर्षको बैठान कुन रुपमा हुन्छ भन्नेमा मुख्य नजर
अर्जुन शाह

धनगढी — संघीय सरकार फेरबदल भएसँगै सुदूरपश्चिम प्रदेश सरकारको समीकरणमा पनि परिवर्तन हुन सक्ने आकलन गरिएको छ । नेपाली कांग्रेस सकभर प्रदेश सरकारको नेतृत्व लिन प्रयास गरिरहेको र नभए सरकारमा सामेल हुने तयारीमा छ । त्यसका लागि नेताहरूले दौडधुपसमेत बढाइसकेका छन् ।

सरकारमा सहभागी हुने तयारीमा कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहणपछि प्रदेशसम्म यसको तरंग पुगेको हो । देउवा प्रधानमन्त्री बनेसँगै संसद्बाट विश्वासको मत लिने क्रममा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र एमालेको केपी शर्मा ओली पक्ष र झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले समेत मत दिएका थिए । केन्द्रमा समीकरण फेरिएलगत्तै यसबीचमा मुख्यमन्त्री त्रिलोचन भट्ट, कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल, एमालेबाट सरकारमा सहभागी रहेका ४ जना प्रभावशाली मन्त्रीहरूले काठमाडौं पुगेर नेताहरूसँग भेटघाट गरिसकेका छन् ।

सुदूरपश्चिममा सुरुदेखि नै माओवादी केन्द्र सरकारको नेतृत्वमा छ । एमालेको खनाल–नेपाल पक्ष पनि सरकारसँगको साझेदारीमा छ । हाल मुख्यमन्त्री, भूमिसुधार, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा माओवादी केन्द्र छ भने आन्तरिक मामिला, आर्थिक योजना, सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्रालय खनाल–नेपाल समूहका नेताले सम्हालिरहेका छन् । कांग्रेस सांसद भरत खड्काले ढिलोचाँडो कांग्रेस सरकारमा सहभागी हुने बताए । ‘मुख्यमन्त्रीकै विषयमा यकिन भन्न सकिन्न, त्यो निर्क्यौल केन्द्रमा पुष्पकमल दाहाल र शेरबहादुर देउवाबीचको छलफलबाट हुने हो,’ खड्का भन्छन्, ‘एमालेको घरझगडा टुंगोमा पुग्नेबित्तिकै प्रदेश सरकारको समीकरणमा फेरबदल आइहाल्छ ।’

कांग्रेस सरकारमा सामेल भएको अवस्थामा भाडबन्डामा पनि फेरबदल हुने पक्कापक्की छ । त्यसैले धेरैको ध्यान एमालेको ‘घरझगडा’ ले कुन रूप लिन्छ भन्नेमै देखिन्छ । अहिले कांग्रेस, जसपा र एमालेको केपी ओली पक्ष प्रतिपक्षीको भूमिकामा छन् । ५२ सदस्यीय प्रदेशसभामा अहिलेसम्म सत्ता साझेदार रहेको एमालेमा सभामुखसहित २५ सांसद छन् । सभामुख तटस्थ हुने भएकाले हाल एमालेमा २४ जनामध्ये १७ जना खनाल–नेपाल पक्ष र ७ जना ओली पक्षमा खुलेका छन् । यी दुवै पक्षबीच एकता भएर एमाले एक ढिक्का भएको अवस्थामा एमाले सरकारमा रहने वा नरहने भन्नेमा नयाँ कोर्स सुरु हुने सांसदहरूको अनुमान छ ।

तर दुवै पक्षबीच मेलमिलाप नभएको अवस्थामा भने खनाल–नेपाल पक्ष सरकारमै रहिरहने सम्भावना प्रवल रहेको एमालेकै सांसद बताउँछन् । सुदूरपश्चिममा खनाल–नेपाल पक्षभित्र पनि धेरैजसो सांसदहरू केन्द्रीय उपाध्यक्ष भीम रावलनिकट रहेको एक सांसदले बताए ।

एमालेका दुवै पक्षबीच बेमेल कायम रहेमा कांग्रेससँगको साझेदारीमा खनाल–नेपाल पक्षले यो प्रदेशमा नेतृत्व पाउन सक्ने सम्भावना पनि उत्तिकै छ । ‘तर अहिल्यै केही भन्न सकिन्न,’ एमाले प्रमुख सचेतक दुर्गा विक भन्छिन्, ‘घटनाक्रम कसरी विकास हुन्छ, त्यसैमा भर पर्छ ।’ जुनसुकै अवस्थामा पनि केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको खनाल–नेपाल पक्षको समीकरण बनेकाले प्रदेशको संरचनामा पनि अब कांग्रेस सत्ताबाहिर रहने सम्भावना न्यून रहेको माओवादी केन्द्रका सांसद महेशदत्त जोशीको पनि अनुमान छ । उनी भन्छन्, ‘यसअघि नै सरकारमा जाने सुरसार गरिसकेको हो, केन्द्रको गठबन्धन फेरिएसँगै यहाँ पनि कांग्रेस सरकारमा सामेल हुने तयारीमा देखिन्छ ।’

प्रदेशसभामा प्रतिनिधित्व गर्ने जसपाका दुवै सांसद अध्यक्ष महन्त ठाकुर पक्षका छन् । जसपाको केन्द्रीय राजनीतिमा अर्का अध्यक्ष उपेन्द्र यादवको पल्ला भारी देखिएकोले यहाँका सांसदहरूको भूमिका के हुने भन्नेमा अन्योल कायमै छ । कांग्रेस नेताहरू भने सबै दलसँगको सहकार्यमा सरकार सञ्चालन हुनुपर्नेमा जोड दिइरहेका छन् । ‘एमालेको खनाल–नेपाल पक्षका सांसदसहित सबै दलको सहकार्यमा सरकार सञ्चालन हुने सम्भावना छ,’ कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने, ‘त्यही लाइनमा कुराकानी भइरहेको छ ।’ उनले प्रदेश प्रमुखहरू भने केही दिनभित्रै सातवटै प्रदेशमा परिवर्तन हुने दाबी गरे ।

मुख्यमन्त्री भट्टले गत जेठ २५ मा प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । माओवादी, कांग्रेस र जसपाको समीकरण बनेमा पनि सरकारको नेतृत्वमा माओवादी केन्द्र नै रहने सांसद जोशीको दाबी छ । उनी भन्छन्, ‘जे जस्तो अवस्थामा पनि यताको समीकरण हेर्दा माओवादीको नेतृत्व फेरिएला भन्ने लाग्दैन ।’

प्रकाशित : श्रावण १२, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?