कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला हत्याको ३ वर्ष : ‘न्याय पाउने आस छैन’

शंकास्पद केही व्यक्ति निगरानीमा छन् : प्रहरी
भवानी भट्ट

कञ्चनपुर — निर्मला पन्त हत्या घटनाको तीन वर्ष पुग्दा पनि दोषी पत्ता नलागेपछि परिवारले न्यायको आस हराएको बताएका छन् । ‘जसले जति भने पनि कसैले न्याय दिने जस्तो लाग्दैन,’ दुर्गादेवी पन्तले आक्रोशित हुँदै भनिन्, ‘मेरो पीडा बुझ्ने कोही भएन ।’ उनले प्रहरीदेखि सरकार जति परिवर्तन भए पनि न्याय पाउने आस हराएको बताइन् ।

निर्मला हत्याको ३ वर्ष : ‘न्याय पाउने आस छैन’

२०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि निर्मलाको न्यायका लागि महिला अधिकारकर्मीदेखि नागरिक समाजलगायत विभिन्न संघसंस्थाले आन्दोलन सुरु गरेका थिए । ‘मैले भनेको कसैले मानिदिएन, मेरो पीडा मसँगै छ,’ निर्मलाकी आमा दुर्गाले भनिन्, ‘अब कोही न्याय दिलाउने पनि छैन, माग्ने पनि छैन, खाली

भड्काउने मात्रै छन् ।’ घटनाको २६ औं दिन भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त–१९ बाग्फाँटाका दिलीपसिंह विष्ट नै दोषी भएको भन्दै छानबिनका लागि दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । प्रहरीले विष्टमाथि पुनः छानबिन नगरेको उनको गुनासो छ । प्रहरीले विष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन झनै चर्किएको थियो । वास्तविक अपराधी जोगाउन प्रहरीले नक्कली अपराधी खडा गरेको भन्दै स्थानीयले आन्दोलन चर्काएका थिए ।

२०७५ भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको मृत्यु भएको थियो । अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेको नेतृत्वमा अनुसन्धान चलिरहेको एसपी उमाप्रसाद चतुर्वेदीले बताए । ‘हामी इमानदार भएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले हाम्रो अनुसन्धान सही दिशामा गइरहेको छ ।’

जिल्ला प्रहरीसँगै केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीको टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको छ । ‘अनुसन्धान तार्किक निष्कर्षमा पुग्न ठोस प्रमाण प्राप्त हुन सकेको छैन,’ एसपी चतुर्वेदीले भने, ‘घटनास्थलको विश्लेषणकै आधारमा अनुसन्धान गरिरहेका छौं, हामी बलियो प्रमाणको खोजीमा छौं ।’ उनले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखिएको बताए । निर्मला प्रकरणमा सडकदेखि संसद्सम्म आवाज उठेको थियो । नेपाली कांग्रेसका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले तत्कालीन सरकारले अपराधी जोगाउन खोजेको आरोप लगाउने गरेका थिए । अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । तर निर्मलाकी आमा दुर्गादेवी सरकार परिवर्तन भए पनि न्याय पाउने आस मरिसकेको बताउँछिन् ।

‘अनुसन्धानकै लागि कति एसपी, डीएसपी फेरिए,’ उनले भनिन्, ‘अहिले सरकार फेरिएको छ, हाम्रै क्षेत्रका नेता प्रधानमन्त्री भएका छन्, तर न्याय पाउँछु भन्ने आस छैन ।’

प्रकाशित : श्रावण १०, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?