महिला जनप्रतिनिधिद्वारा जिम्मेवारी नपाएको गुनासो- सुदूरपश्चिम - कान्तिपुर समाचार

महिला जनप्रतिनिधिद्वारा जिम्मेवारी नपाएको गुनासो

मेनुका ढुंगाना

अछाम — अधिकांश नगरपालिकाका उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षमा महिला छन् । अनिवार्य रूपमा हरेक वडामा एक महिला र एक दलित महिला सदस्य छन् । तर, अधिकांश महिला सदस्यको कार्यकाल कुनै जिम्मेवारी नै नपाएर सकिन लागेको छ । 

अछामको मंगलसेन नगरपालिकाको नगरसभामा महिला वडा सदस्य । तस्बिर : मेनुका/कान्तिपुर

वडा सदस्यमा निर्वाचित महिलाहरू अझै पनि नागरिकका अगाडि ढुक्कले आफ्नो परिचय दिन सक्ने भएका छैनन् । उनीहरू वडा समितिका बैठकमा जाने, अध्यक्षले भनेको ठाउँमा हस्ताक्षर गर्ने र ताली बजाउने काममा सीमित छन् । नागरिकको अवस्था बदल्न निर्वाचित भएका महिला जनप्रतिनिधिले आफ्नै नेतृत्व विकास गर्न नसकेकाले बेखुस देखिन्छन् । ‘केही पढेलेखेको छैन हजुर । अध्यक्षले बोलाएपछि जान्छु । उनले जे भन्यो त्यही गर्छु,’ अछामको मंगलसेन नगरपालिका–१४ की वडा सदस्य मीना तिरुवा भन्छिन्, ‘चार मान्छेका अगाडि गएर बोल्न अझै पनि सकेको छैन । बोल्दा केही बिग्रन्छ कि जस्तो लाग्छ ।’ उनले ‘महिला दिदीबहिनीले जिताएर पठायौं हामीलाई योजना दिनुपर्‍यो भनेर आउने भए पनि कस्ता योजना दिने कसरी दिने आफूलाई केही थाहा नभएको’ बताइन् ।

सम्पूर्ण वडाका दलित महिलाको प्रतिनिधित्व गरेकी मीना आफैंले बोल्न नसक्नुलाई आफ्नै कमजोरी ठान्छिन् । ‘अलि पढेलेखेको भए सबैले पत्याउँथे । आफैं केही थाहा पाउन सक्दिनँ अरूलाई दोष दिने ठाउँ छैन,’ उनले भनिन्, ‘छुवाछूत हटाउन पर्‍यो, भेदभाव हटाउन लाग्नुपर्‍यो भन्छन्, तर बैठकमा बोल्ने बेला कसरी बोल्ने, भेउ नै पाउँदिनँ ।’

मंगलसेन नगरपालिका–३ की वडा सदस्य सरस्वती टमटा चुनाव जितेपछि आफूमा केही परिवर्तन आए पनि नागरिकको गुनासोको सम्बोधन गर्न नसकिएको बताउँछिन् । ‘पहिले मान्छेका अगाडि जान पनि लाज लाग्थ्यो । आफ्ना कुरा राख्न कहिल्यै सकिएन । तर अहिले आफ्ना कुरा राख्न सक्ने भएकी छु,’ उनले भनिन्, ‘वडा समितिको बैठकमा कुरा त राख्छौं । तर कसैले सुन्दैनन् । जति कराए पनि अन्तमा आफ्नै निर्णय लागू गर्छन् ।’

पञ्चदेवल विनायक नगरपालिका–४ की वडा सदस्य हरिकला विष्ट वडा समितिको बैठकमा आफ्ना कुरा नसुन्दासम्म बोलिरहने भएकाले आफ्ना एजेन्डा समेटिने गरेको अनुभव सुनाउँछिन् । ‘धेरै त होइन, ५ कक्षासम्म पढेकी छु । वडा सदस्य हुनु पहिले पनि साविकका गाविसमा महिलाका लागि आउने कार्यक्रममा चासो राख्थें । त्यसैले अहिले पनि भन्न, बोल्न सहज भएको छ,’ उनले भनिन्, ‘जता पनि भन्न बोल्न सक्नेले मात्रै हो मौका पाउने, हामीले नबोल्ने हो भने ताली बजाएरै बस्नुपर्ने हुन्छ । तर पनि महिलाकै लागि आफूलाई काम गर्ने जिम्मेवारी केही छैन ।’

हालै सम्पन्न मंगलसेन नगरपालिकाको नगरसभामा राम्रो काम गरेको भन्दै पुरुष जनप्रतिनिधिलाई मात्रै सम्मान गरिएको मंगलसेन नगरपालिका–४ की सदस्य भावना केसी बताउँछिन् । ‘कोरोनाका बेला पुरुष जस्तै हामी पनि जोखिम मोलेर व्यवस्थापनमा लाग्यौं । जनताका सबै समस्यामा साथमा रह्यौं । तर सम्मान पाउने ठाउँमा जहिले पनि पुरुष मात्रै हुन्छन्,’ उनले भनिन्, ‘हामीले यस्तो किन गरेको भनेर आपत्ति पनि जनाएका थियौं । अहिले भूलचूक भयो, पछि सम्मान गर्छौं भनेर भुल्याउँछन् । अरू जिम्मेवारी केही छैन ।’

समुदायमा राम्रो काम गरे पुरुषले गरेको हुने, नराम्रो काम गरे महिलाले गरेको भन्दै भ्रम सिर्जना हुने गरेको उनको भनाइ छ । ‘अध्यक्ष नहुँदा महिलालाई कार्यवाहक दिन पनि अप्ठ्यारो मान्छन् । तर मैले बोलेरै कार्यवाहक पनि भएँ । वडामा काम अध्यक्ष र सचिवको मात्रै देखिन्छ,’ उनले भनिन्, ‘काम गर्न जिम्मेवारी नपाएको सबैको साझा गुनासो छ ।’ वडा सदस्य महिलाहरूमा आफ्नो जिम्मेवारी थाहा नपाएर कार्यकाल सक्काउन थालेका यहाँ उल्लेख गरिएका महिला वडा सदस्य त प्रतिनिधि पात्र मात्रै हुन् । स्थानीय तह सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वाचित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका हुन् ।

स्थानीय तह सञ्चालन ऐनमा वडा समितिले वडाभित्रको योजना तर्जुमा कार्यान्वयन, अनुगमन गर्ने, तथ्यांक अद्यावधिक र संरक्षण गर्ने, स्थानीय तहको विकास कार्यमा संलग्न हुने, वडाभित्रका विकास निर्माणको कामको र उपभोक्ता समितिको नियम गर्ने व्यवस्था गरिएको छ । ती कामका लागि वडा समितिले आवश्यकताअनुसार वडा सदस्यलाई जिम्मेवारी प्रदान गर्नुपर्छ । तर अधिकांश वडाध्यक्षले वडा सदस्यलाई जिम्मेवारी प्रदान नगर्दा स्थानीय तहका महिला वडा सदस्य भूमिकाविहीन बनेका हुन् ।

स्थानीय तहका वडा महिला सदस्य बजेट र कानुन पारित गर्ने बेलामा ताली बजाउँदै साक्षी मात्र हुने गरेका छन् । स्थानीय तहमा वडाध्यक्षसहित महिला सदस्य एक जना, दलित महिला एक, दुई जना खुला सदस्य गरी पाँच जनाको वडा समिति हुने कानुनी व्यवस्था छ । गाउँ र नगरसभामा भने सबै वडा सदस्य विधायिकाको भूमिका हुने कानुनी व्यवस्था छ । केही स्थानीय तहमा वडाध्यक्षको एकलौटी कार्यशैलीले पुरुष वडा सदस्यसमेत ओझेलमा परेका छन् । यद्यपि महिलाको तुलनामा पुरुष हुँदा अधिकांश स्थानीय तहमा भने पुरुष सदस्यले भूमिका पाएका छन् ।

मंगलसेन नगरपालिका–७ की महिला सदस्य साबी दमाइले महिला सदस्यहरूलाई नगरपालिकाको नगरसभामा बजेट पास गर्ने बेलामा ताली बजाउनका लागि मात्र बोलाउने गरिएको गुनासो गरिन् । ‘हामी गाउँपालिकाको बजेट पास गर्ने क्रममा साक्षी मात्र बस्ने गरेका छौं, वार्षिक योजनाका बारेमा सामान्य सेवाग्राहीले पहिला थाहा पाउँछन् अनि मात्र हामीले थाहा पाउने गरेका छौं । केही जिम्मेवारी त पाएका छौं तर जति हुनुपर्ने हो, त्यो जिम्मेवारी छैन,’ उनले भनिन्, ‘स्थानीय सरकार भएको महसुस जनताले मात्र नभई हामीले समेत गर्न पाएका छैनौं ।’

अधिकांश स्थानीय तहका वडा सदस्यलाई गाउँ र नगरसभामा कार्यपालिकाले पेस गरेको प्रस्तावमा के गर्ने भन्ने जानकारी हुँदैन । ‘वडा समितिले त जिम्मेवारी दिए पनि नगरपालिकाले भने हामीलाई कुनै वास्ता गरेको छैन’ उनले भनिन् । ‘स्थानीय तह सञ्चालन ऐन २०७४’ निर्वाचित महिला सदस्यको जिम्मेवारी स्पष्ट नपारेकाले अहिलेसम्म अन्योल सिर्जना भएको सीमान्तकृत महिलाहरूको आवाज र सहभागिता अभिवृद्धि परियोजना संयोजक लक्ष्मी सोपले बताइन् । ‘संख्यात्मक उपस्थिति उल्लेख्य मात्रामा भए पनि निर्णयकारी भूमिका निर्वाह गर्न सकिरहेका छैनन्’ उनले भनिन् ।

प्रकाशित : श्रावण ७, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

श्रीमान्‌बाटै लगातार हिंसा

‘सामान्य झैझगडा हुँदा प्रहरी चौकी जाने भए यसअघि पनि जान्थे नि तर प्रहरीले पनि सामान्य रूपमा लिएपछि न्याय खोज्न कहाँ जानु ?’
मेनुका ढुंगाना

अछाम — ढकारी गाउँपालिका–३ की ३४ वर्षीया सीता (नाम परिवर्तन) श्रीमान् भारतबाट फर्केयता शारीरिक तथा मानसिक याताना भोगिरहेकी छन् । भारतमा कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष उनका श्रीमान् घर फर्किए । घर आएको एक महिनासम्म दम्पतीबीच राम्रै मेलमिलाप थियो । तर, दोस्रो महिनादेखि श्रीमान्ले मदिरा सेवन गरी श्रीमती र छोराछोरीलाई कुटपिट गर्न थाले ।

दिनदिनै हुने गरेको कुटपिट सहन नसकेपछि सीताले छरछिमेकीलाई आफ्नो समस्या सुनाइन् । छरछिमेकीले उनलाई आपसमा मिलेरै बस्नुपर्नेमा जोड दिए । सल्लाह सुझाव दिने सबैले प्रहरीलाई खबर गर्नु हुँदैन, बदनाम हुन्छ भनेर सम्झाए । तर, सीता यातना सहेर लामो समय श्रीमान्सँगै बस्न सक्ने स्थितिमा थिइनन् । उनी पीडा खेप्ने नसक्ने भएपछि माइतीको सहारामा बसिरहेकी छन् । ‘गाउँका जनप्रतिनिधि पनि मिलेरै बस्नुपर्छ भन्छन् । साँझबिहान श्रीमान्बाट हुने कुटपिट सहेर बस्नै सक्ने अवस्था छैन । त्यसैले छोराछोरीसहित माइतीघरमा बसेकी छु,’ उनले भनिन्, ‘बिहानैबाट रक्सी खान सुरु गर्ने, गाउँबाट ऋण मागेर ल्याउ भनेर पिट्ने गरेका छन् ।’

मंगलसेनकी हिरा (नाम परिवर्तन) ले भारतबाट फर्किएका श्रीमान्ले मदिरा सेवन गरी चरम यातना र अनावश्यक शंका गर्न थालेपछि २ छोरीसहित प्रहरी चौकीमा उजुरी दिइन् । प्रहरीले सामान्य घरायसी झगडामा मेलमिलाप नै गर्नुपर्छ भनेपछि उनी सहमत भइन् । तर त्यो सहमति धेरै टिकेन । ‘प्रहरी चौकीमा जाँदा मेलमिलाप गराउँछन् । घर फर्किएपछि फेरि रक्सी खाएर कुटपिट गर्न र शंका गर्न सुरु हुन्छ,’ उनले भनिन्, ‘सामान्य झैझगडा हुँदा प्रहरी चौकी जाने भए यसअघि पनि जान्थे नि । अति भएपछि मात्रै प्रहरी चौकीसम्म जान बाध्य भएकी हुँ । प्रहरीले पनि सामान्य रूपमा लिएपछि न्याय खोज्न कहाँ जानु ?’

कोरोना कहरपछि भारतबाट गाउँ फर्किने पुरुषको संख्या बढेसँगै महिला हिंसा, घरेलु हिंसा, आत्महत्याजस्ता घटना बढेको ढकारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी साउदले बताइन् । ‘गाउँघरमा जताततै सस्तो मूल्यको मदिरा पाइन्छ । नियन्त्रण गर्न खोज्दाखोज्दै पनि सकिएको छैन । घरमा बेरोजगार भएर बसे पनि पुरुषले रक्सी खाने पैसा कहाँबाट ल्याउँछन् । अचम्म लागेको छ,’ उनले भनिन्, ‘महिला हिंसा नगर्न भनेर प्रत्येक टोलटोलमा पुगेर निगरानी गरिरहेका छौं । तर हिंसा कम भएको छैन ।’

२०७६ साल चैतयता हत्या, हिंसा, आत्महत्यालगायत घटना बढेको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख तुल्सीराम अर्यालले बताए । ‘मदिरा सेवन गरेर श्रीमती कुट्ने, परिवारलाई यातना दिनेजस्ता घटनामा पीडितका उजुरीहरू आइरहन्छन्,’ उनले भने, ‘कुनै मुद्दा अदालतसम्म पुग्ने खालका हुन्छन् । कतिपयमा उजुरीकर्ताहरूले नै मुद्दा नलडेर मिलापत्र गरेर बस्ने भनेर फर्किन्छन् ।’

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जनक बोहराका अनुसार २०७६ चैत २५ गतेदेखि हालसम्म आत्महत्याका ४८, विष सेवनका ३, पानीमा हाम फालेर मृत्यु १, आत्महत्या दुरुत्साहनका १२ र घरेलु हिंसासम्बन्धी ८६ वटा निवेदन परेका छन् । घरायसी विवादका ३९ वटा उजुरी प्रहरी कहाँ आएको उनले बताए । ‘यी सबै घटनामा भारतबाट फर्केका श्रीमान् बढी संलग्न देखिन्छन् । श्रीमान्विरुद्ध श्रीमतीले उजुरी दिएका घटना धेरै आएका छन् । अधिकांश घटनामा मदिरा सेवन नै मुख्य कारण देखिन्छ,’ उनले भने, ‘सानातिना कुरामा विवाद हुने र त्यसले पछि ठूलो रूप लिने गरेको देखियो ।’

६ महिनाकै अवधिमा ४ वटा हत्याको आशंकामा किटानी जाहेरी भएको र २२ वटा आत्महत्याका घटना भएको उनले बताए । ‘गत वर्षभरि भएका घटनाहरू यो पटक ६ महिनामै भइसके । यसले अझै ठूलो रूप लिन सक्ने देखिन्छ ।’

प्रकाशित : श्रावण ५, २०७८ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×