कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यातना पाएकी महिलालाई ५५ हजार रुपैयाँ सहयोग

वसन्तप्रताप सिंह

बझाङ — श्रीमान्ले निर्घात कुटपिटपछि कान काटिदिएको जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीलाई सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले र काठमाडौंको धुम्बाराही निवासी महेश पाण्डेले आर्थिक सहयोग गरेका छन् ।

यातना पाएकी महिलालाई ५५ हजार रुपैयाँ सहयोग

पूर्वन्यायाधीश केसीले ३० हजार र पाण्डेले २५ हजार गरी नगद ५५ हजार रकम जानकीलाई सहयोग गरेका हुन् । आइतबार कान्तिपुर दैनिकमा ‘श्रीमतीलाई निर्घात कुट्दै कान काटे’ शीर्षकमा प्रकाशित समाचार पढेपछि पीडितलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले नगद सहयोग गरेको सहयोगीहरूले बताएका छन् ।

केसीले हिंसारहित समाज बनाउन यस्ता प्रवृत्तिविरुद्ध समाजमा शून्य सहनशीलता अपनाउनुपर्ने र घटनामा परेकाको जीवन सहज बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । पाण्डेले पीडित महिलाको पुनःस्थापना र जीवन निर्वाहका लागि सहयोग होस् भनेर आफूले अरू सहयोगीको पनि खोजी गरिरहेको बताए । ‘दुःखमा परेको मान्छेलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । उहाँलाई थप सहयोगका लागि साथीहरूसँग पनि पहल गरिरहेको छु,’ पाण्डेले भने ।

सहयोगीहरूले दिएको नगद रकम इन्सेकका प्रतिनिधि रमेश केसी, पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष जगदीश रोकायाको रोहबरमा अल्पकालीन महिला सुरक्षा आवास गृहकी इन्चार्ज गीता शाहीले पीडित नेपालीलाई सोमबार हस्तान्तरण गरेकी छन् । विवाह भएको केही दिनबाट लगातार हिंसा खेपिरहेकी नेपालीले केसीलाई फोन गरेर धन्यवाद दिँदै कानुनी उपचार र पुनःस्थापनामा सहयोग गर्न अनुरोध गरेकी थिइन् । आफू पतिको घरमा बस्न नसक्ने अवस्था भएको बताउँदै उनले आफ्नो जीवन रक्षा र तीन छोराछोरीको शिक्षादीक्षाका लागि प्रबन्ध मिलाउनका लागि पहल गरिदिन पत्रकार र मानवअधिकारकर्मीसँग अनुरोध समेत गरेकी छन् । ‘अब म त्यसको घरमा गएर बस्न सक्ने अवस्था छैन । छोराछोरीको र मेरो जीवन धान्ने व्यवस्था गरिदिनुपर्‍यो । उसलाई कडाभन्दा कडा सजाय हुनुपर्‍यो,’ उनले भनिन् ।

निर्घात कुटपिटपछि कान काटेर फरार रहेका जानकीका पति मनोज नेपालीलाई प्रहरीले आइतबार नै पक्राउ गरेर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेर घटनाको थप अनुसन्धान भइरहेको छ । फरार रहेका मनोजलाई बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित एक आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रूपक खड्काले बताए ।

कान्तिपुरमा घटनाका बारेमा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले पनि यो विषयमा चासो व्यक्त गर्दै पीडितलाई छिटो कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको डीएसपी खड्काले बताए । मनोजले गत बुधबार दिउँसो एक जना आफन्तसँग किन हाँसेको भन्दै साँझ जानकीलाई निर्घात कुटपिट गरेका थिए । मदिराको मातले लट्ठिएका उनले कुटपिटका क्रममा जानकीको बायाँ कान काटिदिएका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी जानकी अल्पकालीन महिला सुरक्षा गृहको संरक्षणमा उपचार गराइरहेकी छन् । लगातारको हिंसाका कारण मानसिक समस्यामा रहेकी उनलाई परामर्श दिने काम भइरहेको र पूर्ण रूपमा स्वस्थ भएपछि पुनःस्थापनाका लागि पहल गरिने अल्पकालीन महिला सुरक्षा गृहकी इन्चार्ज गीता शाहीले बताइन् ।

प्रकाशित : श्रावण ६, २०७८ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?