कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुडेगाउँमा आँप प्रदर्शनी

मोहन शाही

डोटी — १० वर्षअघि व्यावसायिक आँप खेती सुरु गरेका स्थानीय किसान यतिबेला कृषि पर्यटन प्रवर्द्धनमा जुटेका छन् । किसानहरूले जिल्लाका विभिन्न क्षेत्रका अगुवालाई शुक्रबार गाउँ बोलाएर आँप प्रदर्शन गरेका हुन् ।

मुडेगाउँमा आँप प्रदर्शनी

शिखर नगरपालिका–२ मुडेगाँउका किसानले फलाएका करिब २२ प्रजातिका आँप प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीमा करिव पाँच सय आगन्तुले प्रदर्शनस्थल र आँप बगैंचा अवलोकन गरे । पर्यटन व्यवसायी तथा मुडेगाउँ म्यान्गो अभियानका अभियन्ता अमरबहादुर शाहीले मुडेगाँउका आँपलाई ब्रान्डिङ गरेर बाहिरी जिल्लामा बिक्रीका लागि पठाइरहेको बताए । मुडेगाँउका आँप काठमाडौंसम्म पुर्‍याइने गरेको छ । अर्गानिक आँप भएकाले नेपालको सबैभन्दा महँगो मूल्यमा समेत बिक्री गर्दै आएको शाहीले दाबी गरे । शाहीले पर्यटक लक्षित गरी म्यान्गो रिसोर्ट सञ्चालन गर्ने योजनासमेत अघि बढाइरहेका छन् ।

आँपको प्रजातिअनुसार प्रतिकेजी ५० रुपैयाँदेखि ५ सय रुपैयाँमा किसानले बारीबाटै बिक्री गर्दै आएका छन् । काठमाडौंमा प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गरिरहेको किसान दीर्घवीर शाहीले बताए । मुडेगाँउका २२ जना किसानहरूले करिब १ हजार ५ सय बोट लगाएका छन् । मुडेगाउँमा मात्रै वार्षिक २० हजार किलो आँप उत्पादन हुने गरेको किसानले बताए । उनीहरूका अनुसार यो वर्ष मात्रै काठमाडौंमा ३ हजार किलो आँप पठाइएको छ । पर्यटन व्यवसायी अमर शाहीले आफ्नै टुर्स एन्ड ट्राभल्समार्फत सन् २०१० मा १ लाख फलफूलका बिरुवा सुदूरपश्चिमका किसानलाई वितरण गर्ने अभियान सञ्चालन गरेका थिए । सोही अभियानअन्तर्गत उनले मुडेगाउँका किसानलाई आँपका बिरुवा हस्तान्तरण गरेका थिए । अहिले तिनै किसान व्यावसायिक रूपमा आँप खेती गरेर कृषि पर्यटनमा केन्द्रित भएका छन् ।

‘पछिल्लो समय मुडेगाउँमा जिल्लाका विभिन्न ठाउँबाट विभिन्न ओहोदाका व्यक्तिहरू फुर्सदका बेला रमाउन आउने गर्छन्,’ कृषक डिलबहादुर बोगटीले भने, ‘त्यहाँको आँप खेतीबाट आकर्षित नहुने कोही छैन ।’ पछिल्लो समय आँपकै कारण गाउँमा चहलपहलसमेत बढेको छ ।

सरकारी तथा गैरसरकारी संघसंस्थाको अनुदान र सहयोगबिना मुडेगाउँका किसानहरू स्वतःस्फूर्तरूपमा आँप खेतीको प्रवर्द्धनमा लागेको जानकारी गराउँदै शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशीले खुसी व्यक्त गरे । उनले मुडेगाउँको आँपलाई नगरपालिकाले ब्रान्डिङ गरेर बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले मुडेगाउँका किसानले कृषिलाई पर्यटनसँग जोडेर अघि बढाइरहेको योजनाले जिल्लाकै आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । उनले सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले गर्न नसकेको उपलब्धि किसानहरू आफैंले गरेर देखाएको भन्दै खुसी व्यक्त गरे ।

प्रकाशित : श्रावण २, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?