कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी सुस्त

‘अबका दिनमा भारतबाट आउने सबैको एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिने व्यवस्था गर्छौं’
अर्जुन शाह

धनगढी — नेपालमा कोरोना संक्रमणको सुरुवाती चरणमै प्रभावित भएको सुदूरपश्चिम दोस्रो चरणमा पनि उत्तिकै प्रभावित रह्यो । कैलाली र कञ्चनपुर हटस्पट नै बने । शनिबारसम्म मृत्यु हुनेको संख्या ५ सय ७४ पुगेको सुदूरपश्चिममा तेस्रो चरणको चिन्ता बढेसँगै तयारी सुरु गरिए पनि सुस्त छ ।

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी सुस्त

स्वास्थ्यकर्मीहरूका अनुसार सुदूरपश्चिममा बढी जोखिम हुनुको मुख्य कारण यहाँका बासिन्दाहरूको भारतमा आवतजावत हुनु हो । यस प्रदेशका ९ वटै जिल्लाबाट भारतमा रोजगारीका लागि जाने र फर्किनेको संख्या बाक्लो छ । त्यसैले भारतमा कोरोना प्रभाव देखिनेबित्तिकै यो प्रदेशमा पनि संक्रमण वृद्धि हुने गरेको छ ।

एक महिनायता संक्रमण दर घटेको सुदूरपश्चिममा हाल दैनिक ५० जनाभन्दा बढेको छैन । तर स्वास्थ्यकर्मीहरू भने निषेधाज्ञा खुकुलो भएको र लापरबाही बढेसंँगै संक्रमण दर बढ्न सक्ने चिन्तामा छन् । ‘लापरबाही र निषेधाज्ञाको खुकुलोपनका कारण संक्रमण बढ्न सक्छ,’ सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘त्यसका लागि हामीले तयारी अवस्थामा बस्नुपर्ने देखिन्छ ।’

तेस्रो चरणमा बालबालिकाहरू प्रभावित हुन सक्ने अनुमान छ । त्यसको मुख्य कारण अन्य उमेर समूह माथिकाले खोप पाउने सम्भावना भए पनि बालबालिकाले खोप पाउन सक्ने सम्भावना न्यून छ । ‘त्यसैले बालबालिकालाई लक्षित गरी तयारी गर्नुपर्ने अवस्था छ,’ डा. अवस्थीले भने, ‘पूर्वतयारी गर्न सकिएन भने बढ्तै पीडा हुन सक्छ ।’

पूर्वतयारीका क्रममा सबैभन्दा बढी सीमामा ध्यान दिने तयारी गरेको निर्देशक डा. अवस्थीको भनाइ छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सुदूरपश्चिममा सबैभन्दा बढी संख्यामा आवतजावत हुने सीमा नाका हुन् । दुई दुवै नाकामा एकएक हजारको अटाउन सक्ने होल्डिङ सेन्टर निर्माणको तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । धनगढी र महेन्द्रनगरमा सामाजिक विकास मन्त्रालयले थप ५० शय्याको कोभिड अस्पताल पनि निर्माण गरिरहेको छ ।

‘दुईवटै सीमा नाकामा होल्डिङ सेन्टर बनाउन सुरु गरिसकेका छौं,’ सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने, ‘अबका दिनमा भारतबाट आउने सबैको एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिने व्यवस्था गछौं ।’ सुदूरपश्चिमबाट भारत आवतजावत गर्ने कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला मुख्य सीमा नाका हुन् ।

बलबालिका प्रभावित हुन सक्ने अनुमानमा हरेक जिल्ला अस्पतालमा बालबालिकाका लागि १० वटा विशेष शय्या निर्माण कार्य भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ठूला अस्पतालमा कुल शय्या संख्याको २० प्रतिशत बालबालिका लक्षित गरी तयारी राख्न निर्देशन गरिएको छ । ‘बालबालिकालाई लक्षित गरी अलग्गै भवनमा १० शय्या तयारी लगभग पूरा गरिसक्यौं,’ जिल्ला अस्पताल बाजुरका प्रमुख डा. प्रकाशराज जोशीले भने, ‘संक्रमित बालबालिकाको उपचार गर्न आवश्यक पर्ने आधारभूत उपकरण र उपचार सामग्री लगभग सबै तयारी हुँदै छ ।’

निर्देशनालयको तथ्यांकअनुसार पहिलो र दोस्रो चरणमा गरी यस प्रदेशमा ९ वर्षमुनिका १ हजार २ सय ४८ जना संक्रमित भएका छन् । यस्तै २० वर्षमुनि उमेरका संक्रमित हुनेका संख्या ४ हजार ३ सय २२ रहेको छ ।

पहिलो चरणमा पीसीआर मेसिनको अभाव झेलेको सुदूरपश्चिमले दोस्रो चरणमा अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनुपर्ने अवस्था खेप्नुपर्‍यो । हाल ९ वटै जिल्लामा गरी १ सय ३६ स्थानमा आइसोलेसन कक्ष छन् । निर्देशनालयका अनुसार ती आइसोलेसनमा रहेको शय्या संख्या २ हजार ६ सय ३ छ । शुक्रबारसम्म पनि ५९ जना आइसोलेसनमै छन् । सुदूरपश्चिमका १२ वटा सरकारी अस्पतालमा गरी ९ सय ७७ शय्या संख्या छ । एचडीयू बेड संख्या १ सय ४३ छ । आईसीयू ६९ छन् । भने भेन्टिलेटरको संख्या ३५ छ । यीमध्ये कोरोना संक्रमित बिरामी राख्नकै लागि व्यवस्थापन गरिएका एचडीयू बेड संख्या १ सय ३०, आईसीयू ५४ र भेन्टिलेटर संख्या २१ रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिममा हालसम्म संक्रमित हुनेको संख्या ४४ हजार १ सय ३४ जना पुगेका छ । कुल मृत्यु हुनेको संख्या ५ सय ७४ रहेकोमा सबैभन्दा बढी कैलालीमा २ सय ४५ जना र त्यसपछि कञ्चनपुरमा १ सय ८६ जना छन् । संक्रमण दर केही ओरालो लागेको भए पनि अहिले २ सय ८१ जना सक्रिय संक्रमित छन् । ‘अहिलेको कोभिडमा पहिलो र दोस्रो चरणबाट केही सिकाइका आधारमा तयारीहरू भइरहेका भए पनि स्वास्थ्य क्षेत्रमा जस्तो आइलाग्यो त्यसैको व्यवस्थापनका लागि तयारी गर्नुपर्ने हुन्छ,’ स्वास्थ्य निर्देशक अवस्थीले भने ।

प्रकाशित : असार २७, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?