१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

वडा विभाजन विवादले नगरसभा प्रभावित

गणेश चौधरी

टीकापुर — वडा विभाजन विवादले टीकापुर नगरपालिकाको नगरसभा प्रभावित भएको छ । टीकापुर नगरपालिका १ र २ को जनसंख्या र भूगोल बढी भएको भन्दै वडा विभाजन गर्न खोजिएको हो ।

वडा विभाजन विवादले नगरसभा प्रभावित

वडा विभाजन विवादले असार ६ गते सुरु भएको नगरसभा अझै सम्पन्न हुन सकेको छैन । नगरसभा पटकपटक स्थगित भई असार २५ गतेसम्म सारिएको छ ।

यसअघिको नगरसभामा पनि वडा विभाजनको विषयमा विवाद भएको थियो । टीकापुर नगरपालिकाको आठौं नगरसभा वडा विभाजनको विषयलाई लिएर नगरसभा सदस्यहरूबीच सहमति जुट्न नसकेपछि उक्त प्रस्तावमा कुनै निर्णय नै नगरी नगरसभा समापन गरिएको थियो । वडा १ का अध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा गठित वडा विभाजन कार्य दलले वडा १ लाई ४ वडा बनाउने सिफारिस गरेको थियो । तर नगरसभा सदस्यले कम्तीमा ६ बनाउनुपर्ने भनेपछि विवाद सुरु भई विभाजनको काम हुन सकेन । अहिलेको नगरसभामा पनि पुनः उही कुरा दोहोरिएको छ ।

वडा विभाजनका लागि राजनीतिक दलले वडा १ लाई ६ वटा वडामा २ नम्बर वडालाई दुइटा वडामा विभाजन गर्नुपर्ने सुझाएका छन् । टीकापुरको पुरानो बस्ती वनगाउँवासीले पनि टीकापुरको १ नम्बर वडालाई कम्तीमा ६ वडामा विभाजन गर्नुपर्ने माग राखेका छन् । ६ वडा बनाउनुपर्ने भन्दै उनीहरूले नगरपालिकामा केही दिनअघि तालाबन्दी पनि गरेका थिए । स्थानीय तहको निर्वाचन हुने वर्षको एक वर्ष अगाडि नै वडा विभाजनका लागि निर्णय गरी पठाउनुपर्ने कानुनी प्रावधान छ ।

हाल नगरपालिकामा ९ वटा वडा छन् । वडा नम्बर १ जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा मानिन्छ । यहाँको जनसंख्या ४८ हजार ७ सय २८ रहेको छ । तराईका हकमा नगरपालिकाको एक वडा हुन कम्तीमा ६ हजार ४ सय जनसंख्या हुनुपर्ने प्रावधान छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा विभाजनको प्रस्ताव नगरसभाबाट दुई तिहाइले पारित गर्नुपर्ने उल्लेख छ । नगरसभा सदस्यहरू वडा विभाजनको प्रस्तावको विपक्षमा उभिएपछि वडा विभाजनको प्रस्तावले सामान्य बहुमतसमेत पाउन नसकेको वडाध्यक्ष रामलाल डर्गौरा थारूले बताए ।

उनले भने, हामी बहुसंख्यक नगरसभा सदस्य ६ वटा वडा बनाउनुपर्ने पक्षमा छौं । राजनीतिक दलले पनि ६ वडा बनाउन सुझाएका छन् । तर केही शासकहरूले उत्पीडित जाति समुदायलाई अधिकार दिन नखोज्दा विवाद भइरहेको हो ।’ भविष्यमा जनसंख्याको झन् चाप बढने भएकाले वडा विभाजनको काम पटक–पटक गर्न नहुने हुनाले कम्तीमा ६ वटा वडा बनाइनुपर्ने आफूहरूको भनाइ रहेको वडाध्यक्ष रामलाल डगौरा थारूले बताए ।

नगरसभाको दुई तिहाइले पारित गरेपछि सो प्रस्ताव प्रदेशसभामा पेस गर्नुपर्ने हुन्छ । प्रदेशसभाले समेत पास गरेपछि कार्यान्वयनका लागि संघमा पठाउने प्रावधान छ । टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्र रहेको वडा नम्बर १ जनसंख्या र भूगोलका हिसाबले ठूलो छ ।

यो वडामा दैनिक करिब ५ सय सेवाग्राही सेवाका लागि आउने गरेका वडाध्यक्ष गंगाराम आचार्यले बताए । सेवाग्राहीको चाप र कर्मचारीको न्यून संख्याले सेवा प्रदान गर्न गाह्रो रहेको वडाध्यक्ष आचार्यले बताए । उनले भने, सेवाग्राहीलाई वडा कार्यालयसम्म आउन पनि टाढा पर्ने र चापका कारण सेवा पाउन धौ रहेकोले वडा विभाजन आवश्यक छ ।’

प्रकाशित : असार २२, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?