पर्यटन विकास ओझेलमा, मठमन्दिरमा करोडौं- सुदूरपश्चिम - कान्तिपुर समाचार

पर्यटन विकास ओझेलमा, मठमन्दिरमा करोडौं

अर्जुन शाह

धनगढी — खप्तड क्षेत्रको पर्यटन विकासका लागि एक करोड पनि विनियोजन नगरेको सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा स्थानीय मठमन्दिर निर्माणका लागि भने झन्डै १७ करोड विनियोजन गरेको पाइएको छ ।

खप्तडको मध्यभागमा अवस्थित त्रिवेणीधाममा निर्मित संरचना । तस्बिर : कान्तिपुर

चालु आर्थिक वर्षमा मठमन्दिर निर्माणमा २५ करोडभन्दा बढी रकम खर्चेपछि सरकारको चर्को आलोचना भएको थियो । त्यही कारण आगामी वर्षको बजेट निर्माण गर्ने बेला पर्यटन मन्त्रालयले विगतजस्तो स–साना मन्दिर निर्माणका योजना नराख्ने बताएको थियो । तर ०७८/७९ को वार्षिक कार्यक्रम पुस्तिकामा भने ९ वटै जिल्लाका विभिन्न स्थानमा १ सय ७० बढी मठमन्दिर निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन गरेको देखिएपछि कतिपय प्रदेश सांसदसमेत अलमलमा परेर आलोचनामा उत्रेका थिए ।

वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख भएअनुसार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मन्दिरका योजनामा दुई लाखदेखि एक करोड रुपैयाँसम्म बजेट छुट्याइएको छ । ६० वटा योजनाहरूमा १० लाखका दरले रकम विनियोजन गरिएको पाइएको छ । ४५ बढी मठमन्दिरका योजनामा ५ लाखका दरले रकम छुट्याइएको छ । स्थानीय बासिन्दाहरूका अनुसार मन्दिरका अधिकांश योजना नेताहरूले कार्यकर्ता पोस्ने उद्देश्यले दिएका छन् । ६, ७, १५ लाख विनियोजित पनि थुप्रै योजना छन् ।

चालु आर्थिक वर्ष ०७७/७८ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालले प्रदेशका ९ वटै जिल्लामा २ सय ८२ वटा मठमन्दिर निर्माण गर्न २५ करोड ६६ लाख रकम विनियोजन गरेको थियो । एमालेबाट निर्वाचित माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेको कार्यकालमा मन्दिर निर्माणका योजनामा ठूलो बजेट खर्च गरेको भन्दै उनको आलोचना भएको थियो । हाल माओवादी केन्द्रका मानबहादुर धामी उक्त मन्त्रालयमा मन्त्री छन् । माओवादी पृष्ठमूमिबाट आएका मन्त्री धामीले बजेट आउनुअघि विगतजस्तो मठमन्दिर निर्माणमा रकम खर्च नगर्ने बताए पनि रातो किताबमा विगतकै सिलसिलालाई निरन्तरता दिएर करोडौं रकम विनियोजन गरेकोपछि उनको पनि आलोचना भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले मठमन्दिर निर्माणमा अन्धाधुन्ध रकम खर्चिरहेको धेरैलाई मन परेको छैन । ‘कार्यकर्तालाई पोस्न मन्दिरका योजनालाई प्राथमिकता दिइएको प्रस्टै छ,’ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहले भने, ‘कम्युनिस्ट सरकारले गाउँगाउँमा मठमन्दिर निर्माण गरेर अनुत्पादक खर्च गरिरहेको छ ।’

मन्त्रीकै कुल देउतालाई १ करोड

आगामी बजेटमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको गृहजिल्ला बाजुरामा एउटै मन्दिरमा एक करोड विनियोजन भएपछि आलोचना बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतकै बजेटबाट खप्तड छेडेदह गाउँपालिकामा रहेको ज्युलेखमष्टा देउताको मन्दिर निर्माणका लागि एक करोड विनियोजन गरिएको छ । उक्त मन्दिर मन्त्री शाहको कुल देउताको मन्दिर हो ।

मठमन्दिर निर्माणमा बर्सेनि करोडौं रकम विनियोजन गरिरहेको प्रदेश सरकारले सुदूरपश्चिमका प्रमुख पर्यटन स्थलहरूलाई भने प्राथमिकता दिएको छैन । खप्तड, रामारोशन, बडिमालिका, वैद्यनाथ, बडिकेदारलगायतका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूको विकासका लागि भने सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको पाइएको छ ।

प्रदेश सरकारले यस क्षेत्रका चारवटा प्रमुख पर्यटन गन्तब्यहरू खप्तड, अछामको रामारोशन, डोटीको बडिकेदार र अछामकै वैद्यनाथ धामको प्रवर्द्धन र विकासका लागि यसअघि नै गठन आदेशद्वारा विकास तथा व्यवस्थापन समिति गठन गरिसकेको छ । तर ती क्षेत्रको विकासका लागि संरचनासमेत खडा गरेर कार्यसञ्चालन सुरु गरेको सरकारले बजेट भने नगण्य बजेट विनियोजन गरेको छ । ती चारवटा क्षेत्रको विकासका लागि सरकारले आगामी वर्षको बजेटमा २ करोड ५० लाख मात्रै विनियोजन गरेको छ । ‘सरकारको सोचाइ तथा दृष्टिकोणबारे केही बुझ्नै सकिएन,’ खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंह भन्छन्, ‘चारवटा क्षेत्रको विकासका लागि जम्मा अढाइ करोड छुट्याएको छ । खप्तडको भागमा त्यै ५०/६० लाख पर्ने होला ।’

त्यो रकमले खप्तडको के विकास होला भन्ने उनले प्रश्न गरे । ‘समितिका कर्मचारीहरूको तलबभत्ता नै नपुग्लाजस्तो देखिएको छ,’ उनले भने, ‘गफमा मात्रै खप्तड–खप्तड भन्ने भए सरकारमा बस्नेहरू । उनीहरूसँग कुनै भिजन र इच्छाशक्ति नै देखिएन ।’

यस्तै, रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर रावलले सरकारले प्रदेशका मुख्य गन्तव्यहरूलाई प्राथमिकता नदिएकोमा गुनासो रहेको बताए । ‘मुख्य गन्तव्यहरूको विकासका लागि त सरकारले उच्च प्राथमिकताका साथ कार्यक्रम र बजेट विनियोजन गर्नुपर्ने होइन र,’ उनले भने, ‘यही तालले भने केही हुनेवाला छैन ।’

भू–स्वर्गको उपमा दिइने गरेको खप्तड क्षेत्रको पर्यटन पूर्वाधार विकास गर्नसके सुदूरपश्चिमकै आर्थिक विकामा कोसेढुंगा हुने व्यवसायीहरूले औंल्याउँदै आएका छन् । खप्तड क्षेत्रको विकासका लागि सरकारले ठोस योजना ल्याउन कहिल्यै ध्यान नदिएकोमा यहाँका पर्यटन व्यवसायी एवं उद्यमीहरू असन्तुष्ट छन् ।

उनीहरू प्रदेशको विकासकै मेरुदण्डका रूपमा विकास गर्न सकिने खप्तड, रामारोशन, बडिमालिका क्षेत्रलाई ओझेल पारिएकोमा आक्रोशित छन् । ‘हामीले कराउन थालेको वर्षौं भइसक्यो,’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर भन्छन्, ‘सरकार चलाउनेहरू कुरा मीठा गर्छन्, काम फिटिक्कै गर्दैनन् । लगानीको वातावरण तयार गर्दिने हो भने खप्तडको पर्यटन विकासका लागि निजी क्षेत्र जत्ति पनि लगानी गर्न तयार छ ।’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी समुदायबाट मठमन्दिर निर्माणका योजनाको माग अत्यधिक आउने भएकाले घटाउँदा पनि टार्न नसकिएको बताउँछन् । ‘सुदूरपश्चिम आफैंमा देवभूमि भएकाले सांस्कृतिक पर्यटनका लािग मठमन्दिर बनाउनै हुन्न भन्ने हैन,’ मन्त्री धामीले भने, ‘यसको अर्थ खप्तडलगायत प्रमुख पर्यटन स्थलहरूलाई प्राथमिकता नदिने भन्ने हुन्न । सरकार यसमा स्पष्ट छ ।’

प्रकाशित : असार २२, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

एउटै गाईबाट २८ लाख आम्दानी !

विप्लव भट्टराई

इलाम — एउटै गाईबाट २८ लाखभन्दा धेरै आम्दानी भएको सुन्दा अपत्यारिलो लाग्ला । तर इलामको सूर्योदय नगरपालिकास्थित आठघरेका पुष्प अधिकारीले २४ वर्षदेखि एउटा गाई निरन्तर पालेका छन् । त्यो गाईबाट उनले दूध मात्र २२ लाख रुपैयाँको बिक्री गरेका छन् । अनि बाच्छाबाच्छीबाट ६ लाख रुपैयाँ जति हात परेको उनले जानकारी दिए ।

इलामको सूर्योदयस्थित आठघरेमा पुष्प अधिकारीले २४ वर्षदेखि पालेको गाई । तस्बिर : विप्लव/कान्तिपुर

सुरुदेखि दूध बिक्री गरेको हिसाब देखाउँदै उनले घरमा प्रयोग गरेको दूधलाई भने मूल्यमा रुपान्तरण नगरेको प्रतिक्रिया दिए । पूर्वी फिक्कलबाट ३ किलोमिटर कच्ची सडक हिँडेपछि पुगिने आठघरे क्षेत्र उन्नत गाईपालनका लागि कहलिएको छ । २०५४ सालमा नजिकैको माघेगाउँबाट ल्याएको यो गाई ११ बेत ब्याइसकेको छ । उनले अढाई वर्षको कोरली गाई २२ हजारमा खरिद गरेका थिए । यो मूल्य त्यतिबेलाको अति धेरै हो ।

‘वर्षौंसम्म यो गाईले दैनिक २९ लिटर दूध दियो,’ उनले भने, ‘अहिले निकै पाको भएको छ । तर पनि दैनिक ११ लिटर दूध दिन्छ ।’ २ लाख रुपैयाँ मूल्यमा खरिद गर्ने आए पनि बिक्री नगरेको उनको भनाइ छ । ‘यो गाई घरको सदस्यजस्तै हो,’ उनले थपे, ‘यसलाई बाँचुन्जेल पाल्ने योजनामा छौं ।’ सामान्यतः २/३ बेत ब्याएपछि गाई बिक्री गर्ने चलन छ । तर सुरुदेखि नै गाईको गुनिलो स्वभाव, दूध र बाच्छाबाच्छी उत्पादनका लागि अब्बल भएपछि बिक्री नगरेको उनी बताउँछन् । अहिले यो गाईको उमेर २५ वर्ष नाघेको छ । ७ वटा बाच्छी र ११ वटा बाच्छा पाएको गाईलाई एआई प्रविधिमार्फत गर्भधारण गराउने गरिएको छ । अझै पनि केही बेत ब्याउन सक्ने अधिकारीको दाबी छ ।

आठघरेसहित जिल्लाको माघे, सुन्तले, बागबिरेलगायतका ठाउँ उन्नत जातका गाईपालनका लागि अग्रणी छन् । यस क्षेत्रबाट २ लाख रुपैयाँसम्ममा गाई बिक्री हुने गरेका छन् । यहाँबाट धनकुटा, पाँचथर, तेह्रथुमलगायत जिल्लामा गाई खरिद गरेर लगिने गरेको छ ।

प्रकाशित : असार २२, २०७८ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×