कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी भर्ना न्यून

कोरोनाको कारण शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई डर छ’
मेनुका ढुंगाना

अछाम — कोरोनाका कारण दुई महिना ढिलो गरी असार १ बाट सुरु भएको विद्यार्थी भर्ना अभियान उत्साहप्रद हुन सकेको छैन । सरकारले असार १५ सम्म भर्ना गराउन निर्देशन दिए पनि तोकिएको अवधिमा थोरैमात्र विद्यार्थी भर्ना भएका छन् ।

विद्यार्थी भर्ना न्यून

खेतीपातीको सिजन र कोरोना संक्रमणको डरले विद्यार्थी भर्नाका लागि आउन सकेका छैनन् । अभिभावकले पनि बालबालिकालाई विद्यालय भर्ना गर्न पठाउन डराइरहेका छन् । कोभिड–१९ संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन सकेको छैन । वैकल्पिक विधिबाट पठनपाठन निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरे पनि अछाममा अहिलेसम्म वैकल्पिक विधिबाट पढाइ भएको छैन ।

अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभई अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट असार १ देखि विद्यार्थी अभिलेखीकरण सुरु गरी असार १५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिइएको थियो । सरकारले दिएको निर्देशनको मिति सकिए पनि विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी नआएको प्रगतिशिल आधारभूत विद्यालय कुन्ति बन्डालीकी प्रधानाध्यापक चन्द्रकला थापाले बताइन् ।

‘भर्ना हुनका लागि विद्यार्थी खासै आएका छैनन् । हामी शिक्षकहरू नै निरन्तर विद्यालय जान नसकेको अवस्थामा विद्यार्थी सहजै आउने कुरा भएन । गाउँमा कामको चाप हुने मौसम भएकाले पनि अभिभावकले चासो दिन सकेका छैनन्,’ उनले भनिन्, ‘कोरोनाका कारण शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई डर छ । सरकारले भनेजस्तो वैकल्पिक विधिबाट पठनपाठन गराउन पनि गाह्रो छ । भौगोलिक विकटता पनि उस्तै छ ।’ पठनपाठन नगरी विद्यार्थीलाई माथिल्लो कक्षामा भर्ना गर्दा आफैं सन्तुष्ट हुन नसकेको प्रधानाध्यापक थापा बताउँछिन् । ‘नगरपालिकाले दिएको गाइडलाइन्स अनुसार विद्यार्थीको अन्तिम नतिजा निकाल्यौं । तर मलाई आत्मसन्तुष्टि कत्ति पनि छैन,’ उनले भनिन्, ‘आफूले पढाएर, विद्यार्थीले सिकेर उपलब्धि देखिएको भए पो सन्तुष्ट हुन्थ्यौं । अहिले त जेनतेन काम चलाइरहेका छौं ।’

मन्त्रालयको निर्देशनअनुसार नगरभित्रका सबै विद्यालयमा विद्यार्थी भर्ना गर्न पत्र पठाइसकेको मंगलसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र विष्टले बताए । ‘सबै विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गरेर विद्यार्थीलाई भर्ना गराउन भनेका छौं । सबैलाई कोरोनाको डर छ,’ उनले भने, ‘पहिलेजस्तो विद्यार्थी भर्ना अभियानका बेला विद्यालयमा हुने उत्साह छैन । धेरैलाई कोरोनाको डर नै मानसिक डर बनेको जस्तो लाग्छ ।’



प्रकाशित : असार २०, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?